विराटनगर । एशियन थाई फूड्स लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) का लागि हिमालयन सेक्यूरिटिजलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
सुनसरी–मोरङ औद्योगिक क्षेत्रमा सन् २००१ मा स्थापित अग्रणी उद्योग एशियन थाई फूड्सले सर्वसाधारणका लागि शेयर निष्कासनका लागि बिक्री प्रबन्धक नियुक्त गरेको हो ।
दुवै कम्पनीबीच बुधबार काठमाडौंमा सम्झौता–पत्रमा हस्ताक्षरसमेत भएको छ । सम्झौतामा एशियन थाई फूड्स लिमिटेडका अध्यक्ष शिवरतन शारडा र हिमालयन सेक्युरिटिजका प्रमुख कार्यकारी अधिकृत सुभासबहादुर श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
एशियन थाइ फूड्सका प्रबन्ध निर्देशक महेश जाजु, कार्यकारी निर्देशक राधेश्याम शारडा र निर्देशक आशिष जाजु तथा हिमालयन सेक्युरिटिजका नायब महाप्रबन्धक शंकर राजवाहकलगायतको उपस्थितिमा सम्झौता भएको जनाइएको छ ।
शारडा ग्रुप र जाजु ग्रुपको साझेदारीमा स्थापित भएको एशियन थाई फूड्स नेपालमा नुडल्स र स्न्याक्सको अग्रणी उत्पादक कम्पनीका रूपमा स्थान बनाइसकेको छ ।
यस उद्योगबाट उत्पादित सबैभन्दा लोकप्रिय नुडल्सका रूपमा रमपम परिचित छ । त्यस्तै टू पीएम र प्रिती चाउचाउ पनि उत्पादन र बिक्री वितरण गर्दै आएको छ ।
सम्झौतासँगै एशियन थाई फूड्सले सार्वजनिक बजारमा प्रवेशको बाटो तय गरेको छ । सुनसरीको सोनापुरमा मुख्य उद्योग रहेको यस कम्पनीले कपिलवस्तुको तौलिहवामा पनि नयाँ प्लान्ट स्थापना गरी नुडल्स र स्न्याक्स उत्पादन सुरू गरिसकेको छ ।
एशियन थाई फूड्सले नेपालभरी र नेपाल बाहिरका खाडी मुलुक, भारत, चीन, जापान, दक्षिण कोरिया, मलेसिया, युएई, बेल्जियम, डेनमार्क, फिनल्यान्ड, जर्मनी, इटाली, माल्टा, यूके, क्यानडा, अमेरिका, अष्ट्रेलिया र न्यूजिल्याण्डलगायत ३० भन्दा बढी देशहरूमा आफ्नो उत्पादन निर्यात गर्दै आएको छ ।
विश्वव्यापी बजारमा प्रवेश गरिसकेको कम्पनीले सर्वसाधारणका लागि आईपिओ जारी गर्ने प्रक्रिया अघि बढाएको एशियन थाई फूड्सका प्रबन्ध निर्देशक महेश जाजुले बताए ।
‘हिमालयन सेक्युरिटीज बैंकलाई एशियन थाई फूड्स लिमिटेडको तर्फबाट आईपीओको बिक्रीका लागि बिक्री प्रबन्धक नियुक्त गर्ने सम्झौता सम्पन्न भएको छ’ जाजुले भने, ‘यो कदमले हाम्रो विश्वब्यापी यात्रालाई अझ बलियो र रोमाञ्चक अध्यायको सुरूवात हुने अवस्थामा पुर्याएको छ ।’
एसियन थाई फूड्सले गत वर्ष मात्रै करिब ५ अर्बको व्यापार गरेको जनाइएको छ ।
कम्पनीले हरेक वर्ष आम्दानीको अवस्थामा सुधार गर्दै लगेको छ । बलियो संस्थापक र व्यवस्थापन टिमका कारण इक्राले गरेको रेटिङमा कम्पनीले इक्रा एनपी ए२ रेटिङ पाइसकेको छ ।
आईपीओ बिक्रीसम्बन्धी योजना एक महिनाभित्रै सार्वजनिक गरिने कम्पनीको भनाइ छ ।
View : 409
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved