विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार आफ्नै कारणले ढल्ने टिप्पणी गरेका छन् । पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रित संकल्प याक्राका त्रममा बिहीबार तेह्रथुमको बसन्तपुरमा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले एमालेको सरकार हटेपछि देश राजनीतिक अराजकतातर्फ अघि बढेको आरोप लगाए ।
ओलीले अढाई वर्ष अघि एमालेलाई सरकारबाट देश विदेशी तत्वहरूले षडयन्त्र गरेर हटाएको दाबी गरे । त्यसपछि मुलुकमा राजनीतिक अन्योलता र अस्थिरता बढेको बताए । अहिले देशमा अनेक प्रकारका अवाञ्छित प्रवृत्तिहरू प्रकट भइरहेको पनि बताए ।
‘राजनीतिक प्रवृत्ति होइन, अराजनीतिक प्रवृत्ति छ’ ओलीले भने, ‘राजनीतिक माग होइन–बेग्लै प्रकारका क्रियाकलापहरू भइरहेका छन्, यो सरकार आफ्नै कारणले ढल्छ ।’
उनले एमालेको सरकारको पालामा देशमा असाधारण विकास भएको यसपटक पनि दाबी गरे । २०८४ को चुनावमा एमालेले एकल बहुमत ल्याउनसके मात्रै राष्ट्रियता र स्वधिनता जोगिने बताए । त्यसैका लागि संकल्पसहितको यात्रा गरिएको बताए ।
ओलीले निर्वाहका लागि नभई धनी हुनका लागि कृषि पेसा अंगाल्नुपर्ने बताए । उनले पश्चिमदेखि पूर्वसम्मको याक्राका त्रममा आम जनताबाट धेरै प्रकारका सुझावहरु प्राप्त गरेकोले आफूलाई उत्साहित बनाएको पनि बताए । जनताले दिएका सुझावहरुका आधारमा पार्टीले आगामी योजना र कार्यक्रमहरु तय गर्ने बताए ।
बसन्तपुरमा आयोजित सभामा कोशी प्रदेशका मध्य पहाडी र तराईका जिल्लाबाट हजारौं नेता कार्यकर्ताहरु सहभागी भएका थिए । सभालाई सम्बोधन गर्नुअघि ओलीले धनकुटा नगरपालिका–१ सिरान बजारस्थित हिले पार्कको उद्घाटन गरेका थिए ।
View : 437
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved