विराटनगर । सीमावर्ती क्षेत्रमा नेपाल-भारत दुवैतर्फ मालवस्तु ल्याउन लैजान सहजीकरण गरेर कारोबारी महिलासँग निकट बनेका सशस्त्र प्रहरीका सादा पोसाकमा हिंड्ने (घुमुवा) उनै महिलाको जाहेरीमा पक्राउ परेका छन् ।
सशस्त्र प्रहरी जवान अरविन्द यादवलाई विराटनगरबाट शुक्रबार पक्राउ गरी प्रहरीले सुनसरी लगेको छ ।
विराटनगर भन्सार कार्यालय आसपासमा नेपाल-भारत सामान ओसारपसार गर्ने महिलालाई जबर्जस्ती गरेको उनलाई आरोप लागेको छ । महिलाले प्रहरीमा जाहेरी दिएपछि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीले बताए ।
घटना विवरणअनुसार भन्सार छलीको कारोबारमा सहजीकरण गरेकाले महिलासँग यादव नजिक थिए ।
महिलाकी बहिनीको जन्मदिनको भोजमा सहभागी हुन दुवै जना सँगै सुनसरी गएका थिए । भोजबाट फर्कने क्रममा सुनसरी कोशी गाउँपालिकास्थित कोशी कटानमा लगेर यादवले महिलालाई जबर्जस्ती गरेको प्रहरीले जनाएको छ ।
जन्मदिनको भोज चल्दै गरेको अवस्थामा ती महिलालाई यादवले अभद्र व्यवहार गरेका थिए । सो क्रममा महिलाले प्रहार गरेको डाडुले यादवको टाउकोमा चोट लागेको छ । घटना एक साता पुरानो भएको बताइएको छ । यादव टाउकाको चोटमा औषधि लगाउन कोशी अस्पतालमा पुगेको स्रोतले बताएको छ ।
घटनापछि ती महिला सशस्त्र प्रहरी यादवविरुद्धको जाहेरी लिएर जिल्ला प्रहरी कार्यालय मोरङमा पुगेकी थिइन् ।
अर्को जिल्लाको घटना भएकाले जाहेरीसहित पीडित भनिएकी महिलालाई सुनसरी पठाइएको मोरङका प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले बताए । सशस्त्र प्रहरीका एक उच्च अधिकृतले भने यादवलाई फसाउन खोजिएको बताए ।
मोरङको बुढीगंगा गाउँपालिकास्थित टंकीसिनवारी घर भएका यादव सशस्त्र प्रहरीको ४ नम्बर गण हेडक्वाटर मोरङ दरबन्दी भई प्रस्तावित गुल्म रानीमा कार्यरत हुन् ।
तत्कालीन गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक लोकेन्द्र सुब्बाले दक्ष कर्मचारी भएको जानकारी दिएर नायब महानिरीक्षक अन्जनीकुमार पोखरेलबाट यादवलाई घुमुवा राख्न इजाजत लिएका थिए ।
View : 194
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved