विराटनगर । पूर्वपश्चिम राजमार्ग अन्तरगत सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ जलुवाटोल नजिकै बस र माइक्रो ठोक्किंदा चारजनाको मृत्यु भएको छ । सोमबार विहान भएको दुर्घटनामा १५ जना घाइते भएका छन् ।
काँकडभिट्टाबाट खोटाङको दिक्तेल जाँदै गरेको मे १ ख १७९९ नम्बरको यात्रुबस र विपरीत दिशाबाट आइरहेको प्रदेश २–०१–००१ ज ००४७ नम्बरको माइक्रो ठोक्किएर दुर्घटना हुँदा चारजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिए ।
मृत्यु हुनेमा सप्तरीको महादेवा गाउँपालिका-६ का ३५ वर्षीय शंकर मण्डल, सुनसरीको कोशी गाउँपालिका-६ का ७० वर्षीय लक्ष्मण सदा, विराटनगरका अशोक यादव र अन्दाजी ४५ वर्षीया एक महिला रहेको सुनसरी प्रहरीले जनाएको छ । मृतक सबै माइक्रोका यात्रु रहेको जनाइएको छ ।
घाइतेहरू मध्ये १० जनालाई विराटनगरस्थित गोल्डेन अस्पतालमा विराटनगर लगिएको छ । एकजनाको विराट टिचिङ हस्पिटलमा उपचार भइरहेको जनाइएको छ ।
बाँकी घाइतेहरूको न्युरो अस्पताल र नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
बस चालक झापा अर्जुनधारा नगरपालिका–१ का गोपाल अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
View : 401
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved