सन्दर्भ २५६९ औं बुद्ध जयन्ती
२५६९औं बुद्ध जयनतीमा ध्यानमग्न विराटनगर तीनटोलियाका महिलाहरू । तस्बिर : उद्घोष
दयालु, परोपकारी त्यो व्यक्तिलाई भनिन्छ जसले अरूको भलाइ वा कल्याणका लागि काम गर्छ । अरूको कल्याणका लागि शरीरनै दिने व्यक्तिलाई बोधिसत्व भनिएको छ । भगवान गौतम बुद्धले पञ्चशीलका माध्यमबाट सदाचार र सद्व्यवहारको उपदेश दिएका थिए । पञ्चशीलको सिद्धान्तमा चल्ने व्यक्ति मात्र भिक्षु हुन सक्छ । वश्त्रले वा श्रृंगारले र अनाचरणले भिक्षु बन्ने अधिकार राख्दैन । यो मत बुद्ध धर्मका लागि महत्वपूर्ण बन्यो ।
माथिल्लोस्तरका व्यक्तित्वहरू भ्रष्ट, चोर, दुर्व्यसनी, मुनाफाखोर, कमिसनखोर र देशघाती छन् भने तिनको प्रभावबाट र संगतबाट सामान्य मान्छे पनि त्यस्तै बन्छ । त्यसकारण दुर्जन, हत्यारा, ठग, बेइमानलाई दण्ड गरेर सर्वसाधरण वा सज्जन मान्छेको सुरक्षा गर्नुपर्छ भन्ने हाम्रो सनातन धर्मको आदर्श हो । तर, बुद्धको उपदेशमा मार्ने, काट्ने, अपराधी सबैको प्रहार सहनु पर्छ । अनि खराब व्यक्तिलाई आफ्ना सहनशीलताले सत्मार्गमा ल्याउन सकिन्छ भन्ने छ । यस्तो सोचाइका कारण नै भगवान बुद्ध बनेका हुन् ।
सहअस्तित्वका लागि मान्छेले सबैमा समान व्यवहार गर्नु पर्छ । पशु, पंक्षी, जनावर वा मनुष्यका लागि मात्र होइन, सम्पूर्ण वनस्पतिका लागि पनि ऋगवेदले सहअस्तित्वलाई महत्व दिएको छ । वृक्षलाई पनि देव शब्दले संवोधन गरेर वनस्पतिका गुणको महत्वलाई दर्शाएको छ । यस अतिरिक्त पनि वेदमा कुनै पनि जात जातिका बारेमा चर्चा नभएको हुँदा भगवान बुद्धले यस तथ्यलाई आधार मानेर ‘मनुष्य जन्मदा ठूलो– सानो हुँदैन र छुत अछुत पनि हुँदैन भन्ने विचारलाई आफ्नो चेलाहरूमार्फत अघि सारेका हुन् ।
शंकराचार्य, निम्वाकाचार्य अनि रामानुजाचार्यको मतानुसार ईश्वर, जीव, पृथ्वी वा पदार्थका बारेमा चर्चा गरिएको ग्रन्थहरूलाई वेदान्त भनिएको छ । यसलाई उपनिषद वा दर्शनशास्त्र पनि भनिन्छ ।
संसारको सृष्टि, स्थिति प्रलयका बारेमा वेदलाई प्रमाण मान्ने छवटा दर्शन छन् भने वेदलाई प्रमाण नमान्ने दर्शन पनि छवटा नै छन् । बुद्ध धर्मले वा बुद्ध दर्शनले वेदलाई प्रमाण मान्दैन । तर पनि वेदमा लेखिएका कतिपय सत्यलाई भने बुद्ध धर्ममा अनुशरण गरिएको छ ।
बुद्ध धर्मले वा बुद्ध दर्शनले विज्ञानवादी, शून्यवादी, वैभाषिक र सौत्रान्तिक जस्ता चार मन्त्रलाई प्रस्तुत गरेको छ । तथापि समाजसेवा, दया, परोपकार, मानवसेवा, अहिंसा र शान्तिका सवालमा बुद्ध दर्शनले वा सनातनी दर्शनकै अनुशरण गरेको हुँदा बुद्ध धर्मलाई सनातन धर्मकै रूपमा हेरिएको छ ।
अहिंसा, सत्य, अस्तेय, ब्रह्मचार्य र अपरिग्रह भनेर पातञ्जल योगमा तिनको चर्चा गरिएको छ । यिनलाई पाच महाव्रत पनि भनिएको छ । भगवान बुद्धले यिनै पाँच महाव्रतलाई पञ्चशील भनेर तिनका ब्याख्या गरेका छन् र तिनकै आधारमा आफ्ना शिष्यहरूलाई उपदेश पनि गरेका छन् । विशेषत ः अपरिग्रहको विशेष चर्चा गर्दा रक्सी, जाँड, जुवा आदिबाट बच्नु पर्ने अर्थमा पनि उपदेश भएको पाइन्छ ।
पाँच कर्मेन्द्रीय र पाँच ज्ञानेन्द्रीयबाहेक भगवान बुद्धले मनलाई पनि एक इन्द्रीय मानेका छन् । मान्छेलाई सत्कर्ममा या असत्कर्ममा प्रेरित गर्ने मूल तत्व मन नै हो । मनसमेत सबै इन्द्रीयलाई पञ्चशीलका आधारमा मान्छेले आफूलाई रोक्नुपर्छ र आदर्शमा वा सत्कर्ममा लगाउनु पर्छ । त्यस्तै बुद्ध जातिका ग्रन्थमा पशुपंक्षीलाई बचाउने हरसमय प्रयास गर्नुपर्ने कुरा पनि लेखिएका छन् ।
यसरी ‘अहिंसा परमोधर्म’ भन्ने कुरालाई बौद्ध धर्मले अत्यधिक महत्व दिएको छ । त्यति मात्र हैन, मानवीय समाजमा मानवीय सेवाको ठूलो महत्व छ । बुद्धधर्मसँग सम्बन्धित कृतिहरूमा मानवसेवाका विषयमा पढ्न र बुझ्न पनि पाइन्छ । जबसम्म सबै प्रकारका प्राणीहरूका दुःख हटाउन सकिदैन तबसम्म जीवन सार्थक हुँदैन । यस अर्थमा ‘सबैको दुःख हटाउने बन्न सकूँ’ भन्ने पवित्र सोच मान्छेमा हुनुपर्छ । सेवाको यो भाव सनातन धर्म र बौद्ध धर्मको संक्षिप्त आदर्श पनि हो ।
छली, चोरी, डकैती, कमिसनखोरी, अन्याय, शोषण, बलात्कार, लोभ लालच, ठगी, लूट, यी सबै आसुरी चरित्र हुन् । सरकार वा राज्यले आसुरी चरित्रलाई प्रोत्साहित गर्दा राष्ट्रमा अराजकता बढेर जान्छ । जनताले दुःख पाउँछन् । अहिले नेपालमा आसुरी चरित्रको व्यापक विस्तार भएको छ । यो चरित्र बढ्दै गएपछि कुनै पनि राष्ट्रको दुर्गतिनै हुन्छ । जबसम्म आसुरी चरित्र भएका वा असत् चरित्र भएका व्यक्तिले राज्य चलाउँछन् तबसम्म राष्ट्र वा जनताको उन्नती हुँदैन । सनातन धर्मले र बुद्ध धर्मले संकेत गरेको सत्य पनि यही हो ।
यज्ञमा पशुवली दिंदा कर्तालाई र ब्राह्मणलाई अनि स्वयं पशुलाई पनि स्वर्ग मिल्छ भन्ने अन्धविश्वास तत्कालीन समाजमा व्याप्त थियो । त्यो अन्धविश्वासलाई र दुराचारलाई भगवान बुद्धले गलत बताएपछि यज्ञमा पशुबली दिने कार्य अथवा गोमेध, अश्वमेध जस्ता कुराहरू रोकिएको पाइन्छ । तथापि बली प्रथा भने हालसम्म रोकिएको छैन । तर यता सनातन धर्मले प्राणीको हत्या गर्नेलाई आर्य मानेको छैन ।
आर्य जात वा धर्मले हुने होइन । कर्मले आर्य हुन्छ । असत् कर्म गरेकी हुँदा दशरथले कैकेईलाई अनार्य भनेर सम्बोधन गरेको उदाहरण पाइन्छ ।
जन्मका आधारमा मान्छे ठूलो सानो हुन्छ भन्ने कुरा वेदमा कतै लेखिएको पाइँदैन । जन्मबाट मान्छे उच्च जात र निम्न जात पनि हुँदैन । कर्मले मान्छेलाई सानो ठूलो बनाउँछ । त्यस अतिरिक्त जात जातिको व्याख्या गर्ने र उचनीच छुट्याउने चाहिँ हाम्रो सामाजिक संस्कार, व्यवहार तत्कालीन राज्य व्यवस्थाको ऐन नियम नै हो भन्ने कुरा विभिन्न समय दस्तावेजहरूबाट अवगत हुन्छ ।
मनुष्यका लागि भगवान बुद्धले चार सत्य बताएका छन् । जस्तो– संसार दुःखमय छ – दुःखको कारण पनि छ – वासनानै दुःखको कारण हो – दुःख नष्ट गर्ने हो भने मान्छे भित्रको वासना नष्ट गर्नुपर्छ । यसरी दुःखको मूल कारण भोग विलास, ऐस आराम नै हो भन्ने सन्देश वा ज्ञान चार आर्य सत्यले बताएका छन् । त्यस्तै आर्य अष्टाङ्ग मार्गको मुख्य आशय चाहिँ यो हो कि π कुनै पनि मान्छेले विचार नगरी कार्य गर्नु हुँदैन । विचार नगरी हड्बडाएर कार्य गर्दा कार्यहरू सफल हुँदैनन् । सफलताको लागि भगवान बुद्धले चार मार्ग बताएका छन् । जस्तो सम्यक दृष्टि, सम्यक संकल्प, सम्यक वाणी, सम्यक कर्म, सम्यक व्यायाम, सम्यक स्मृति र सम्यक समाधि । जैन धर्मका प्रवर्तक महावीरको दर्शन पनि खासै फरक छैन । तथापी स्वेताम्बरी साधुहरूको भने पूर्ण अहिंसाप्रति बढी झुकाउ पाइन्छ ।
हीनयान, महायान, बज्रयान यिनै तीन प्रकारका मार्गहरू वा मतहरू बौद्ध सम्प्रदायमा छन् । भगवान बुद्धको सबैभन्दा पुरानो उपदेशलाई हीनयान भनिएको छ । पञ्चशील कर्मले मान्छेलाई मुक्ति मिल्छ भनिएको छ । महायानले पूजा पद्धतिलाई पनि अपनाएको छ । यसले अवतारवादलाई पनि मानेको छ । यो वाद सनातन धर्मसँग बढी मेल खान्छ । तर हीनयानले भने अवतारवादलाई स्वीकार गर्दैन । बज्रायनले भने तान्त्रिक पद्धतिलाई पनि अपनाएको छ । तथापी नेपालका सबै बौद्धधर्मावलम्बीहरू आपसमा कुनै विरोध नगरी बसेका छन् र सनातन धर्मका साथमा पनि छन् ।
आज भन्दा लगभग २५ सय वर्ष अगाडि भगवान बुद्धको जन्म भएको थियो । त्यसको २५० वर्ष पछाडि सम्राट अशोक राजा भएका थिए । उडिसा वा कलिङको युद्धमा हजारौं मान्छेहरू मरेपछि मर्नेहरूका परिवारले विलाप गरेको देखेर सम्राट अशोकले राज्य विस्तार गर्ने योजनालाई परित्याग गरे । त्यसपछि उनले हिंसा वा युद्ध त्यागेर बुद्धधर्मलाई अपनाए । त्यसपछि सम्राट अशोकले सबैतिर शान्ति स्थापना गर्ने प्रयास गरे ।
बुद्ध धर्म, जैन धर्म, सनातन धर्मको पनि समान रुपमा सम्मान गर्नु र प्रचार गर्नु भन्ने उर्दी जारी गरे । सबै धर्मको समान रूपमा सम्मान गर्दा धर्मको पनि सम्बर्धक हुन्छ र समाजमा शान्ति कायम हुन्छ भन्ने उनको विचार थियो ।
बुद्ध धर्म अपनाएपछि सम्राट अशोकले आफ्नो घोषणालाई पूरा गर्न एकजना धार्मिक विचार भएका मन्क्रीलाई नियुत्त गरेका थिए भन्ने भनाई पनि छ । करिब २० वर्ष शासन गरेपछि सम्राट अशोक भगवान बुद्धको जन्मस्थान लुम्बिनी आएका थिए ।
भगवान बुद्धको जन्मस्थल आएर अशोकले अशोकस्तम्भ खडा गरे । त्यो अशोक स्तम्भमा बुद्धको जन्मस्थल लुम्बिनी गाउँ वा वन हो । यो पवित्र भूमिमा बस्ने मान्छेले आम्दानीका आठ भागको एक भाग मात्र तिरो तिर्नु अरू कुनै कर लाग्ने छैन भन्ने शिलालेखमा लेखेर जनतालाई करमा सहुलियत प्रदान गरेका थिए । शिला लेखमा लेखिएका सबै कुराहरू संस्कृत भाषा पछि विकास भएको पाली भाषामा लेखिएको पाइन्छ ।
भगवान बुद्धलाई विश्वकै उज्यालो वा प्रकाशको रूपमा चिनिन्छ । उनी आदरणीय छन् । उनको अहिंसा, शान्ति र सेवाको सन्देशले आज पनि विश्वमानवलाई स्पर्श गरिरहेको छ । हत्या, हिंसा र युद्धबाट फर्केर शान्ति र सेवाको पथमा लाग्न आजको मानवलाई उनका उपदेशले प्रेरित गरिरहेको छ ।
View : 91
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved