Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

विशेष महाधिवेशनमार्फत कांग्रेसमा ‘डिपार्चर’

गगनलाई सभापति र प्रधानमन्त्री बनाउन विश्वप्रकाशको प्रस्ताव

उद्‌घोष संवाददाता
३० पुष २०८२, बुधवार

विराटनगर । मुलुकको सबैभन्दा पुरानो लोकतान्त्रिक दल नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले विभिन्न मुद्दामा महत्वपूर्ण ‘डिपार्चर’ को घोषणा गरेको छ । 

सभापतिसमेत वडा तहबाटै छानिएर आउनुपर्ने प्रस्तावदेखि हरेक तहका उम्मेद्वार पार्टी सदस्यहरुले नै छान्ने लोकतान्त्रिक शैली अंगाल्ने घोषणा विशेष महाधिवेशनले गरेको छ । 

कांग्रेसको दोस्रो विशेष महाधिवेशनले पार्टी सुधार र राज्यसंयन्त्र सुदृढीकरणको दिशामा ऐतिहासिक निर्णय गर्दै नयाँ राजनीतिक कोर्स तय गरेको छ । 

भृकुटीमण्डपमा मंगलबार अबेर सम्पन्न बन्दसत्रले शासकीय सुधार, दलीय अनुशासन, संवैधानिक निकायको स्वायत्तता र लोकतान्त्रिक अभ्यासलाई संस्थागत गर्ने स्पष्ट म्याण्डेट दिएको छ । 

दुवै महामन्त्रीका प्रतिवेदनमा देशको शासकीय सुधार, दलीय सुधार र संवैधानिक निकाय सुधारका साझा एजेन्डा समेटिएका छन् । 

दुई पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने व्यवस्था, समानुपातिकतर्फ एक व्यक्ति एक पटक मात्र सांसद बन्न पाउने प्रावधान, पार्टीभित्र प्राइमरी निर्वाचनमार्फत उम्मेदवार चयन, निर्वाचनपूर्व गठबन्धन नगर्ने नीति, विश्वविद्यालय र संवैधानिक निकायलाई राजनीतिक भागबण्डाबाट मुक्त गर्ने व्यवस्था, राजनीतिक दललाई राज्यकोषबाट अनुदान दिने प्रणाली, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सुदृढ बनाउने र सार्वजनिक सेवा प्रवाहलाई डिजिटल तथा समयबद्ध बनाउने प्रस्ताव पारित भएका छन् ।

बन्दसत्रको समापनलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा कांग्रेसको नेतृत्व र मुलुकको प्रधानमन्त्रीका रूपमा गगन थापालाई अघि सारेर जानुपर्ने स्पष्ट प्रस्ताव गरेका छन् । 

उनले पार्टीभित्र लोकतान्त्रिक र स्वस्थ प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्दै कांग्रेसलाई निर्वाचनमा होम्ने दृढता प्रकट गरेका छन् । 

‘सबैलाई लोकतान्त्रिक ढंगले र स्वस्थ प्रतिस्पर्धामा अघि बढ्न आग्रह गर्दै नेपाली कांग्रेस अब पार्टीको नेतृत्व र मुलुकको प्रधानमन्त्री बन्ने गरी गगन थापालाई अगाडि लिएर जान्छ भन्ने कुरा जनतासमक्ष स्पष्ट रूपमा लैजानुपर्छ’ शर्माले भने । 

निर्वाचन आयोगले विशेष महाधिवेशनले कस्तो म्याण्डेट लिएर आयो भनेर हेर्ने भएकाले नेतृत्व चयन र निर्णयसहित आयोग पुग्नुपर्ने शर्माको भनाइ थियो ।

विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेका राजनीतिक प्रतिवेदन संशोधनसहित पारित भएका छन् । 

शर्माले आफ्नो प्रतिवेदनलाई ‘बदलिएको देश र बदल्नुपर्ने कांग्रेसः सद्भाव, सुशासन र समुन्नत नवीन यात्रा’ शीर्षक दिएका थिए भने महामन्त्री थापाले समसामयिक राजनीति र नीतिसम्बन्धी प्रतिवेदन पेस गरेका थिए ।

महामन्त्री थापाले पार्टीभित्र देखिएका सबै विवाद विशेष महाधिवेशनको हलभित्रै टुंगिनुपर्ने स्पष्ट अडान राखेका छन् । बन्दसत्रमा आफ्नो प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिंदै उनले बाहिर जति छलफल भए पनि अन्तिम निर्णय हलकै हुने बताएका हुन् ।

‘पार्टीभित्रका विषयहरू संवादबाट टुंग्याउने प्रयास भइरहेको छ । त्यो आवश्यक पनि थियो । तर अन्तिम निर्णय यो हलभन्दा बाहिर गएर हुँदैन’ थापाले भने– ‘यो विशेष महाधिवेशन हो । यसले जे निर्णय गर्छ, दुवै महामन्त्रीले त्यसलाई शिरोधार्य गर्छौं ।’

सोमबार प्रस्तुत प्रतिवेदनमाथि छलफल गर्न ९ वटा समूह बनाइएको थियो । ती समूहले मंगलबार आफ्ना निष्कर्ष र सुझाव प्रस्तुत गरेका थिए । तिनै सुझाव समेटेर प्रतिवेदन पारित गरिएको हो ।

सँगसँगै नयाँ केन्द्रीय समिति चयनको निर्वाचन प्रक्रिया सुरु भएको छ । मतदान बुधबार बिहान हुने छ । 

साबिकको विधान अनुसार एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीसहित पदाधिकारी चयन हुने छन् । 

सहमहामन्त्रीमा महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, मुस्लिम, थारू र पिछडिएका समुदायबाट प्रतिनिधित्व रहने व्यवस्था छ । खुलातर्फ ३५ जना केन्द्रीय सदस्य निर्वाचित हुने छन् ।

विशेष महाधिवेशनमा चौधौं महाधिवेशनका प्रतिनिधिमध्ये मृत्यु भएका र पार्टी छाडेका १ सय ५ जनाको संख्या घटाएर ४ हजार ६ सय ३८ मतदाता कायम गरिएको छ । 

चौधौं महाधिवेशनमा कुल ४ हजार ७ सय ४३ प्रतिनिधि थिए । यद्यपि विशेष महाधिवेशनमा करिब ६३ प्रतिशत प्रतिनिधि सहभागी भएका छन् ।

View : 132

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved