Biratnagar, Morang, Nepal
२९ पुष २०८१, सोमवार
+977 21 450305, 515728, 578305
समाज

दूध किसानले पाएनन् ७४ करोड भुक्तानी

उद्‌घोष सम्वाददाता
२९ भदौ २०८१, शनिवार

चितवन, २९ भदौ । यहाँका दुग्ध उत्पादक किसानले ७४ करोडभन्दा बढी भुक्तानी पाएका छैनन् ।

फागुन यतादेखिको भुक्तानी बाँकी रहेको छ ।
 
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेका अनुसार दुग्ध विकास संस्थानको मात्रै ३३ करोडभन्दा बढी भुक्तानी रोकिएको छ ।

जिल्लाका एक सय १५ सहकारी संस्थाले संस्थानसहित ४२ उद्योगलाई बिक्री गरेको दूधको भुक्तानी बाँकी रहेको हो ।
 
भुक्तानी माग गर्दै सङ्घले विभिन्न निकायमा पटकपटक ध्यानाकर्षण गराउँदा समेत भुक्तानी नपाएको बगाले बताउछन् ।

जिल्लामा दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुने गर्दछ । त्यसमध्ये एक लाख ५१ हजार लिटर दूध जिल्ला बाहिर जाने गर्दछ ।

बगालेका अनुसार काठमाण्डौं, पोखरा, मकवानपुर, भक्तपुर, ललितपुर लगायतका जिल्लामा यहाँबाट दूध जाने गरेको छ ।
 
दूधको भुक्तानी समयमा नहुँदा यसको प्रभाव प्रत्यक्ष रुपमा किसानमा परेको छ ।

डेरी उद्योगले दूध बिक्री नभएपछि पाउडर र नौनी बनाएर राखेका छन् ।

ती सामग्री बिक्री नहुँदा भुक्तानी गर्न नसकेको उद्योगहरुले जनाउँदै आएका छन् ।

यद्यपी बिक्री भएकाहरुले पनि भुक्तानी नगरेको किसानको गुनासो छ ।
 
यता गर्मी मौसमसँगै दूधको खपत बढेपछि यहाँको चितवन मिल्क उद्योगमा प्रशोधन गर्न दूध नपाउँदा उद्योग बन्द अवस्थामा छ ।

उद्योगले सहकारी र निजी फार्मबाट आएको दूध शुल्क लिएर प्रशोधन गरी पठाउने गरेको थियो ।

धुलो दूध र नौनी बिक्री नभएपछि उद्योगका गोदाम दुग्धजन्य पदार्थले भरिएका थिए ।

ती सामग्री घट्दै गएको भए पनि उद्योग भने सञ्चालन हुन सकेको छैन ।
 
उद्योगका प्रबन्धक दुर्गा पराजुलीले पाँच महिनादेखि उद्योग बन्द भएको बताए ।

दूध नपाएपछि गएको वैशाखबाट उद्योग बन्द भएको हो ।

विभिन्न सङ्घ संस्थालाई दूधका लागि आग्रह गरिएको भए पनि पाउन नसकिएको उनले बताए ।

एक पटक सञ्चालन गर्नका लागि कम्तीमा ४० हजार लिटर दूध आवश्यक पर्दछ ।

उद्योगले एक सिफ्टमा एक लाख लिटर दूध प्रशोधन गर्न सक्छ ।
 
सहकारी र फर्मले दूध नल्याएपछि आफैले दूध किनेर भए पनि मेसिन सञ्चालनका लागि उद्योग चलाउने योजनामा रहेको उनले बताए ।

गएको वर्ष यो मौसममा दूधको अभाव थिएन ।

अघिल्ला वर्षमा असार १५ बाट साउन मसान्तसम्म दूधको अभाव हुने भए पनि यो अवस्था नआएको पराजुली बताउछन्।
 
उद्योगमा ३३ जना कर्मचारी रहेका छन् ।

उद्योग सञ्चालन नहुँदासमेत मासिक १५ लाख खर्च हुने पराजुली बताउछन् ।

गत वर्ष प्रशोधन सामग्री सम्बन्धित सहकारी र फर्मले नलगेपछि दुई पटक झण्डै दुई महिना भण्डारणको अभावमा उद्योग बन्द गर्नु परेको थियो ।
 
केही दिन अघि उद्योगले २० हजार लिटर दूध खरिद गरेर मेसिन सञ्चालन गरेको थियो ।

मेसिन लामो समय बन्द रहँदा बिग्रने भएकाले दूध आफै किनेर समय समयमा सञ्चालन गरिँदै आएको छ ।

पराजुलीले भने, “हामीले दूध किन्छौं भन्दा पनि पाएका छैनौं, आउँदो हप्ता सर्लाहीमा एउटा संस्थाले दिन्छु भनेको छ ।”
 
विसं २०७५ देखि उद्योगले डेरी र सहकारीको दूध शुल्क लिएर प्रशोधन गर्ने काम गरिरहेको छ ।

प्रतिलिटर पाउडर दूधको एक सय १३ र घ्यू (बटर) को प्रतिकिलो ५५ लिएर उद्योगले प्रशोधन गर्दै आएको छ ।

विसं २०६४ मा स्थापना गरिएको उक्त उद्योग भूकम्पसँगै बन्द भएको थियो ।

उद्योग भरतपुर महानगरपालिका–१ ठिमुरामा रहेकाे छ । रासस

View : 130

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved