Biratnagar, Morang, Nepal
३२ असार २०८३, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

मोरङ उद्योग व्यापार संघलाई आईसीसीको सदस्यता

उद्‌घोष संवाददाता
३१ असार २०८३, बुधवार

Advertisement

विराटनगर । मोरङ उद्योग व्यापार संघ (एमसीसीआई) अन्तर्राष्ट्रिय व्यापारिक सञ्जालमा आबद्ध भएको छ । विश्वकै सबैभन्दा ठूलो निजी क्षेत्रको व्यापारिक संस्था इन्टरनेशनल चेम्बर अफ कमर्स (आईसीसी) ले संघलाई सदस्यता प्रदान गरेको हो ।

विश्वका एक सयभन्दा बढी मुलुकका उद्योग वाणिज्य संघ, व्यावसायिक संस्था तथा करोडौं व्यवसायिक प्रतिष्ठानहरूको प्रतिनिधित्व गर्ने आईसीसीको सदस्य बनेसँगै मोरङ उद्योग व्यापार संघ अन्तर्राष्ट्रिय व्यापारिक सञ्जालसँग प्रत्यक्ष जोडिएको हो ।

नेपालकै पहिलो उद्योग वाणिज्य संघका रूपमा परिचित मोरङ उद्योग व्यापार संघ आईसीसीको सदस्य बनेसँगै नेपाली उद्योगी–व्यवसायीलाई अन्तर्राष्ट्रिय व्यापार, लगानी तथा विश्वस्तरीय व्यावसायिक सेवामा पहुँच विस्तार हुने अपेक्षा गरिएको छ ।

संघका अध्यक्ष अनुपम राठीले सन् २०२५ देखि आईसीसीको सदस्यता प्राप्त भएको जानकारी दिंदै यसले नेपाली निजी क्षेत्रका लागि नयाँ अवसरको ढोका खोलेको बताए । उनका अनुसार अब संघमार्फत नेपाली उद्योगी–व्यवसायीले आईसीसीका विश्वव्यापी सेवा, सुविधा तथा व्यापारिक सञ्जालको प्रत्यक्ष लाभ लिन सक्ने छन् ।

आईसीसीले अन्तर्राष्ट्रिय व्यापार सहजीकरण, निजी क्षेत्रको हित संरक्षण, नीति निर्माणमा सहकार्य, व्यापारिक क्षमता अभिवृद्धि तथा लगानी प्रवद्र्धनमा विश्वव्यापी भूमिका खेल्दै आएको छ । 

सदस्यतासँगै मोरङ उद्योग व्यापार संघले अन्तर्राष्ट्रिय व्यापार, भन्सार नीति, लगानी, बौद्धिक सम्पत्ति अधिकार तथा डिजिटल अर्थतन्त्रसँग सम्बन्धित विश्वस्तरीय छलफल र कार्यक्रममा आधिकारिक सहभागिता जनाउन सक्नेछ ।

अध्यक्ष राठीका अनुसार आईसीसीको एटीए कार्नेट प्रणालीमार्फत नेपाली व्यवसायीले अस्थायी आयात–निर्यात प्रक्रिया सहज बनाउन सक्ने छन् । 

साथै निर्यातकर्ताले अन्तर्राष्ट्रिय व्यापारसँग सम्बन्धित प्रमाणपत्र, व्यावसायिक सिफारिस तथा आवश्यक कागजात पनि संघमार्फत प्राप्त गर्न सक्ने व्यवस्था हुनेछ ।

सदस्यतापछि संघले आफना सदस्य संस्थालाई विश्वभरका उद्योग वाणिज्य संघ तथा व्यावसायिक संस्थासँग प्रत्यक्ष सम्पर्क, व्यापार मेला, व्यवसायदेखि व्यवसाय (बी टु बी) बैठक, प्रतिनिधिमण्डल आदानप्रदान तथा अन्य अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा सहभागी गराउने जनाएको छ ।

त्यसैगरी, आईसीसीअन्तर्गत रहेको वल्र्ड चेम्बर्स फेडेरेसन (डब्लुसीएफ) का मेन्टरसिप कार्यक्रम, क्षमता विकास तालिम, नवप्रवर्तन पुरस्कार, सेमिनार र वेबिनारमा पनि सदस्य उद्योगी–व्यवसायीले सहभागिता जनाउन सक्ने छन् । 

आईसीसीबाट प्रकाशित अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी अध्ययन, अनुसन्धान तथा प्रतिवेदनमा समेत पहुँच उपलब्ध हुने संघको विश्वास छ ।

संघले विशेषगरी साना तथा मझौला उद्योगलाई अन्तर्राष्ट्रिय बजारमा प्रवेश, बजार अनुसन्धान, व्यवसाय विकास तथा व्यापार विस्तारमा सहयोग पुग्ने जनाएको छ । 

साथै, अन्तर्राष्ट्रिय व्यापारिक विवाद समाधानका लागि आईसीसीको विश्वप्रसिद्ध मध्यस्थता तथा विवाद समाधान सेवाको उपयोग गर्ने अवसर पनि नेपाली व्यवसायीले पाउने छन् ।

अध्यक्ष राठीले आईसीसीको सदस्यता मोरङ उद्योग व्यापार संघ मात्र नभई समग्र नेपाली उद्योग–व्यवसाय क्षेत्रकै ऐतिहासिक उपलब्धि भएको बताए ।

उनले भने, ‘आईसीसीको सदस्यताले नेपाली उत्पादन तथा सेवालाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउन, निर्यात प्रवद्र्धन गर्न, विदेशी लगानी आकर्षित गर्न र विश्वस्तरमा नेपाली व्यवसायीको आवाज स्थापित गर्न महत्वपूर्ण सहयोग पुग्नेछ ।’

संघले आगामी दिनमा अन्तर्राष्ट्रिय मञ्चमार्फत नेपाली उत्पादनको प्रवद्र्धन, निर्यातमुखी उद्योगलाई सहजीकरण, अन्तर्राष्ट्रिय प्रमाणीकरण प्रक्रियामा सहयोग तथा विश्व बजारसँग नेपाली व्यवसायलाई जोड्ने लक्ष्य लिएको जनाएको छ ।

View : 49

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved