नेकपा एसको मोरङ अधिवेशन
विराटनगर । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ‘तानाशाही’ भएको आरोप लगाएर नथाक्ने नेकपा एकीकृत समाजवादीका नेताहरू आफै भने पार्टीभित्र लोकतान्त्रिक अभ्यासलाई सक्दो खुम्च्याउने मार्गमा अग्रसर देखिएका छन् ।
केन्द्रीय महाधिवेशनबाटै सुरू भएको एकीकृत समाजवादीभित्रको यस्तो अभ्यास जिल्ला–जिल्लासम्मै विस्तार भएको छ ।
यस्तो अभ्यासको ताजा उदाहरण बनेको छ, एकीकृत समाजवादी मोरङको नवौं जिल्ला अधिवेशन । जिल्लाको नयाँ नेतृत्व चयन गर्न भन्दै प्रतिनिधि बनेर आएका कार्यकर्ताहरूलाई एकीकृत समाजवादीले भूमिकाविहीन तुल्याइदिएको छ ।
नयाँ नेतृत्व चयन गर्न र आफू पनि दाबेदार हुन प्रतिनिधि बनेर आएकाहरूको अधिकार छिनेर नेताहरूले आफूले रोजेकै व्यक्ति नेतृत्वमा ल्याउने प्रयास गरेका हुन् । यद्यपि शनिबार साँझसम्म पनि नेताहरूको यस्तो प्रयास सफल हुन सकेको छैन ।
अध्यक्ष मण्डलमा रहेका एक नेताका अनुसार अहिलेकै जिल्ला अध्यक्ष चन्द्रबीर राईलाई अध्यक्ष र अध्यक्षका अन्य दुई दाबेदारहरू उद्धव पोखरेल र दीपक ढकाललाई उपाध्यक्ष राखेर नाम घोषणा गर्ने तयारी थियो । तर, केही प्रतिनिधिहरूले यदि त्यस्तो घोषणा भए अस्वीकार गर्ने चेतावनी दिएपछि अध्यक्ष मण्डलले नाम घोषणा गर्न ढिला गरिरहेको हो ।
अध्यक्ष मण्डलले सचिवमा तुलसी ढकाल, उपसचिवमा भूपाल बस्नेत, डीबी थापा र सुमित्रा राईको नाम घोषणा गर्ने तयारी गरेको छ । त्यस्तै कार्यालय सचिवमा प्रेमराज भारतीको नाम घोषणाको तयारी भएको छ । भारती सचिवमा मनोनयन दर्ता गरेका व्यक्ति हुन् ।
उपाध्यक्ष बनाउन लागिएका दीपक ढकालले चन्द्रवीरको उपाध्यक्ष बस्न नमानेको, बरू डा उद्धव पोखरेल अध्यक्ष भए आफू उपाध्यक्ष बस्न मान्ने बताएको भन्दै शनिबार सा“झ अर्को छलफल सुरू भएको छ ।
‘रातभरीमा केही नयाँ सहमति हुन्छ कि अध्यक्ष मण्डलले भनेकै नाम घोषणा हुन्छ टुंगो छैन’, एक नेताले भने ।
उम्मेदवारी दर्ता गराएका प्रतिनिधिहरूका अनुसार बलदेव चौधरी नेतृत्वको अध्यक्ष मण्डलले उम्मेदवारहरूको नामसमेत सार्वजनिक नगरी नाम घोषणाको बाटो रोजेको थियो ।
‘अधिवेशन सुरू भएको पाच दिन भइसक्यो, प्रतिनिधिहरू घर फर्केको पनि धेरै भइसक्यो नयाँ नेतृत्व चयनबारे के हुँदैछ प्रगति ? उद्घोषको प्रश्नमा पार्टीका सचिवसमेत रहेका अध्यक्ष मण्डलका अध्यक्ष बलदेव चौधरीले भने ‘प्रतिनिधिहरूले नयाँ नेतृत्व चयनको विषय अध्यक्ष मण्डललाई जिम्मा लगाएकाले तयारी भइरहेको छ । अब छिट्टै नयाँ नेतृत्व छानिन्छ ।’
उनले यसो भने पनि एकीकृत समाजवादीभित्र अध्यक्ष मण्डलले घोषणा गर्न तयार पारेको नाममा तीव्र असन्तोष छ । यही कारणले घोषणा गर्न ठीक पारिएको नाम पनि सार्वजनिक भएको छैन ।
‘अहिले अध्यक्ष मण्डलले तयार पारेको नाम घोषणा गर्नासाथ मोरङ पार्टींमा ठूलो असन्तोष र विग्रहको अवस्था हुन्छ’, एक नेताले भने ‘प्रतिनिधिहरूको हक अधिकार खोसेर नेताहरूले मनखुसी गर्न खोजे । यसको परिणाम ठीक हुँदैन ।’
केन्द्रीय नेताहरूले चाहेका व्यक्तिलाई जिल्ला नेतृत्वमा ल्याउनकै लागि यतिन्जेल समय लागेको कार्यकर्ताहरू बताउँछन् । तर, नेताहरू भने सहमतिमा नेतृत्व चयन गर्न केही समय लागेको दाबी गर्छन् ।
‘प्रतिनिधिहरूको सहमतिमै अध्यक्ष मण्डललाई जिम्मा लगाएको हो, समस्या केही छैन’, केन्द्रीय सदस्य निलम ढुंगेलले भनिन् ‘सहमतिमा नेतृत्व चयन हुन्छ । दाबेदारहरूबीचमै सहमतिका लागि समय दिदा केही ढिलाइ भएको हो । नेतृत्वले हस्तक्षेप गरेको भन्ने कुरा सत्य होइन ।’
अध्यक्ष माधवकुमार नेपालले चैत १९ मा विराटनगरमा उद्घाटन गरेको एकीकृत समाजवादीको नवौं जिल्ला अधिवेशन दुई दिनसम्म चल्ने कार्यक्रम थियो ।
चैत १९ मा उद्घाटन कार्यक्रम हुने र २० गते नेतृत्व चयन गरेर सकिने भनिएको अधिवेशनले अझै जिल्ला नेतृत्व छान्न सकेको छैन ।
अधिवेशनका लागि प्रतिनिधि बनेर आएकाहरूले निर्वाचनमार्फत नया नेतृत्व चयन गर्नुपर्ने माग गरेका थिए । तर, केन्द्रीय नेताहरूले चुनावी प्रतिष्पर्धा रोक्दा पाँच दिनसम्म पनि समाजवादीले जिल्ला नेतृत्व छान्न सकेको छैन ।
मंगलबार सुरू भएको अधिवेशनमा सहभागी हुन आएका प्रतिनिधिहरू बुधबार नै घरतिर लागिसकेका छन् । प्रतिनिधिलाई घर पठाएर नेताले नेतृत्व छान्ने अभ्यासले पार्टी बलियो नहुने भन्दै एकीकृत समाजवादीभित्र असन्तुष्टि तीव्र छ ।
एकीकृत समाजवादीको मोरङ अध्यक्षमा नौ जनाले उम्मेदवारी दर्ता गराएका थिए । अन्य पदमा पनि एकभन्दा बढी उम्मेद्वारी परेपछि मनोनयन सूची सार्वजनिक नगरी अध्यक्ष मण्डलले आफूखुसी नेता चयन गर्ने बाटो रोजेको थियो ।
‘ओलीको जे जे शैलीको विरोध गरेर नयाँ पार्टी बनाएको हो, ठीक त्यही त्यही शैली अपनाइएको छ’, एक प्रतिनिधिले भने ‘केन्द्रका नेताले चाहेकाहरूलाई बनाउन अधिवेशनलाई भूमिकाहीन बनाइयो ।’
केपी शर्मा ओलीको कार्यशैलीको विरोध गर्दै एमालेबाट विभाजित बनेको एकीकृत समाजवादीले पार्र्टी महाधिवेशनमा पनि नेताहरूले चाहेकै व्यक्तिहरू पर्ने गरी नाम घोषणा गरेको थियो ।
पछि नेताहरू आफैले छानेको केन्द्रीय कमिटीका सदस्यहरूले मत हालेर पोलिटब्यूरो छानेका थिए ।
View : 211
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved