Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्र सुदृढीकरणमा एकजुट बनौं : मुख्यमन्त्री कार्की

उद्‌घोष संवाददाता
३ असोज २०८२, शुक्रवार

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्र सुदृढीकरणका निम्ति सबै एकजुट भएर अघि बढ्नुपर्ने बताएका छन् ।

संविधान दिवस २०८२ को सन्दर्भ पारेर शुक्रबार आन्तरिक मामिला तथा कानुन मन्त्रालय परिसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले सात दशकको संघर्ष र बलिदानपछि जारी भएको संविधानलाई संघीय लोकतान्त्रिक गणतन्त्रको आधारस्तम्भ बताए । संविधानको रक्षा सबैको साझा जिम्मेवारी भएको बताए ।

मुख्यमन्त्री कार्कीले संविधान कार्यान्वयनका क्रममा देखिएका समस्यालाई संशोधनमार्फत समाधान गर्दै राजनीतिक स्थिरता, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम गर्नुपर्ने बताए । 

युवाहरूको ऊर्जा, सिर्जनशीलता र सीपलाई सदुपयोग गर्दै समृद्ध नेपालको राष्ट्रिय आकांक्षा पूरा गर्न कोशी प्रदेश सरकार प्रतिबद्ध रहेको उनले बताए ।

भदौ २३ र २४ गते देशव्यापी चलेको जेनजी आन्दोलन र त्यस पश्चात उत्पन्न अवस्थालाई मध्यनजर गर्दै यसपटक तामझाम नगरी सामान्य कार्यक्रम गर्दै संविधान दिवस मनाइएको हो । सो अवसरमा मुख्यमन्त्री कार्कीले मन्त्रालय परिसरमा राष्ट्रिय झण्डाको झण्डोत्तोलन समेत गरेका थिए । 

असोज ३ गतेको दिनलाई नेपालको संविधान कार्यान्वयनको ऐतिहासिक दिनका रूपमा स्मरण गरिन्छ । २०७२ साल असोज ३ गते तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले संविधानको प्रमाणीकरण गरेका थिए ।

नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई संस्थागत गर्दै संघीय, प्रादेशिक र स्थानीय तहमार्फत शासन प्रणालीको ढाँचा तय गरेको छ । 

संविधान दिवसलाई लोकतन्त्र र गणतन्त्रको रक्षागर्ने, राष्ट्रिय एकता सुदृढ गर्ने र समावेशी समाज निर्माण गर्ने अवसरका रूपमा लिइने गरिएको छ । 

यद्यपि संविधानले सबै वर्ग, जाति र समुदायको अधिकार सुनिश्चित नगरेको भन्दै कतिपय पक्षले असन्तोष पनि प्रकट गर्दै आएका छन् । मधेसवादी दल र आदिवासी जनजाति संगठनहरूले अझै संविधानमा आवश्यक संशोधन हुनुपर्ने माग गर्दै आएका छन् । 

View : 503

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved