विराटनगर । नेपालकै सबैभन्दा ठूलो हवाई कम्पनी बुद्ध एयर विभाजनको संघारमा पुगेको छ । बुद्ध एयरका मालिकहरूमध्ये वीरेन्द्रबहादुर बस्नेत पार्टी खोलेर राजनीतिमा होमिएपछि अन्य सेयर सदस्यले आफ्नो आर्थिक अधिकार सुरक्षाका लागि भन्दै अंशबण्डाको प्रस्ताव गरेको छ । यही माग लिएर सो पक्ष सर्वोच्च अदालत पनि जाने तयारी गरेको छ ।
वीरेन्द्रका भाइ शिवेन्द्र बस्नेतको परिवार पनि बुद्ध एयरको शेयर सदस्य भएको परिवार हो । शिवेन्द्रको परिवारले २०८२ कार्तिक २३ गते पाटन उच्च अदालतमा नियमित बाहेकका बुद्धका सबै खर्च रोक्न माग गर्दै मुद्दा दायर गरेको थियो । तर, उच्च अदालत पाटनले निवेदकहरूमो माग अनुसार आदेश दिन अस्वीकार गरेको थियो ।
बुद्ध एयरका तर्फबाट अधिवक्ता अशांकन मल्लको बहस पैरवी पछि निवेदक पक्षले माग गरेको दैनिक र आवश्यक कार्यसञ्चालन खर्च बाहेक अन्य खर्च गर्न निषेध गरिपाउँ भनी दिएको निवेदनमा अन्तरिम आदेश नहुँदा अन्याय गरेको भन्दै सर्वोच्च अदालतमा निवेदन दिन तयारी भएको एक कानुन व्यवसायीले जानकारी दिए ।
अधिवक्ता अशांकन मल्ल सर्वोच्च अदालतका प्रभावशाली न्यायाधीश सपना प्रधान मल्लका पुत्र हुन् । बुद्ध एयरको मुद्दामा उनी पहिलो पटक बहस गर्न आएका थिए ।
वीरेन्द्रले राजनीतिक दल खोलेपछि अनावश्यक खर्च गरेर बुद्ध एयरलाई नोक्सान पु¥याउने सम्भावना रहेकाले अब सेयर सदस्यले सेयर अनुसार सम्पत्ति बण्डा गर्न परेको निवेदन तत्काल कार्यान्वयनमा लैजान माग गर्दै निवेदन दिएको थियो ।
दाजु अपारदर्शी रूपमा चलेको भन्दै शिवेन्द्र र उनको परिवार लामो समयदेखि कानुनी लडाइमा छ । अझ यसपटक त वीरेन्द्र बस्नेतले राजनीतिक पार्टी खोलेपछि शिवेन्द्र पक्ष झनै संशकित बनेको छ ।
‘राजनीतिक दल खोल्ने, त्यसको गतिविधि गर्ने र चुनाव लड्ने सम्पूर्ण खर्च कहाँबाट आउँछ ?’ शिवेन्द्र पक्षको आशंका छ ‘हामी कम्पनीका शेयरहोल्डरहरूलाई गुमराहमा राखेर बुद्धकै आम्दानी खर्च गरेर दलीय गतिविधि गरिरहेको आशंका भएपछि हामीले नियमित बाहेकका खर्चमा रोक लगाउन र बण्डाको माग गरेका हौं ।’
वीरेन्द्र र शिवेन्द्रका बुबा सुरेन्द्रबहादुर बस्नेतले स्थापना गरेको बुद्ध एयरमा हाल ३५ प्रतिशत शेयर रहेका अर्चना बस्नेत, शिवानी बस्नेत र आदर्शबहादुर बस्नेतले कम्पनी ऐन २०६३ बमोजिम अल्पमतका शेयरधनीको संरक्षणको माग गर्दै अदालतको ढोका ढक्ढक्याएका थिए ।
स्व सुरेन्द्रबहादुर बस्नेतले आफ्नो जीवनकालमै आफ्ना दुई छोराका परिवारबीच बुद्ध एयरको शेयर बाँडफाँट गरिदिएका थिए ।
२०७५ साउन १५ मा सबै शेयरधनीबीच सर्वसम्मत सम्झौता भई कम्पनीको शेयर संरचना ‘क’ वर्ग र ‘ख’ वर्गमा विभाजन गरिएको थियो । उक्त सम्झौताअनुसार वीरेन्द्रबहादुर बस्नेतको परिवार ‘क’ वर्गमा र शिवेन्द्रबहादुर बस्नेतको परिवार ‘ख’ वर्गमा राखिएको थियो । सोही सम्झौता कम्पनी रजिष्ट्रार कार्यालयबाट समेत प्रमाणित भएको शिवेन्द्र पक्षको भनाइ छ ।
View : 219
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved