विराटनगर । निजी ऊर्जा उत्पादकहरूले निर्माण गरेको मुलुककै दोस्रो ठूलो जलविद्युत आयोजना तल्लो सोलु हाइड्रोले परीक्षण उत्पादन सुरु गरेको छ । परीक्षण उत्पादन सुरु भएसँगै राष्ट्रिय ग्रिडमा ८२ मेगावाट विद्युत थपिएको छ ।
सोलुखुम्बुको सोलुखोला बेसिनमा सोलु हाइड्रोपावर कम्पनीले निर्माण गरेको आयोजनामा जडित ४१ मेगावाट क्षमताका दुईवटा टर्बाइनबाट मंगलबारदेखि विद्युत उत्पादन गरी राष्ट्रिय प्रशारणमा पठाएको जनाइएको छ ।
ल्हेन्दे खोला र भोटेकोशीको बाढीले १११ मेगावाट क्षमताको रसुवागढी हाइड्रोसहित १० वटा जलविद्युत आयोजनामा क्षति पुग्दा नेपाल विद्युत प्राधिकरणले २५० मेगावाट विद्युत् गुमाउँदै आएको छ । यस्तो बेलामा तल्लो सोलु हाइड्रोले मंगलबारदेखि परीक्षण उत्पादन गरेको ८२ मेगावाट विद्युत सोलु करिडोरमार्फत राष्ट्रिय प्रशारणमा जोडिएको हो ।
नेपाल विद्युत प्राधिकरणको निगरानीमा १५ दिनसम्म परीक्षण उत्पादन गरिने जनाइएको छ । आयोजनाले व्यवसायिक उत्पादन घोषणा गर्न औपचारिक उद्घाटन गर्ने तयारी समेत अघि बढाएको छ । आयोजनाका अनुसार कुनै बाधा अवरोध नआए आगामी अगष्टको पहिलो साताभित्रै व्यावसायिक उत्पादन हुनेछ ।
आयोजनाको सम्पूर्ण संरचनाको निर्माण सम्पन्न भएपश्चात परीक्षणको सवै काम सम्पन्न भएर दुईवटै टर्बाइनबाट विद्युत उत्पादन सुरु भएको तल्लो सोलु हाइड्रोपावरका आयोजना प्रमुख श्रीधर खनालले जानकारी दिए । उनले दुवै युनिटबाट उत्पादित विद्युत राष्ट्रिय प्रशारणको ग्रिडमा जोडिएको बताए ।
‘पहिलो युनिटबाट आइतबारदेखि परीक्षण उत्पादन भएको थियो, मंगलबारदेखि दुवै युनिटबाट विद्युत उत्पादन गरी राष्ट्रिय ग्रिडमा पठाइएको छ’ आयोजना प्रमुख खनालले भने, ‘आयोजनाको दुवै युनिटको छुट्टाछुट्टै परीक्षण सफल भएको छ, अहिले एकैचोटी दुवै युनिटबाट विद्युत उत्पादन गरेर १५ दिन परीक्षण हुनेछ, त्यसपछि व्यवसायिक उत्पादनको घोषणा हुनेछ ।’
परीक्षण उत्पादनको समयमा जलविद्युत आयोजनाले प्राधिकरणलाई १५ दिनसम्म सित्तैमा विद्युत दिनुपर्ने व्यवस्था रहेको छ ।
तल्लो सोलु जलविद्युत आयोजनाको हेडवक्र्स (बाँध) सोलुदुधकुण्ड नगरपालिका–७ साल्मेमा अवस्थित छ । त्यहाँबाट ४ दशमलव २ किलोमिटर सुरुङ मार्ग र २ किलोमिटर लामो भूमिगत पाइपलाइनमार्फत वडा नम्बर ११ स्थित भदौरेमा रहेको विद्युत् गृहमा पानी झारेर विद्युत् उत्पादन गरिएको हो ।
१७ अर्ब रूपैयाँको लागतमा सन् २०१६ देखि निर्माण कार्य सुरु भएपनि सुरुङ मार्ग निर्माणका क्रममा आएको पहिरो र कोभिड लगायतका कारणले आयोजनाको निर्माण सम्पन्न गर्न आठ बर्ष लागेको छ । यद्यपि सेप्टेम्बर २०२५ भित्रै आयोजना सम्पन्न गर्ने लक्ष्य अनुसार त्यसको दुई महिना अघि नै परीक्षण उत्पादन सुरु गरिएको जनाइएको छ ।
बर्षायाममा ८२ मेगावाटकै जडित क्षमतामा विद्युत उत्पादन गर्ने तल्लो सोलुबाट हिउँद याममा भने २३ मेगावाट विद्युत उत्पादन हुनेछ । पावर हाउसबाट तिङ्ला सवस्टेशनसम्मको नवनिर्मित ४ दशमलव १२ किलोमिटर लामो १३२ केभी डबल सर्किट प्रशारण लाइन समेत ‘चार्ज’ भएको छ ।
तल्लो सोलु जलविद्युत आयोजनामा नेदरल्याण्डस् डेभलपमेन्ट बैंक र ओपेक फन्ड फर इन्टरनेशनल डेभलपमेन्ट बैंकमार्फत वित्तीय स्रोत सुनिश्चित गरिएको हो । अन्तर्राष्ट्रिय लगानी रहेका कारण नेपाल विद्युत् प्राधिकरणले आयोजनाको पीपीए डलरमा गरेको छ । सरकारले यो आयोजना ‘सुपर सिक्स’ मा राखेर प्रतिष्पर्धामार्फत लगानीकर्ता छनौट गरी निर्माणको अनुमति दिएको थियो ।
यो आयोजनाभन्दा तल निजी ऊर्जा उत्पादककै प्रयासमा निर्मित मुलुककै सवैभन्दा ठूलो ८६ मेगावाट क्षमताको सोलु दूधकोसी हाइड्रोपावरले समेत व्यवसायिक उत्पादन गरिरहेको छ । दुवै ठूला आयोजना ‘रन अफ रिभर’ (नदीको बगाइको बेग) मा आधारित छन् ।
View : 446
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved