Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
समाज

एसईई मौका परीक्षा दिने विद्यार्थीलाई निःशुल्क ट्यूसन पढाउँदै एउटा समूह

उद्घोष सम्वाददाता
२० साउन २०८१, आइतवार

ट्युसनमा शनिबारबाट सञ्चालन गरिएको एसईईको मौका परीक्षाको अभ्यासमा सहभागी विद्यार्थी । तस्वीर: उद्घोष

विराटनगर । मोरङको कटहरी गाउँपालिकामा आगामी एसईई मौका परीक्षाका लागि ८० जना विद्यार्थीलाई स्थानीय युवाले निःशुल्क ट्युसन पढाइरहेका छन् । कटहरीका तीन वटा माध्यमिक विद्यालयबाट यस वर्षको एसईई परीक्षामा १५ जनामात्रै उत्तीर्ण भएपछि स्थानीय युवाले निःशुल्क ट्युसन सञ्चालन गरेका हुन् ।

कटहरीबाट यस वर्ष एक सय ६० विद्यार्थी एसईईमा सहभागी थिए । अबको मौका परीक्षामा धेरैलाई उत्तीर्ण गराउन ट्युसनमा सहभागी विद्यार्थीले कति थप शिक्षा पाए भनेर शनिबारबाट प्रि–परीक्षा लिन पनि थालिएको छ । यो परीक्षाले पनि आगामी मौका परीक्षालाई सहयोग पुग्ने बताइएको छ ।

प्रि–परीक्षाले विद्यार्थीलाई आगामी मौका परीक्षामा उच्च मनोबलका साथ जानेका कुरा लेख्न सक्ने अभ्यास हुने बताइएको छ । कटहरीका शिक्षाप्रेमीहरूको समूहले मासिक एक लाख रुपैयाँ संकलन गरेर विद्यार्थीलाई बिहान ७ देखि १० बजेसम्म कटहरी–४ को खयरवना आधारभूत विद्यालयमा पढाउँदै आएको छ ।

ट्युसन पढाउने समूहका संयोजक गोकुल भट्टराईले निजी विद्यालयका विद्यार्थी उत्तीर्ण हुने र सामुदायिकका अनुत्तीर्ण हुने समस्या रहेकाले थप शिक्षा दिन ट्युसन सञ्चालन गरिएको बताए । यो ट्युसन विद्यालयले नै सञ्चालन गर्ने कोचिङ कक्षा जस्तै हो । गएको आर्थिक वर्षमा कटहरी गाउँपालिकाले शिक्षामा सवा करोड रुपैयाँ लगानी गरेको थियो ।

उनका अनुसार विद्यालयबाट बाहिरिएपछि विद्यार्थीले नियमित अध्यन गर्न पाउँदैनन् । ग्रामीण क्षेत्रका विद्यार्थी भएकाले शिक्षामा दिनुपर्ने समय परिवारलाई दिनुपर्ने बाध्यता छ ।

गरिबीका कारण कतिपय अभिभावकले चाहेर पनि छोराछोरीलाई विद्यालय बाहिर अतिरिक्त शिक्षा दिलाउन सकेका छैनन् । यो अवस्थामा आफूहरूले अभिभावकको जिम्मेवारी लिएर थप शिक्षा दिने अभियान चलाइएको भट्टराईको भनाइ छ ।

भट्टराईको समूहका मनोज कार्की, दीपक यादव, सरोज पोखरेल र संजीत साह सदस्य छन् । विद्यार्थीलाई राकेशराज घिमिरे, बिराज बराल, दिलिप बजगाईं र पशुपति नेपालले पढाउँदै आएका छन् । उनीहरूले ट्युसनमा सबै विद्यालय पढाउँछन् । निःशुल्क ट्युसनबाट कटहरीका तीन र विराटनगरका दुई सामुदायिक विद्यालयका विद्यार्थीले शिक्षा लिदैछन् ।

कटहरीका विद्यार्थीलाई निःशुल्क शिक्षा दिने अभियान थालिएपछि विराटनगरमा पढेका विद्यार्थी पनि कक्षामा उपस्थित हुन थाले । विद्यार्थी जहाँबाट आए पनि पढाउने समूहका सदस्य मनोज कार्कीले बताए ।

विद्यार्थीलाई ट्युसन पढाउने शिक्षकलाई दिइने पारिश्रमिकको खर्च समूहका सदस्यहरूले व्यक्तिगत संकलन गर्छन् । यो अभियानलाई नियमित गर्ने लक्ष्य रहेको उनीहरूको भनाइ छ ।

आगामी एसईई परीक्षालाई लक्षित गरेर तिहारपछिदेखि जति पनि विद्यार्थीलाई ट्युसन पढाइले समूहले जनाएको छ । निजी विद्यालय पढाउन नसक्ने अभिभावकका विद्यार्थी सरकारी विद्यालयबाट फेल भएकाले उनीहरूको उच्च शिक्षाको यात्रामा सहयोग गर्न अभियानलाई निरन्तरता दिइने उनीहरूले बताएका छन् ।

View : 164

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved