सातौं बेलबारी गोल्डकपको तयारी
विराटनगर । मोफसलको फुटबलमा ‘ब्राण्ड’ बनाइसकेको मोरङको बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्कडपको तयारी पूरा भएको छ । प्रतियोगिताको तयारीबारे जानकारी दिन आइतबार बेलबारी नगरपालिकाको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा सातौं गोल्डकपका लागि दुई तोला सुन र साढे दुई किलो चाँदीले बनेको नयाँ ट्रफी समेत सार्वजनिक गरिएको छ ।
उक्त ट्रफी लक्ष्मीमार्ग निवासी पोपिराज राई र ज्योतीराज राईले आफ्ना स्वर्गीय बुवा मज एनबी रुङ्माहाङको स्मृतिमा गोल्डकपलाई सौजन्य गरेको घोषणा गरे ।
ट्रफीलाई बेलबारी नगरपालिकाका मेयर डिपी राईको उपस्थितिमा गोल्डकप आयोजक एलएक्स सीटी फुटबल क्लव लक्ष्मीमार्गलाई हस्तान्तरण गरिएको छ ।
बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गस्थित प्रस्तावित रंगशाला लक्ष्मी खेल मैदानमा असोज ११ शुक्रबारदेखि असोज १९ सम्म आयोजना हुने प्रतियोगितालाई बुद्ध एयरका सञ्चालक वीरेन्द्र बहादुर बस्नेतले स्थापना गरेको आरजु राईस मिलले मुख्य प्रायोजन गरेको जनाइएको छ ।
प्रतियोगिता आयोजक एलएक्स सीटी फुटबल क्लव लक्ष्मीमार्गका महासचिव शम्भु बस्नेतले आयोजकसहित झापा–११ फुटबल क्लव, भोजपुर जिल्ला फुटलब संघ, सहलेश क्लव सिरहा, रारा फुटबल क्लव धनकुटा, चित्लाङ फुटबल क्लव काठमाडौं, ब्रिगेड व्वाइज काठमाडौं, बुटबल लुम्बिनी फुटबल क्लव, नेपाल पुलिस क्लव र दलसिंहपारा स्पोर्टस् एकेडेमी पश्चिमबंगाल गरी १० वटा टोलीले प्रतियोगिता खेल्ने जानकारी दिए ।
उनले विजेताले नगद आठ लाखसहित ट्रफी र मेडल प्राप्त गर्ने बताए । त्यसैगरी उपविजेता टोलीले नगद चार लाख र मेडल प्राप्त गर्ने बताए । प्रतियोगिता आयोजना गर्नका लागि बेलबारी नगरपालिकासहित स्थानीय संघसंस्था, हाल विदेशमा रहेका बेलबारीका बासिन्दाहरु लगायतको सहयोग रहेको जनाइएको छ ।
नकआउट चरणमा हुने प्रतियोगिता अन्तरगतका प्रत्येक खेलमा म्यान अफ दि म्याचलाई पाँच हजार रुपैयाँ प्रदान गरिने जनाइएको छ । त्यसैगरी प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट गोलरक्षक, सर्वोत्कृष्ट डिफेन्डर, मिडफिल्डर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र सर्वोत्कृष्ट प्रशिक्षकलाई समेत पुरस्कृत गरिने जनाइएको छ ।
प्रतियोगिता आयोजना गर्न ५५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिताका आर्थिक संयोजक शिवकुमार राईले जानकारी दिए । बेलबारी गोल्डकपका लागि आयोजक समितिले करीव ३ हजार ५ सयजना अट्ने अस्थायी प्यारापिट निर्माण गरिएको र सेमिफाइनल खेलसम्म एक सय ५० रुपैयाँ टिकट शुल्क तोकिएको उनले बताए ।
प्रतियोगिताको छैटौं संस्करणको उपाधि ब्रिगेड व्वाइज क्लवले उचालेको थियो ।
View : 1956
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved