Biratnagar, Morang, Nepal
२९ पुष २०८१, सोमवार
+977 21 450305, 515728, 578305
समाज

‘प्यारालाइसिस’ एञ्जिलाको उपचारमा सहयोगको अपिल

उद्‌घोष सम्वाददाता
१५ भदौ २०८१, शनिवार

खोटाङ, १५ भदौ । देब्रेतिरको हात र खुट्टा नचल्ने समस्याबाट बिरामी बराहपोखरी गाउँपालिका–१ बराहपोखरीकी एञ्जिला परियारको उपचारका लागि सहयोग जुटाउन अभियान थालिएको छ ।

मस्तिष्कघातबाट प्यारालाइसिस भएपछि हाल नोबेल अस्पताल विराटनगरमा आइसीयूमा राखेर उपचार गराइरहेकी एञ्जिलाको सहयोगार्थ बाराहापोखरी सेवा समाज खोटाङ, काठमाडौँको पहलमा सहयोग सङ्कलन सुरु गरिएको हो ।

विपन्न परिवारका एञ्जिलाको उपचारका लागि अझै  सात लाख उपचार खर्च लाग्ने भएपछि भदौ ९ गतेदेखि ‘एञ्जिला परियार बचाऔँ अभियान’ थालिएको अभियानका संयोजक इन्द्रबहादुर लिमेलले बताए ।

एञ्जिलालाई उदयपुरको गाईघाट हुँदै विराटनगर पुर्याएपछि मस्तिष्कघात भएको र त्यही कारण देब्रेहात र खुट्टा नचल्ने समस्या भएको पुष्टि भएको थियो ।

एञ्जिलाको साउन ३२ गतेदेखि नोबेल अस्पतालमा आइसीयूमा राखेर उपचार भइरहेको बुबा मनोज परियारले जानकारी दिए ।

“घरकी माइली छोरी एञ्जिलालाई सुरुमा केही दिन ज्वरो आएको थियो । औषधोपचार गरेपछि ठिक भएको थियो ।

पुनः तीन/ चार दिनपछि कडा ज्वरो आएपछि देब्रे हात र खुट्टा चल्नै नसक्ने अवस्थामा पुगेको छ”, उनले भने, “एञ्जिलालाई अझै दुई हप्ता आइसीयूमा राखेर उपचार गर्नुपर्ने उपचारमा संलग्न स्वास्थ्यकर्मीले बताएका छन् ।

घरको अर्थावस्थाले धान्ने स्थिति छैन ।

त्यसैले छोरीको जीवनरक्षाका लागि सबैसँग हात फैलाएका हौँ ।”

एञ्जिलालाई सहयोग गर्न बराहापोखरी सेवा समाजको खातामा जम्मा हुनेगरी क्यूआर गरेर सहयोग रकम प्रदान गर्ने व्यवस्था मिलाइएको छ ।

एञ्जिलाको सहयोगार्थ स्वदेशदेखि विदेशसम्म अभियान्ता तोकिएको संयोजक लिमेलले बताए ।

परिवारको अर्थावस्था दयनीय भएको भन्दै वडा कार्यालय बराहपोखरीले पनि आर्थिक सहयोग गर्न भदौ २ गते सिफारिस दिएको थियो ।

वडा कार्यालयले दिएको सिफारिसका आधारमा ‘एञ्जिला परियार बचाऔँ अभियान’ थालिएको संयोजक लिमेलले जानकारी दिए । रासस
 

View : 127

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved