Biratnagar, Morang, Nepal
५ साउन २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
वातावरण

निजी वनको रुख काट्ने अनुमति लिएर सामुदायिकको रुख काटेपछि...

उद्‌घोष संवाददाता
३१ साउन २०८१, बिहिवार

Advertisement

नवलपरासी, ३१ साउन । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा निजी वनको रुख काट्ने अनुमति लिएर सामुदायिक वन र सार्वजनिक स्थानमा भएको खयरका रुख कटानी भएको छ । 

कालीगण्डकी करिडोरमा पर्ने जिल्लाको बौदीकाली गाउँपालिका–१ र बुलिङटार गाउँपालिका–६ मा रहेका खयरका रुख काटिएका हुन् । खयरको रुख कटानीबाट गाउँको एउटा डाँडो नै रित्तिएको स्थानीयको भनाइ छ ।

निजी वनको रुख कटान गर्ने अनुमति लिएर सामुदायिक वन र सार्वजनिक स्थानको रुख काट्ने व्यक्तिलाई पक्राउ गरी डिभिजन वन कार्यालय कावासोतीमा बुझाइएको प्रमुख जिल्ल अधिकारी अरुण पोखरेलले जानकारी दिए । 
“दुई पालिकाको दुई वडामा पर्ने सामुदायिक वन र सार्वजनिक स्थानमा रहेका खयरका रुख कटानी भएको सूचना पाएपछि ठेकेदारसहितका केही व्यक्तिलाई पक्राउ गरेका छौँ” उनले भने, “पक्राउ परेकाहरुलाई कारबाहीका लागि डिभिजन वन कार्यालयलाई बुझाएका छौँ ।” 

डिभिजन वन कार्यालयले अनुसन्धान अधिकृत तोकेर घटनाको बारेमा अध्ययन गरिरहेको प्रजिअ पोखरेलले बताए । 

डिभिजन वन कार्यालय नवलपुरका प्रमुख डिभिजन वन अधिकृत वसन्त केशव अधिकारीले घटनामा संलग्न ६ जना पक्राउ परेका जानकारी दिए ।

“अवैध रुपमा रुख कटानी गरेको उजुरीको आधारमा ठेकेदारसहित ६ जनालाई पक्राउ गरिएको छ” उनले भने, “घटनामा संलग्न दुई जना फरार छन्, उनीहरुको खोजीकार्य जारी छ ।” ठेकेदारले अवैध रुपमा रुख कटानी गरे पनि बिक्री गर्न नपाएको उनको भनाइ छ । 

बुलिङटार गाउँपालिकाका पूर्व अध्यक्ष शशिकिरण बस्ताकोटीले काटिएका खयरका रुखमध्ये आधाभन्दा बढी बिक्री भइसकेको बताए ।

“करिडोरसँगै पर्ने स्थानको सामुदायिक वनबाट काटिएका खयरको रुखमध्ये ६ ट्रक बिक्री भइसकेको छ”, उनले भने, “कटानी भएको ठाउँमा अब साढे दुई ट्रक जति काठ बाँकी छ ।”   रासस
 

View : 460

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved