Biratnagar, Morang, Nepal
१९ असार २०८१, बुधवार
+977 21 450305, 515728, 578305
समाज

एमाले मोरङको सचिवमा रविन थापा

महानगर अध्यक्ष सागर थापा माथिको कारवाहीको अध्ययन गर्न तीन सदस्यीय आयोग गठन
उद्घोष सम्वाददाता
१६ असार २०८१, आइतवार

विराटनगर । जिल्ला अधिवेशन हुन नसकेको नेकपा एमाले मोरङमा अध्यक्षसहितका पदाधिकारीहरू अहिले धमाधम मनोनित भइरहेका छन् । लामो समयदेखि रिक्त रहेको जिल्ला कमिटीको सचिवमा रविन थापा चयन भएका छन् ।

आइतबार बसेको नेकपा एमाले कोशी प्रदेश कमिटीको सचिवालय बैठकले एमाले मोरङका अध्यक्ष बाबुराम कार्कीले पदाधिकारी मनोनितका लागि गरेको सिफारिसलाई अनुमोदन गरेको हो । बैठकले अध्यक्षमा बाबुराम कार्की, उपाध्यक्षमा शान्ति कुमारी लिम्बू, सचिवमा रविन थापा र उपसचिवमा सन्तोष साह र सोमराज थापालाई अनुमोदन गरेको जनाइएको छ ।

गत जेठ १८ गते बसेको जिल्ला कमिटीको बैठकले अध्यक्षमा तत्कालीन उपाध्यक्ष बाबुराम कार्कीलाई मनोनित गर्दै आगामी १० औं जिल्ला अधिवेशन समेत गर्ने कार्यभारसहित संगठन कमिटी गठन गरेको थियो । सोही कमिटीको बाँकी पदाधिकारीहरू मनोनित गर्दै प्रदेश कमिटीको बैठकले अनुमोदन गरेको हो ।

२०७८ पुसमा सम्पन्न भएको एमाले मोरङको नबौं जिल्ला अधिवेशनले तीन बर्षे कार्यकालका लागि ऋषिकेश पोखरेलको अध्यक्षतामा जिल्ला कमिटीका पदाधिकारी सर्वसम्मत चयन गरेको थियो ।

उपाध्यक्षमा बाबुराम कार्की, सचिवमा रूपेश खतिवडा र उपसचिवमा शान्ति कुमारी लिम्बू र सन्तोष साह चयन भएका थिए । तर सचिव खतिवडाले २०७९ असोजमा अध्यक्ष पोखरेलसँगको टकरावका कारण राजिनामा दिएपछि जिल्ला कमिटीमा सचिव पद रिक्त रहँदै आएको थियो । 

आगामी जिल्ला अधिवेशनसम्मका लागि रविन थापा सचिव मनोनित भएका छन् । यसअघि उपसचिव रहेकी लिम्बू उपाध्यक्ष बनेकी छन् । मानवअधिकार र सामाजिक क्षेत्रमा लामो समयदेखि सक्रिय रहेका सोमराज थापाले उपसचिवमा मनोनित भएसँगै एमालेको सक्रिय राजनीतिमा आफ्नो उपस्थिति देखाएका छन् ।

यसैबीच, कोशी प्रदेश कमिटीको सचिवालय बैठकले एमाले विराटनगर महानगर कमिटीका अध्यक्ष सागर थापामाथि गरिएको कारवाहीको विषयमा अध्ययन गरी पार्टी प्रदेश कमिटीलाई सुझाव दिन तीन सदस्यीय आयोग गठन गरेको छ ।

आयोगको संयोजकमा एमाले कोशी प्रदेश कमिटीका सचिव राजकुमार भण्डारी र सदस्यहरूमा प्रदेश कमिटीका उपसचिव देवान राई र प्रदेश कमिटी सदस्य होम बहादुर थापा चयन भएका हुन् । उनीहरूले केही दिनभित्रै पार्टीको प्रदेश कमिटीलाई सागर थापामाथि भएको कारवाहीको विषयमा अनुसन्धान र राय सुझाव लिएर प्रतिवेदन बुझाउने जनाइएको छ ।

मानगढ खानेपानी संस्थाको निर्वाचनमा समुह बनाएर चुनावी गतिविधि र प्रचारप्रसार गरेको आरोपमा थापाको पार्टी सदस्यता समेत निलम्बन गर्दै अहिले महानगर कमिटीको अध्यक्षको जिम्मेवारी पनि खोसिएको छ ।

प्रदेश कमिटीको बैठकले कोशी प्रदेशका १४ मध्ये ११ वटा जिल्लाको जिल्ला अधिवेशन सम्पन्न भएको तथा मोरङ, इलाम र तेह्रथुमको अधिवेशन बाँकी रहेकोले आगामी मंसिर मसान्तभित्रै जिल्ला अधिवेशन सम्पन्न गर्न निर्देशन दिने निर्णय गरेको प्रदेश कमिटीका एक सचिवालय सदस्यले जानकारी दिए ।

View : 112

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved