Biratnagar, Morang, Nepal
६ साउन २०८३, बुधवार
+977 21 450305, 515728, 578305
समाज

एमाले मोरङको सचिवमा रविन थापा

महानगर अध्यक्ष सागर थापा माथिको कारवाहीको अध्ययन गर्न तीन सदस्यीय आयोग गठन
उद्‌घोष संवाददाता
१६ असार २०८१, आइतवार

Advertisement

विराटनगर । जिल्ला अधिवेशन हुन नसकेको नेकपा एमाले मोरङमा अध्यक्षसहितका पदाधिकारीहरू अहिले धमाधम मनोनित भइरहेका छन् । लामो समयदेखि रिक्त रहेको जिल्ला कमिटीको सचिवमा रविन थापा चयन भएका छन् ।

आइतबार बसेको नेकपा एमाले कोशी प्रदेश कमिटीको सचिवालय बैठकले एमाले मोरङका अध्यक्ष बाबुराम कार्कीले पदाधिकारी मनोनितका लागि गरेको सिफारिसलाई अनुमोदन गरेको हो । बैठकले अध्यक्षमा बाबुराम कार्की, उपाध्यक्षमा शान्ति कुमारी लिम्बू, सचिवमा रविन थापा र उपसचिवमा सन्तोष साह र सोमराज थापालाई अनुमोदन गरेको जनाइएको छ ।

गत जेठ १८ गते बसेको जिल्ला कमिटीको बैठकले अध्यक्षमा तत्कालीन उपाध्यक्ष बाबुराम कार्कीलाई मनोनित गर्दै आगामी १० औं जिल्ला अधिवेशन समेत गर्ने कार्यभारसहित संगठन कमिटी गठन गरेको थियो । सोही कमिटीको बाँकी पदाधिकारीहरू मनोनित गर्दै प्रदेश कमिटीको बैठकले अनुमोदन गरेको हो ।

२०७८ पुसमा सम्पन्न भएको एमाले मोरङको नबौं जिल्ला अधिवेशनले तीन बर्षे कार्यकालका लागि ऋषिकेश पोखरेलको अध्यक्षतामा जिल्ला कमिटीका पदाधिकारी सर्वसम्मत चयन गरेको थियो ।

उपाध्यक्षमा बाबुराम कार्की, सचिवमा रूपेश खतिवडा र उपसचिवमा शान्ति कुमारी लिम्बू र सन्तोष साह चयन भएका थिए । तर सचिव खतिवडाले २०७९ असोजमा अध्यक्ष पोखरेलसँगको टकरावका कारण राजिनामा दिएपछि जिल्ला कमिटीमा सचिव पद रिक्त रहँदै आएको थियो । 

आगामी जिल्ला अधिवेशनसम्मका लागि रविन थापा सचिव मनोनित भएका छन् । यसअघि उपसचिव रहेकी लिम्बू उपाध्यक्ष बनेकी छन् । मानवअधिकार र सामाजिक क्षेत्रमा लामो समयदेखि सक्रिय रहेका सोमराज थापाले उपसचिवमा मनोनित भएसँगै एमालेको सक्रिय राजनीतिमा आफ्नो उपस्थिति देखाएका छन् ।

यसैबीच, कोशी प्रदेश कमिटीको सचिवालय बैठकले एमाले विराटनगर महानगर कमिटीका अध्यक्ष सागर थापामाथि गरिएको कारवाहीको विषयमा अध्ययन गरी पार्टी प्रदेश कमिटीलाई सुझाव दिन तीन सदस्यीय आयोग गठन गरेको छ ।

आयोगको संयोजकमा एमाले कोशी प्रदेश कमिटीका सचिव राजकुमार भण्डारी र सदस्यहरूमा प्रदेश कमिटीका उपसचिव देवान राई र प्रदेश कमिटी सदस्य होम बहादुर थापा चयन भएका हुन् । उनीहरूले केही दिनभित्रै पार्टीको प्रदेश कमिटीलाई सागर थापामाथि भएको कारवाहीको विषयमा अनुसन्धान र राय सुझाव लिएर प्रतिवेदन बुझाउने जनाइएको छ ।

मानगढ खानेपानी संस्थाको निर्वाचनमा समुह बनाएर चुनावी गतिविधि र प्रचारप्रसार गरेको आरोपमा थापाको पार्टी सदस्यता समेत निलम्बन गर्दै अहिले महानगर कमिटीको अध्यक्षको जिम्मेवारी पनि खोसिएको छ ।

प्रदेश कमिटीको बैठकले कोशी प्रदेशका १४ मध्ये ११ वटा जिल्लाको जिल्ला अधिवेशन सम्पन्न भएको तथा मोरङ, इलाम र तेह्रथुमको अधिवेशन बाँकी रहेकोले आगामी मंसिर मसान्तभित्रै जिल्ला अधिवेशन सम्पन्न गर्न निर्देशन दिने निर्णय गरेको प्रदेश कमिटीका एक सचिवालय सदस्यले जानकारी दिए ।

View : 673

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved