Biratnagar, Morang, Nepal
१८ मंसिर २०८१, मङ्गलवार
+977 21 450305, 515728, 578305
समाज

एक सय ६२ सडक मानवको उद्धार

उद्घोष सम्वाददाता
२० कार्तिक २०८१, मङ्गलवार

गलकोट, २० कात्तिक । तेइस दिनअघि देखि प्रारम्भ भएको मानव सेवा आश्रमको मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा अभियान आज बागलुङ आइपुगेको छ ।

आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारी, उद्धार अभियानका सहयोगकर्ता आनीछोयङ्ग डोल्मा सहितको ५० सदस्यीय समूहले हालसम्म एक सय ६२ सडक मानवको उद्धार गरेको जनाएको छ ।

समूहले एक सय २१ पुरुष, ३६ महिलाका साथै  चारजना बालिका र एकजना बालकको उद्धार गरेको हो । 

अभियानकै क्रममा हाल गण्डकी प्रदेशमा उद्धार अभियान जारी रहेको अध्यक्ष अधिकारीले बताए ।

“पोखरामा दुई बालिकाको उद्धार गरेका छौँ”, उनले भने । 

यसैबीच, कार्यक्रममा बागलुङका स्थानीय तीर्थप्रसाद श्रेष्ठले निर्माणाधीन मानव सेवा आश्रमको भवन निर्माणका निम्ति एउटा कोठा बराबरको सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

धौलागिरिका चार जिल्ला कार्यक्षेत्र भएको बागलुङ शाखामा ६३ जना सहयोगापेक्षी आश्रित छन् ।

हाल मानव सेवा आश्रमको भवन बागलुङ नगरपालिका–४ निरयघाटमा निर्माणाधीन छ । 

चाडपर्वमा कोही सडकपेटीमा बस्न नपरोस् भन्ने उद्देश्यले मेची–महाकाली राष्ट्रिय उद्धार अभियान प्रारम्भ भएको हो ।

अभियानको खर्च गायिका आनीछोयङ्ग डोल्माले व्यहोर्नु भएको हो । 

मेची–महाकाली राष्ट्रिय उद्धार यात्रामा ५० जना यात्री छन् ।

केन्द्रले सातवटै प्रदेशका १९ जिल्लामा २५ वटा शाखामार्फत सेवा गर्दै आएका छ । रासस
 

View : 52

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved