सुनसरी । एक महिनादेखि अवरुद्ध बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बहिरङ सेवा आइतबारदेखि सुचारु भएको छ ।
प्रतिष्ठानमा आन्दोलनरत शिक्षक, कर्मचारी र चिकित्सक एक महिनापछि काममा फर्किएसँगै आइतबारबाट सेवा सुचारु भएको हो । शनिबार साँझ सहमती भएपछि आन्दोलनका कारण अवरुद्ध बनेको बहिरङ (ओपीडी) सेवा र विद्यार्थीको पठनपाठन सञ्चालनमा आएको हो ।
गत पुस २९ गतेदेखि शिक्षक, कर्मचारी र चिकित्सकले आन्दोलन शुरू गरेका थिए । उनीहरूले बढुवाको प्रक्रिया शुरू गर्न माग गर्दै कामकाज ठप्प पारेका थिए । प्रतिष्ठान व्यवस्थापनसँग ६ बुँदे सहमति भएपछि विद्यार्थी र कर्मचारीहरुले आन्दोलनका कार्यक्रम स्थगित गरी काममा फर्किएका हुन् ।
नियमित वृत्ति विकासको माग गर्दै आन्दोलनरत शिक्षक तथा कर्मचारी र पठनपाठन नियमित हुनुपर्ने मागसहित रिले अनसनमा रहेका विद्यार्थी तथा प्रतिष्ठान व्यवस्थापनबीच गतिरोध अन्त्य गर्ने सहमति भएको थियो ।
सहमतिअनुसार २०७९ पुस २० तथा २०७९ माघ २५ मा प्रतिष्ठानद्वारा प्रकाशित विज्ञापन बमोजिम सुरु भई स्थगित रहेको अन्तर्वार्ता आगामी फागुन ११ गतेदेखि सुरु गरी तालिका बमोजिम नै सम्पन्न गर्न प्रतिष्ठान सहमत भएको छ । अन्तर्वार्ता समाप्त भएको मितिले १ साताभित्र नतिजा प्रकाशित गरिने सहमति भएको छ ।
यस्तै, आन्दोलनमा उत्रिएका शिक्षक तथा कर्मचारीप्रति प्रतिष्ठान व्यवस्थापन पक्षले कुनै कारबाही नगर्ने, कानुनी झमेला आइपरे प्रतिष्ठानले आवश्यक सहयोग गर्ने र भविष्यमा पठनपाठनलाई असर पर्ने कुनै पनि गतिविधि नगर्ने प्रतिबद्धता पनि दुवै पक्षले जनाएको शिक्षक कल्याण समाजका अध्यक्ष डा शेराज अहमद खानले जानकारी दिए ।
View : 385
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved