विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजमा आयोजित कविता प्रतियोगितामा छात्रा मानसी पोखरेल प्रथम भएकी छन् ।
अगष्ट २९ अर्थात् आणविक हतियारविरुद्धको दिवसका अवरमा बिहीबार आयोजित ‘शान्तिका लागि निशस्त्रीकरण’ विषयक कविता प्रतियोगितामा सहभागी भएका ८० जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै कक्षा ११ की पोखरेल प्रथम भएकी हुन् ।
प्रतियोगितामा कलेजका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूले सहभागिता जनाएका थिए । प्रतियोगितामा इशान पौडेल, सिरिन भट्टराई र प्रतीक भट्टराई द्वितीय भए । सभ्यता रायमाझी, रितिक्षा भट्टराई, अपेक्षा राई र साम्राज्ञी बस्नेत तृतीय बने ।
त्यसैगरी अफ्रिन खातुन, अमित पटेल, रोशनकुमार मण्डल, रमण मण्डल, मर्यादा भट्ट, प्रगति अधिकारी, सशन दाहाल र समीर साहले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् ।
विश्वमा बढ्दै गएको आणविक हतियारको होडबाजीले मानव सभ्यतामाथि नै चुनौती थपिएको भन्दै कलेजले विद्यार्थी र अभिभावकमा दिवसको महत्व र उद्देश्यबारे जानकारी दिने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले बताए ।
प्रतियोगितामा साहित्यकार चूडामणि नेपाल ‘अकिञ्चन’, कवि एवं पत्रकार मीनकुमार नवोदित र डा. कमलकिशोर श्रीवास्तव रहेको तीन सदस्यीय निर्णायक समूहले प्रतिष्पर्धीहरुको कविताको मूल्याङ्कन गरेको थियो ।
विजेता प्रतियोगीहरुलाई कलेजका प्रिन्सिपल खड्कासहित विज्ञान संकायका संयोजक नवीन रोय, व्यवस्थापन संकायका प्रमुख शंकर भट्टराई, कलेजका निर्देशक भूपेन्द्र दाहाल, मणिराज भट्टराई र रामचन्द्र अधिकारीलगायतले नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए ।
View : 198
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved