विराटनगर । प्रष्टतः दुई समूहमा विभक्त भएर चुनावी प्रतिष्पर्धा भएको मोरङ एमालेमा चुनावी तिक्तता घट्नुभन्दा बढ्दै गइरहेको छ । खासगरी आफूलाई संस्थापन पक्ष भन्दै चुनावी मैदानमा होमिएको समूहले निर्वाचन परिणामपछि गुटगत अभ्यासलाई निरन्तरता दिंदै अलग भेला गर्न थालेको छ ।
बुधबार विराटनगरमा संस्थापन समूहले भेला आयोजना गरेको छ । संस्थापन समूहबाट अध्यक्षको उम्मेदवार बनेर पराजित बनेका नेता राजकुमार ओझाले ‘जित्नेलाई बधाई दिन र हार्नेलाई सहानभूति प्रकट गर्न’ भेला आयोजना गरिएको दाबी गरेका छन् । तर, त्यो भेलामा पार्टीको जिल्ला नेतृत्वमा विजेता बनेका पदाधिकारीहरू र अजम्बर राई प्यानलबाट सदस्य जितेकाहरू भने कोही थिएनन् ।
ओझाले यसबारे पनि लुकाएनन् । ‘यो अस्ति चुनावमा हाम्रो टिमबाट चुनाव लडेकाहरूको मात्रै भेला थियो’, ओझाले स्वीकारे ‘चुनावी टिमको भेला भनेर बुझौं न ।’
संस्थापन समूहबाट अध्यक्षको चुनाव लडनुअघिसम्म ओझा पार्टीमा गुटगत अभ्यास हुन नहुने बताउँथे । ओझालाई अध्यक्ष बनाउन पार्टीको र राज्यसत्ताको शक्ति प्रयोग गर्ने नेताहरू नै भन्थे ‘गुटगत प्रतिष्पर्धा एमालेमा वर्जित छ । सहमतिमा नेतृत्व चयन गरौं ।’
केन्द्रदेखि प्रदेशसम्मका नेताहरूको यस्तो जोडबलका बीच विनोद ढकाल समूहले चुनावमै जाने अडान लियो । चुनाव भयो । अजम्बर राई नेतृत्वको प्यानलले पदाधिकारी र बहुसंख्यक सदस्यमा जित हात पार्याे ।
लगत्तै पराजित पक्षले भने आफ्नै पूर्व प्रतिबद्धता बिर्सेर गुटगत अभ्यास थालेको छ । अजम्बर राई नेतृत्वको एमाले जिल्ला कमिटीले बिहीबार पहिलो बैठक आयोजना गरेको छ ।
त्यो बैठकमा सचिवालय गठन गर्ने लगायतका एजेन्डा छन् । जिल्ला कमिटीको पहिलो बैठकमा टिम कसरी पेश हुने भन्ने रणनीति बुन्न बैठकको अघिल्लो दिन अलग्गै भेला गरेको सहभागी एक जनाले बताए ।
‘जिल्लामा निर्वाचित नयाँ नेतृत्व कुन रुपमा अघि बढ्छ, त्यसलाई कसरी ट्याकल गर्ने भन्नेबारे सामान्य छलफल भयो’, सहभागी एक जिल्ला सदस्यले भने ‘राजकुमार ओझा, परशुराम बस्नेत लगायतको सहभागिता थियो ।’
अजवम्बर राई, सागर थापा र सोमराज थापाहरू जिल्ला पदाधिकारीमा निर्वाचित भएपछि अहिले पार्टीको महानगर इन्चार्ज रहेका परशुराम बस्नेत, महानगर संगठन कमिटी अध्यक्ष रहेका रोहित कोइराला लगायतको समूहले सबैभन्दा धेरै क्षति महसुस गरेको बताउनेहरू एमालेमा छन् ।
मानगढ खानेपानीको विवादमा सागर थापा निलम्बनमा परेपछि तत्कालीन जिल्ला संगठन कमिटीले कोइराला नेतृत्वमा महानगरको पनि संगठन कमिटी बनाएको थियो ।
लामो समय विनोद ढकाल प्यानलमा रहेर एमालेभित्र सक्रिय रहेका बस्नेत र कोइराला ढकाल शक्तिहीन बन्दै गएपछि टाढिएका थिए ।
अहिले उनै ढकाल टिमले मोरङमा जित हात पारेपछि बस्नेत र कोइरालाहरूले असजिलो र असुरक्षा महसुस गरेको नेताहरू बताउँछन् ।
‘महानगर संगठन कमिटी भनेको पूरापूर जिल्ला कमिटी मातहतको संगठन हो, अब उनीहरूलाई स्वाभाविक रुपले त्रास त हुने नै भयो’, ती नेताले भने ‘बुधबारको भेला त्यो समूहको असुरक्षा भावको परिणाम पनि हुन सक्छ ।’
अन्यथा चुनावअघिसम्म दुई समूह भएर चुनाव लड्दा गुटबन्दी बढ्ने बताउने नेताहरू नै निर्वाचित जिल्ला कमिटीलाई सूचनासमेत नगरी गुट भेलामा लाग्नुको अरु अर्थ नभएको ती नेताले बताए ।
मोरङमा यसपटक चुनावी प्रतिष्पर्धा हुँदा केन्द्रका बहुसंख्यक ‘हेभिवेट’ नेताहरू एकातिर अनि विनोद ढकाल नेतृत्वको समूह अर्कोतिरको अवस्था थियो ।
अजम्बर राई नेतृत्वको प्यानललाई मोरङका नेता ढकालले साथ दिएका थिए भने राजकुमार ओझा नेतृत्वको प्यानललाई सिंगो पार्टी र ठूला नेताहरूको साथ थियो ।
यसरी प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र उनको समूहका सबै प्रभावशाली नेताहरूले समर्थन गरेको समूहलाई हराउँदै ढकाल समूहले मोरङ एमालेमा ठूलो जीत हात पारेपछि पराजित समूहलाई चुनावी परिणाम स्वीकार्न गाह्रो भएको ढकाल समूहका कार्यकर्ताले बताउँदै आएका छन् । यद्यपि नवनिर्वाचित उपाध्यक्ष सागर थापा भने भेला र बैठकहरूले पार्टीको एकतामा कुनै असर नपुग्ने बताउँछन् ।
‘हामी पार्टी बनाउन लाग्दैछौं, यो वा त्यो भन्ने व्यवहार नगरी हामी अघि बढ्ने छौं’, थापाले भने ‘पार्टी केन्द्रको निर्देशनअनुसार जिल्ला पार्टी सबैलाई साथ लिएर अघि बढ्नेछ ।’
View : 198
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved