Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

कोशीको बजेटमा मुख्यमन्त्री–मन्त्रीको मनपरी

कांग्रेसमा तीव्र विरोध, छलफलमा बोलेकै छैनन् सांसद

आइतबारको कांग्रेस संसदीय दलको बैठकमा बोल्ने सांसदहरुले उनलाई ‘तपाइँको जिल्लामा मात्रै बजेट चाहिने हो कि यो बजेट तपाइँको मात्रै पेवा हो’ भनेर मन्त्री राईलाई सोधेका थिए । उनी मौन रहेर सबै आरोप सहेर बसेका थिए ।
उद्‌घोष संवाददाता
९ असार २०८२, सोमवार

विराटनगर । मुख्यमन्त्री हिक्मतकुमार कार्की र केही मन्त्रीहरुले आफ्नो क्षेत्रमा मात्रै बजेट खन्याएको विषयले कोशी प्रदेशको सत्तारुढ दल नेपाली कांग्रेसभित्र तीव्र असन्तोष उत्पन्न गरेको छ । 

बजेटबारे प्रदेशसभामा छलफल चलिरहँदा असन्तुष्ट कांग्रेस सांसदहरुले छलफलमा भाग लिनसमेत अस्वीकार गरिरहेका छन् ।

कोशीमा मुख्यमन्त्री कार्की, भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राई र पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डल लगायतले बजेटको ठूलो हिस्सा आफ्नो क्षेत्रमा मात्रै केन्द्रीत गरेको, अन्यत्र बजेट विनियोजनमा मनपरी गरेको भन्दै कांग्रेस सांसदहरुले संसदीय दलभित्र चर्को विरोध गरेका छन् । 

आइतबार प्रदेशसभा संसदीय दलको कार्यालयमा आयोजित कांग्रेसको बैठकमा केन्द्रीय सदस्य अमृत अर्याल, संसदीय दलका उपनेता हिमाल कार्कीसहितका नेताहरुले बजेटमा मुख्यमन्त्री र भौतिक पूर्वाधार मन्त्रीले सबैभन्दा बढी बेइमानी गरेर बजेट विनियोजन गरेको भन्दै आपत्ति जनाएका छन् ।

संसदीय दलका उपनेता हिमाल कार्कीले दिएको जानकारी अनुसार संसदीय दलको बैठक सोमबार पनि जारी रहनेछ । आइतबार बोल्ने बहुसंख्यक सांसदहरुले बजेटमा मनपरी गरेको भन्दै आक्रोश पोखेका छन् । 

‘मुख्यमन्त्री, मन्त्री र केही नेताबाहेक बजेटसँग कोही सन्तुष्ट छैन’ उपनेता कार्कीले भने ‘दलको बैठकमा मैले पनि यही कुरा राखेँ । अरु सांसदले पनि यस्तै विषय राख्नुभयो ।’ 

त्यसो त उपनेता कार्कीले भने जस्तै मुख्यमन्त्रीकै दल एमालेका सांसद लीलाबल्लभ अधिकारीले आइतबार प्रदेशसभामा बोल्दै बजेटमा मन्त्रीहरुले ‘आफ्नो हात जगन्नाथ’ शैली देखाएको आरोप लगाए । 

मन्त्रीहरुको क्षेत्रमा केन्द्रीत गरेर बजेट आएको भन्दै सांसद अधिकारीले यस्तो बताएका हुन् । 

प्रदेशको सत्ता सहयात्री दल कांग्रेसभित्र त बजेटप्रति असन्तुष्टि यति चुलिएको छ कि तीन दिनयताको प्रदेशसभाको बैठकमा बजेटबारे कुनै पनि कांग्रेस सांसद बोलेका छैनन् ।

‘हामीले संसदीय दलमा छलफल गरेपछि मात्रै बोल्छौं भनेका थियौं, आइतबार दलको बैठक भयो । सबैले बोल्ने पालो नसकिँदा सोमबार फेरि बैठक बस्दैछ’ कोशीका सांसद एवम् पार्टीका केन्द्रीय सदस्य भीम पराजुलीले भने ‘आज जे जतिले बोल्नुभयो, सबैले बजेटको विरोध गर्नुभयो ।’ 

पराजुलीले पनि मुख्यमन्त्री र केही मन्त्रीका क्षेत्रमा बजेट खन्याइएको तर अन्यत्र ज्यादै नगण्य रुपमा मात्रै बजेट विनियोजन भएको भन्दै आक्रोश उच्च छ । 

आइतबार दलको बैठकमा कांग्रेस केन्द्रीय सदस्य अमृत अर्याल,उनेता कार्की,  सांसदहरु गयानन्द मण्डल, शमशेर राई, गोविन्द गिरी, मैया श्रेष्ठ, रामकुमार खत्री लगायतले संसदीय दलमा बोलेका थिए ।

‘बोल्नेहरु सबैको एकै निचोड छ, बजेटमा मुख्यमन्त्री र मन्त्रीहरुले आफ्नो जिल्ला र क्षेत्रमा जोड दिएका छन् । न्यायिक ढंगको वितरण छैन । यस्तो बजेट ल्याउने काम आपत्तिजनक छ भन्ने कुरा उठेको छ’ उपनेता कार्कीले भने ‘बैठक सोमबार पनि छ । कांग्रेसका मात्रै होइन, एमालेमा पनि मुख्यमन्त्री र मन्त्रीबाहेक सबै असन्तुष्ट छन् । व्यक्त गर्नु–नगर्नु बेग्लै कुरा हो ।’

कांग्रेस दलको बैठकमा सांसदहरुले दलका नेता उद्धव थापाको भूमिकामाथि पनि गम्भीर असन्तोष प्रकट गरेका थिए । 

खासगरी अमृत अर्याल, शमशेर राई लगायतका सांसदहरुले थापाको सम्झौतावादी चरित्र र नीतिकै कारण कोशीमा एमालेले कांग्रेसलाई हेपेको उनीहरुको भनाइ थियो । 

त्यसो त नेता अर्यालले यसअघि नै सार्वजनिक रुपमा नेता थापालाई प्रदेश सभापति पदमा जिताउन भूमिका गर्नु आफ्नो राजनीतिक जीवनको भूल भएको बताएका थिए । 

आइतबार पनि उनले त्यस्तै कुरा दोहोर्याएका थिए । सांसदहरुले यसरी आक्रोश पोखिरहँदा नेता थापा र मन्त्रीहरु मौन रहेर उनीहरुका कुरा सुनिरहेका थिए ।

बजेटमा पहुँचवालाको रजाइँ कतिसम्म छ भने अघिल्लो वर्षको बाढीमा पाँचथरमा सबैभन्दा ठूलो क्षति पुर्याएको खोला हो फेमे खोला । 

सदरमुकाम फिदिमको आधा भूभाग र उत्तरी पाँचथरका बहुसंख्यक नागरिकका लागि माग भइरहेको फेमे खोला पुलका लागि प्रदेश सरकारले जम्मा २० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । 

जबकि, मुख्यमन्त्री कार्कीको गाउँ गौरादह १ मा रहेको गौरादह पोखरीको सौन्दर्यकरणको नाममा मात्रै  प्रदेशले ४ करोड ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । 

केही समय अघिसम्म मुख्यमन्त्रीका दाइ एवम् संविधान सभा सदस्य दीपक कार्की अध्यक्ष रहेको पोखरीमा गत वर्ष पनि कोशी सरकारले ४ करोड रुपैयाँ विनियोजन गरेको थियो । 

त्यही पोखरीका लागि केन्द्रले पनि यसपटक २ करोड ७० लाख रुपैयाँ विनियोजन गरेको छ । 

गौरादह १ का वडाध्यक्ष नगेन्द्र भण्डारीले दिएको जानकारी अनुसार त्यो पोखरीमा यसअघि पनि प्रदेश सरकारले ३ करोड रुपैयाँ विनियोजन गरिसकेको छ । उनका अनुसार पोखरी सौन्दर्यकरणका लागि ३४ करोडको डिपिआर नै बनिसकेको छ ।

‘प्रतिफलविहीन पोखरीमा हरेक वर्ष प्रदेशको ठूलो बजेट खर्च भइरहेको छ,’ पूर्व अर्थमन्त्री तथा माओवादी नेता इन्द्र आङबोले भने ‘यसले आर्थिक पारदर्शिता र प्रतिफल के भन्ने प्रश्न गम्भीर रुपमा उठाएको छ ।’

आइतबार प्रदेशसभामा बोल्दै माओवादी सांसद गणेश उप्रेतीले कोशीका पर्यटन मन्त्री सदानन्द मण्डलले पर्यटन मन्त्रालयको कूल योजनामध्ये २५ प्रतिशत योजना आफ्नै क्षेत्रमा मात्रै पारेको आरोप लगाए । 

सुनसरी ४ को १ का सांसद रहेका मन्त्री मण्डल कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीका विश्वासपात्र हुन् । त्यस्तै खोटाङका सांसद रहेका भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राईलाई पनि आफ्नै क्षेत्रमा मात्रै मन्त्रालयको बजेट केन्द्रीत गरेको आरोप लागिरहेको छ । 

आइतबारको कांग्रेस संसदीय दलको बैठकमा बोल्ने सांसदहरुले उनलाई ‘तपाइँको जिल्लामा मात्रै बजेट चाहिने हो कि यो बजेट तपाइँको मात्रै पेवा हो’ भनेर मन्त्री राईलाई सोधेका थिए । उनी मौन रहेर सबै आरोप सहेर बसेका थिए । 

यी दृश्यले बजेटमा पहुँचवालाले मनपरी गरेको, जसको शक्ति उसैको भक्ति जस्तो भइरहेको देखाउने प्रदेशका पूर्व सांसद विमल कार्की बताउँछन् । प‘संघको होस् या प्रदेशको, उसको एक मात्र ध्येय आउँदो चुनाव कसरी जित्ने भन्ने भएको छ । 

अनि मौका पाउनासाथ सबैले आफ्नै क्षेत्रमा मात्रै बजेट खन्याउने भए,’ उनले भने ‘सांसद र मन्त्रीहरु ठेकेदार जसरी योजना र बजेटका लागि मरिहत्ते गर्ने अवस्था आउनु दुःखद् छ ।’ 

उनले भने जस्तै सर्वोच्च अदालतले नै रोक लगाइदिएको सांसद विकास कोष मोडेलको कार्यक्रममा रोक लगाइदिएपछि प्रदेशदेखि केन्द्रीय सरकारसम्मले घुमाउरो बाटोबाट सांसदलाई मनखुसी योजना छान्न लगाएका थिए ।

‘योजना आयोगको काम सांसदले गर्नुपरेपछि अब यो देश विधिमा चल्छ भनेर कसरी आशा गर्ने’ कोशी कांग्रेसका एक सांसदले भने ‘म कानुन निर्माता हो कि बजेटका लागि लविइङ गर्ने एजेन्ट आफ्नो भूमिकाप्रति नै प्रश्न गर्ने ठाउँमा आइपुगेको छ ।’

View : 499

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved