विराटनगर । मोरङ प्रहरीद्वारा चाडपर्वमा विशेष सुरक्षा व्यवस्था बढाएको छ ।
मोरङमा हालै सरुवा भएर आएका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) कवित कटवाले चाडपर्व नजिकिंदै गर्दा हुन सक्ने सम्भावित अपराध नियन्त्रणका लागि प्रहरीले विशेष सुरक्षा सतर्कता बढाएको बताएका हुन् ।
‘नागरिकले निर्धक्कस“ग चाडपर्व मनाउन सकून् भन्ने हाम्रो प्राथमिकता हो,’ एसपी कटवालले बताए ।
उनले जिल्लामा थप सुरक्षाकर्मी परिचालन गर्ने तयारीसँगै सीमा क्षेत्रमा पनि निगरानी कडाइ गरिएको जानकारी दिए ।
एसपी कवित कटवालले सोमबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै मोरङ प्रहरीले गत भदौ २३ र २४ गते जेन–जी आन्दोलनको नाममा भएका तोडफोड र आगजनीजस्ता विध्वंसात्मक गतिविधिमा संलग्न समूहविरुद्ध कडा कारबाही गर्ने प्रतिबद्धता जनाएको बताए ।
अराजकतामा संलग्न व्यक्तिहरू प्रहरीको उच्च निगरानीमा रहेको जानकारी दिएको बताउँदै उनले भने ‘गैरकानुनी गतिविधिमा संलग्न कसैलाई पनि उन्मुक्ति दिइने छैन, प्रमाण संकलन गरेर कानुनअनुसार कठोर कारबाही गरिनेछ ।’
एसपी कटवालका अनुसार तोडफोड र आगजनीबाट क्षति पुगेका संरचनाको मुचुल्का उठाइ सकिएको छ भने घटनासँग सम्बन्धित फोटो, भिडियोलगायतका प्रमाणहरू संकलन भई विश्लेषण भइरहेको छ ।
प्रमाणको आधारमा दोषी पहिचान गरी कानुनी प्रक्रिया अघि बढाइने उनको भनाइ छ ।
एसपी कटवालले विगतका घटनाबाट सिकेर अघि बढ्ने प्रतिबद्धता जनाउँदै शान्ति सुरक्षाको प्रत्याभूति गर्न प्रहरी जनतामाझ २४ घण्टा सक्रिय रहने आश्वासन दिए ।
सो अवसरमा सूचना प्रवाहको बारे जोड दिंदै मोरङकी प्रहरी प्रवक्ता डीएसपी कोपिला चुडालले पत्रकारलाई आधिकारिक निकायबाट प्रमाणित नगरी कुनै समाचार प्रसारण नगर्न आग्रह गरिन् ।
‘प्रमाणित सूचना मात्रै प्रवाह गर्दा समाजले सही र विश्वसनीय जानकारी पाउँछ’ उनले भनिन् ।
View : 342
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved