Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

सामुहिक लुटपाटमा संलग्न पाँचजना कारागार चलान

उद्घोष सम्वाददाता
२४ कार्तिक २०८०, शुक्रवार

विराटनगर : सामुहिक लुटपाटमा संलग्न गिरोहका पाँच जनालाई जिल्ला अदालत मोरङले कारागार चलान गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले गत भदौ २ गतेदेखि २२ गतेसम्म मोरङका विभिन्न स्थानहरूमा पेस्तोल, रड, लाठी लगायतका हातहतियार देखाई सर्वसाधारण यात्रुहरुलाई कुटपिट गरी  लुटपाट समेत गरेको सूचनाका आधारमा पक्राउ गरेका सातजना मध्ये पाँच जना पूर्पक्षका लागि कारागार चलान भएका हुन् ।

प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिन अपरेशन ‘शेरा ब्राभो हन्ट’ चलाएको थियो । लुटपाट गर्न योजना बनाइरहेको अवस्थामा सातैजनालाई भदौ २२ गते राती करीव साढे ११ बजेको समयमा प्रहरीले पक्राउ गरी मुद्दा दर्ता गरेको थियो । उनीहरुलाई पक्राउ गर्ने क्रममा सादा पोषाकका प्रहरीको पेस्तोल समेत लुटेका थिए ।

पक्राउ परेकाहरु मध्ये बर्ष ४० को रिजवान मियाँ र बर्ष २४ को मो.नजरूल मियाँको घरमा लुकाई छिपाई राखेको अवस्थामा कटुवा पेस्तोल थान १, प्रहरीबाट लुटिएको चाइनिज पेस्तोल थान १, मोवाइल फोन १६ थान र त्यसको मेमोरी कार्ड १२ थान, नेपाली नगद एक लाख ७५ हजार २७५, भारु ११ हजार ६०० र मोटरसाइकल दुई थान बरामद भएको थियो ।

उनीहरुविरुद्ध डाका, चोरी र संगठित अपराध अन्तरगत अनुसन्धान गरी मोरङ जिल्ला अदालतमा प्रहरीले मुद्दा दायर गरेको जनाइएको छ । 

अदालतको बिहीबारको आदेशले मोरङको बुढिगंगा गाउँपालिका–५ को मो.नजरूल मियाँ, वडा नं.–४ का ४० वर्षीय रिजवान मियाँ, सुनसरीको दुहवी नगरपालिका–१ को ३१ वर्षीय मोहमद अलि मुरताजा मियाँ, बर्ष ३० को नजरूल मियाँ र दुहवी नगरपालिका–६ को ४० वर्षीय मो.आलमलाई पुर्पक्षको लागि कारागार चलान गर्ने आदेश दिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालले जानकारी दिए ।

अदालतले उनीहरुको साथबाट बरामद भएका मोवाइलहरूको लक तोडेर आपराधिक कार्यमा सहयोग गर्ने मोवाइल पसल संचालक ३० वर्षीय सिजाम आलमलाई एक लाख रुपैयाँ धरौटी माग गरेकोमा उनी धरौटी बुझाएर छुटेको जनाइएको छ ।

View : 162

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved