Biratnagar, Morang, Nepal
२९ पुष २०८१, सोमवार
+977 21 450305, 515728, 578305
समाज

असुली धन्दामा अभिषेक गिरीलाई प्रहरीले नै सहयोग गरेको आशंका

विराटनगर–१५ का अनिल चौधरीलाई सादा पोशाकका प्रहरीले नियन्त्रणमा लिएर भदौ १३ गते प्रहरी कार्यालयको हिरासतमा थुनेका थिए । वरिष्ठ प्रहरी नायव निरीक्षक यादवले चौधरीका बाबु ओमप्रकाशलाई बोलाएर ३० लाख रुपैयाँको चेक बनाउन लगाएका थिए ।
उद्‌घोष सम्वाददाता
२० भदौ २०८१, बिहिवार

विराटनगर । अपहरण तथा शरीर बन्धक मुद्दामा अपराधी ठहर भएपछि लामो अवधि जेल बिताएर बाहिर निस्किएका विराटनगरका गुण्डा नाइके अभिषेक गिरीलाई असुली धन्दामा प्रहरीले सहयोग गरेको आशंका गरिएको छ ।

उच्च अदालत विराटनगरको बुधबारको आदेशले सो कुराको पुष्टि गर्छ । जिल्ला प्रहरी कार्यालय मोरङको उजुरी छानविन शाखाका प्रमुख वरिष्ठ प्रहरी नायव निरीक्षक उमेश यादवले गिरीलाई अनावश्यक लाभ दिलाउन सहयोग गरेको आरोपमा अदालतले परमादेशसहितको निषेधाज्ञा जारी गरेको छ । 

यादवले मानिसलाई अनावश्यक थुनामा राखेर ३० लाख रुपैयाँको चेक उपलब्ध गराउन सहयोग गरेको बताइएको छ । 

उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेशप्रसाद राजभण्डारीको इजलासले अभिषेक गिरीसहित ६ जनाका नाममा परमादेशसहितको निषेधाज्ञा जारी गरेको हो । 

विराटनगर–१५ का अनिल चौधरीलाई सादा पोशाकका प्रहरीले नियन्त्रणमा लिएर भदौ १३ गते प्रहरी कार्यालयको हिरासतमा थुनेका थिए । वरिष्ठ प्रहरी नायव निरीक्षक यादवले चौधरीका बाबु ओमप्रकाशलाई बोलाएर ३० लाख रुपैयाँको चेक बनाउन लगाएका थिए ।

ओमप्रकाशले दिएको जाहेरीका अनुसार १३ र १४ गतेसम्ममा जिल्ला प्रहरी कार्यालय मोरङको परिसरमा चेक नबनाए मुद्दा चल्ने धम्की दिएर बाध्य पारिएको जनाइएको छ । 

३० लाख रुपैयाँको चेक दिने बित्तिकै सोही दिन ओमप्रकाशले कृषि विकास बैंक विराटनगर शाखाका प्रमुखलाई सम्बोधन गरेर निवेदन दिदै सो चेक रद्द गर्न आग्रह गरेका थिए ।

आफुलाई जबरजस्ती चेक बनाउन लगाएको जनाउँदै उनले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिदा उजुरी छानविनमै रहेका यादवले जाहेरी अस्वीकार गरेका थिए । पीडितले हुलाकमार्फत पनि जाहेरी दिएका थिए । उनको जाहेरीका विषयमा उच्च अदालतले कारण देखाउ आदेशका लागि १५ दिनको म्याद दिएको छ । 

चौधरीले विराटनगर–७ मा रहेको अन्नपूर्ण आयल सप्लायर्सका नाममा चेक काटेका थिए । सप्लायर्सका सञ्चालक अर्पणा तुलाधर, उनका भाइ अभिषेक गिरी, वरिष्ठ नायव निरीक्षक यादव, इलाका प्रहरी रानी र जिल्ला प्रहरी मोरङलाई मुद्दामा बिपक्षी बनाइएको छ । आगामी २३ गतेको पेशीमा उपस्थित हुन बिपक्षीका नाममा अदालतले आदेश जारी गरेको छ ।

सो दिन अन्तरिम आदेशको छलफलका लागि दुबै पक्षलाई अदालतमा बोलाइएको छ । अदालतले १५ दिनभित्र आफै वा कानुन बमोजिमको प्रतिनिधिमार्फत अभिषेक गिरी, अन्नपूर्ण आयल सप्लायर्स र संचालक तुलाधरलाई उपस्थित हुन आदेश दिएको छ । 

यस्तै नायव निरीक्षक यादव, इप्रका रानी र जिप्रका मोरङलाई उच्च सरकारी वकिलको कार्यालयमार्फत लिखित जवाफ पेश गर्न आदेश भएको छ । 

पीडित पक्षका अनुसार मिटरब्याज असुलीका लागि यो घटना गराइएको हो । वडा प्रहरी कार्यालय (ख) विराटनगरमा प्रमुख भएर बसेका बेला नायव निरीक्षक यादव नजिकै घर भएका गिरीसँग निकट थिए । 

गिरीको सानो लगानीमा ठूलो प्रतिफल आउने भएपछि यादवले उनलाई सघाएको पीडित पक्षले बताएका छन् ।

View : 360

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved