Biratnagar, Morang, Nepal
२६ पुष २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
कोशी

अधिकारीविरुद्ध फेरि सर्वोच्चमा पर्यो निवेदन

उद्‌घोष सम्वाददाता
२१ मंसिर २०८१, शुक्रवार

विराटनगर । कोशी प्रदेशका पूर्वमन्त्री एवम् एमाले सांसद लीलाबल्लभ अधिकारीविरुद्ध रिट दर्ता गर्ने कि नगर्ने भन्ने विषयमा सर्वोच्च अदालतमा आइतबार सुनुवाई हुने भएको छ । 

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अधिकारीमाथि मुद्दा नचल्ने सरकारी वकिल कार्यालय काठमाडौंको  निर्णय बदर हुनुपर्ने र पुनः अनुसन्धान हुनुपर्ने माग राख्दै मंसिर १४ मा  रिट निवेदन पेश गरेका थिए । 

त्यो निवेदन दरपीठ (दर्ता नहुने)  निर्णय सर्वोच्च प्रशासनले गरेको थियो । त्यसविरुद्ध त्रिपाठीले अर्को निवदेन दर्ता गराएपछि यसबारे आइतबार सुनुवाई हुने भएको हो ।  

उक्त दरपीठ आदेशलाई बदर गर्दै सुनुवाइका लागि बिहीबार निवेदन दर्ता भएको अधिवक्ता त्रिपाठीले जानकारी दिएका छन् । उनका अनुसार सो निवेदनमाथि मंसिर २३ गते आइतबार सुनुवाइका लागि पेशी तोकिएको छ । अधिकारीलाई मुद्दा नचल्ने भन्ने  निर्णय बदनियतपूर्ण भएकाले तत्काल बदर हुनुपर्ने त्रिपाठीको  माग छ । 

पूर्वमन्त्री अधिकारी जापानको टोकियो महानगर र आर्ट काउन्सिल टोकियोले आयोजना गरेको एक कार्यक्रममा सहभागी हुन भन्दै ११ कात्तिकमा जापान उडेका थिए ।

उनले असम्बन्धित व्यक्तिलाई आफूसँगै कार्यक्रममा लगेको आरोप लागेको थियो । उनीसँगै जापान गएका तीन जना  विमानस्थलको अध्यागमनमा केरकारमा परेका थिए । जापानको अध्यागमनले मन्त्री अधिकारीसहित तीन जनालाई नै डिपोर्ट (देशनिकाला) गरिदिएको थियो । अहिले ती तीन जना धरौटीमा रिहा भएका छन् । 

सो घटनामा थप अनुसन्धान गर्न प्रहरीले अधिकारीलाई कात्तिक २५ गते विराटनगरबाट पक्राउ गरेको थियो । सोही घटनामा अन्य ११ जनाविरुद्ध भने मुद्दा दायर भएको थियो ।

View : 90

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved