जिल्ला प्रशासन कार्यालयमा सोमबार प्रमुख जिल्ला अधिकारीलाइ पर्खिएका भिमराज, प्रदिप र नरमाया । तस्वीरः कमल/उद्घोष
विराटनगर । गोरो अनुहारमा झल्किएको पीडा रसाएका आँखाले बोलिरहेका थिए । प्रहरीको खप्किपछि न्याय माग्न प्रमुख जिल्ला अधिकारी (सीडीओ) गुहार्न पुगेकी आमासँग नेपाल प्रहरीमा कार्यरत छोरी र ज्वाईले दिएको मनभित्रको चोट थियो ।
विराटनगर–४ राजवंशी चोक निवासी ६६ वर्षीया नरमाया कार्की (प्रसाई) नेपाल प्रहरीका हवल्दार छोरी सर्मिला प्रसाई र ज्वाईं सहायक निरीक्षक सीताराम खड्काबाट पाएको पीडा सुनाउन सोमबार मोरङका सीडीओ भेट्न गएकी थिइन् । उनले छोरी ज्वाईंबाट पाएको समस्या समाधान गरिदिन जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएकी छन् ।
दुई छोरी र दुबै ज्वाईं प्रहरी सेवामा रहेकाले गर्भले छाती फुल्ने गरेको नरमाया अहिले तिनै छोरी ज्वाईंको साथ पाउनका लागि प्रशासन धाउन थालेकी छन् । प्रहरी घरमै भएकाले न्याय घरमै पाइएला भनेर नरमाया ढुक्क थिइन् । नरमायाका जेठा छोरा ३५ वर्षीय प्रदिप प्रसाईँले वैदेशिक रोजगारीबाट कमाएको पैसाले काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–५, थली टोलमा २०७४ मा ५२ लाख रुपैयाँमा घर किनेका थिए ।
विदेश गइहाल्नु पर्ने भएकाले भर्खर बिवाह गरेकी श्रीमती भन्दा पनि नेपाल प्रहरीमा कार्यरत कान्छी दिदी सर्मिलाप्रति बढी विश्वास भएकाले घरजमिन दिदीकै नाममा पास गरिएको प्रदिप बताउँछन् । हुन त उनी विदेश गएका बेला श्रीमतीले साथ छाडेकाले पनि उनी अर्को बिवाह गर्न आएका थिए ।
भर्खर बिहे गरेकी कान्छी श्रीमतीका नाममा घरजमिन पास गर्न भन्दा प्रहरी रहेकी दिदीको नाममा राख्दा बढी सुरक्षित हुने प्रदीपको विश्वास थियो । घर खरिद गरेको आठ वर्ष नाघिसक्यो एक तले घर बढाएर अढाइ तले बनिसक्यो तर, उनले आङ्खनो नाममा नामसारी गराउन सकेका छैनन् ।
‘छोराले विदेशमा दस नङ्ग्रा खियाएर कमाएको सम्पत्ती छोरीका नाममा छ, माग्न जाँदा गाली गर्छन्, काट्छु भन्छन्’ नरमायाले भनिन्–‘छोरी भेट्न जाँदा ज्वाईंले गलहत्याएर काट्छु भन्दै घरबाट निकाले ।’
उनका अनुसार केही दिनअघि श्रीमान् भीमराज प्रसाई र छोरा प्रदिपलाई लिएर छोरी सर्मिलाको घर इटहरीको आँपगाछी गएकी थिइन् । ज्वाईं सीतारामले श्रीमान् र छोरालाई खुकुरीले काट्छु भन्दै घचेटेर घरबाट निकालेको उनले बताइन् । त्यहाँबाट उनी जिल्ला प्रहरी कार्यालय मोरङमा गुनासो गर्न आएकी थिइन् ।
‘डीएसपी कोपिला चुडालले छोरी ज्वाई बोलाउनु भयो, उनीहरु घरजमिन नामसारी गर्न राजी भएर गएपनि सम्पर्कमा आउन चाहेनन्’ उनले भनिन् ‘यो कुरा लिएर फागुन १ गते डीएसपी साबलाई भन्न जाँदा ‘चुप’ भन्दै गाली गरिन्, पिपलपाते भनिन् ठग भनिन्, तपाई खत्तम भनिन् ।’ प्रहरीले कुरा नसुनेपछि प्रमुख जिल्ला अधिकारीसम्म न्याय माग्न पुगेको उनी बताउँछिन् ।
छोरी सर्मिला प्रहरी सेवामा कार्यरत रहेकै बेला दुई सन्तानकी आमा भइन् । उनले आपूm सुत्केरी हुँदा छोरी सर्मिलालाई कसरी हुर्काएकी थिइन् त्यो ताजै छ । सर्मिला सुत्केरी हुँदा पनि उनी हजुरआमा हुँदाको खुशी लिएर जीउज्यानले भ्याएसम्म लागिन् । दुबै पटकको सुत्केरी स्याहार्नेदेखि बच्चा हुर्काउनेसम्म पाँच वर्ष आफूले गरेको मेहनत सम्झदै नरमाया भन्छिन्–‘जहाँ गएपनि केही गर्न सक्नुहुन्न भन्नु भएको छ ज्वाईंले ।’
खासमा ज्वाई सीतारामले प्रहरी भएकैले कानुनी कमजोरी नछाडि ब्यवहार गरेका रहेछन् । घर खरिद गर्ने बेलामा सालो प्रदिपले भिनाजु सीतारामको बैंक खातामा रकम पठाउने गरेका रहेछन् ।
घर पास गर्ने बेला प्रदिप विदेशबाट आए । सीतारामले प्रदिपको खातामा पैसा फिर्ता गरेर बिक्री गर्ने धनीलाइै रकम तिर्न लगाए ।
अब कानुनी आधारमा सीतारामले रकम फिर्ता गरिरहेको देखिने भएकाले उनी बलिया छन् । सालो प्रदीपले आङ्खनो रकम फिर्ता नगरेकाले घर जमिन फिर्ता नगरेको सीतारामले स्वीकार गरे ।
उनले सालोले आङ्खनो ६ लाख रुपैयाँ फिर्ता गरे घर उसको नाममा फिर्ता गर्ने बताए । ‘उसले कान्छो सालोसँग पनि सम्बन्ध बिगारेको छ, मेरो पैसा पनि तिरेको छैन, त्यसैले फिर्ता रोकेको हो’ सीतारामले भने ।
तर, प्रदीप भनें सीतारामलाई ३ लाख ८० हजार रुपैयाँ मात्रै तिर्न बाँकी रहेको बताउँछन् ।
‘भिनाजुको घर थिएन, हाम्रै घरमा बस्नु हुन्थ्यो, मैले नै पैसा हालिदिएर घर बनाउनु भयो, मोबाइल, टीभी धेरै थोक विदेशबाट ल्याइदिएँ’ प्रदिपले भने– ‘अहिले घर फिर्ता गर्नुपर्छ भनेर सम्पर्कमा आउनुहुन्न, भेट्न जाँदा घचेटेर घरबाट निकाल्नु हुन्छ ।’
दिदी भिनाजुले दिएको सास्तीले आफू कमाउन पुनः विदेश जान नपाएको उनको भनाइ छ । बिहान १० बजेदेखि अपराह्न सवा ४ बजेसम्म प्रजिअसँग भेट नभएपछि उनीहरु घर फर्किएका छन् ।
जिल्ला प्रशासनका प्रशासकीय अधिकृत रामप्रसाद लुईटेलले नरमायालाई मंगलबार बिहान आउन भनेका छन् ।
View : 260
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved