विराटनगर । भारत सरकारले नेपालको सीमा नाका नजिकैबाट ६ लेनको राजमार्ग बनाउने तयारी थालेको छ । नेपालको दक्षिणी सीमाबाट नजिकै रहेका दुई भारतीय राज्य बिहार र झारखण्ड तथा पूर्वमा अवस्थित पश्चिम बंगाललाई जोड्ने यो राजमार्ग बनाउन भारतले रेखांकनको काम थालिसकेको छ ।
भारत सरकारको केन्द्रीय सडक एवम् परिबहन राजमार्ग मन्त्रालयका अनुसार यो सडक पश्चिम बंगालको हल्दियाबाट बिहारको रक्सौलसम्म जोड्ने ६ लेनको सडकलाई ‘एक्सप्रेस मार्ग’ भनिनेछ । यो सडक ५ सय ८५.३५ किलोमिटर लामो हुनेछ ।
भारतीय अखबार हिन्दुस्तानले उल्लेख गरे अनुसार भारत सरकारको केन्द्रीय सडक एवम् परिबहन राजमार्ग मन्त्रालयको ‘अलाइनमेन्ट अप्रुभल’ कमिटीले सडकको रेखाङ्कन थालेको छ । यो सडक निर्माणका लागि ३५ हजार ८ सय १७ करोड भारतीय रुपैयाँ खर्च हुने अनुमान छ ।
‘६० मिटर चौडाइको यो सडकमा सवारीसाधन १२० किलोमिटर प्रतिघन्टाका दरले दौडिन सक्नेछन्’, भारतीय राजमार्ग मन्त्रालयले भनेको छ ‘यसले भारतका तीन राज्यलाई एक्सप्रेस मार्गबाट जोड्नेछ ।’
हल्दिया नेपालले औद्योगिक कच्चा पदार्थ आयात गर्ने कोलकाता पछिको अर्को ठूलो बन्दरगाह हो । हल्दियाबाट सोझै रक्सौलसम्मको एक्सप्रेस मार्ग बन्दा त्यसको सबैभन्दा ठूलो फाइदा वीरगन्जसहित मध्य तथा पश्चिम नेपालले पाउने उद्योगीहरु बताउँछन् ।
‘यो राजमार्ग बन्दा विराटनगरलाई प्रत्यक्ष फाइदा तत्काल नदेखिन सक्छ’, नेपाल उद्योग वाणिज्य महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउतले भने ‘तर, यसले मध्य तथा पश्चिम नेपालका उद्योगहरुका लागि धेरै ठूलो राहत हुनसक्छ ।’ वीरगन्ज नाकालाई प्रत्यक्ष हुने फाइदाबाट नेपाल लाभान्वित बन्ने अध्यक्ष राउतको भनाइ छ ।
उद्योगीहरु राजकुमार गोल्छा र शंकरलाल अग्रवाल पनि राउतको भनाइसँग सहमत छन् ।
‘रक्सोलबाट सोझै हल्दिया जोड्ने राजमार्ग दुरीका हिसाबले विराटनगरलाई टाढा पर्न जान्छ’, गोल्छाले भने ‘तर, औद्योगिक कच्चापदार्थहरु वीरगन्ज नाका हुँदै पनि धेरै आउँछ । यदि यो राजमार्ग हुँदै आयात हुन थाल्यो भने विराटनगरसहित सिंगो नेपाललाई फाइदा हुनसक्छ ।’
भारतीय सरकारका अनुसार यो सडक नेपाल–भारत सीमाको भारतीय शहर रक्सौलबाट सुरु भएर मोतिहारी, शिवहर, दरभंगा, मुजफ्फरपुर, समस्तीपुर, बेगुसराय, खगडिया, लखीसराय, जमुई, बाँका, मुंगेर, देवघर, दुमका, जामताढा, आसनसोल हुँदै हल्दियासम्मको बन्नेछ । यो सडकले बिहारको ११ जिल्लालाई छिचोल्ने त्यहाँको मन्त्रालयको भनाइ छ ।
मोरङ उद्योग व्यापार संघका पूर्वअध्यक्ष शंकरलाल अग्रवाल भारतीय भूमिमा बन्ने यो सडकले नेपाललाई दीर्घकालीन रुपमा फाइदा पुर्याउने बताउँछन् ।
‘अहिले हामीले औद्योगिक कच्चा पदार्थहरु सिधै कोलकाताबाट ल्याइरहेका छौं, यो बाटो बनेपछि रक्सौल हुँदै वीरगन्ज नाकासम्म सहज पहुँच हुनेछ’, उनले भने ‘पछि लिंक रोडहरु बन्ने भए भने त्यसबेला फाइदा लिन सकिन्छ ।’
अहिले सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगहरुका लागि चाहिने औद्योगिक कच्चा पदार्थहरु कोलकाताबाट सडकमार्ग हुँदै जोगबनीबाट आउने गरेका छन् ।
प्रस्तावित राजमार्ग बनेपछि लिंक रोडहरु पनि बने त्यसले फाइदा पुर्याउने अनुमान नेपालको निजी क्षेत्रका अगुवाहरुको छ ।
त्यसो त वीरगन्ज नाका नेपालको ठूलोमध्येको एक भन्सार नाका हो । नेपालको अर्थतन्त्रको एउटा मुख्य द्वार वीरगन्जसम्म बन्दरगाहबाट सोझै यातायात सम्बन्ध स्थापित हुने विषय नेपालका लागि राम्रो हुने उद्योगीहरु बताउँछन् ।
View : 540
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved