विराटनगर । संविधानविद् विपिन अधिकारीले नेपालमा व्यवस्थापन पढेका कानुन व्यवसायीहरूको खाँचो धेरै रहेकोले कलेजहरूले दक्ष ‘कर्पोरेट लयर’ उत्पादन गर्न चासो दिनुपर्ने सुझाव दिएका छन् ।
बुधबार मनमोहन प्राविधिक विश्वविद्यालयको कानुन कलेजमा स्नातक तहको पाँच बर्षे व्यवस्थापन कानुन (बीबीए एलएलबी) पढ्न दोस्रो व्याचमा भर्ना भएका विद्याथीहरूलाई उत्प्रेरणा दिंदै कानुन अधिकारीले कर्पोरेट लयर (कम्पनी कानुन व्यवसायी) हरूका लागि धेरै अवसर भएकोले कानुन कलेजहरूले अब कर्पोरेट लयरहरू उत्पादन गर्न चासो दिनुपर्ने बताएका हुन् ।
काठमाडौं विश्वविद्यालयको कानुन संकायका डिन रहिसकेका संविधान र व्यवस्थापन कानुनका विज्ञ प्राडा अधिकारीले बीबीए एलएलबी, बीए एलबी भन्दा बिशिष्ट कोर्ष भएको भन्दै उत्पादन भएका कर्पोरेट लयर्सहरूलाई अवसरै अवसर रहेको पनि प्रस्ट्याए ।
नेपालमा काठमाडौ विश्वविद्यालय र कोशी प्रदेशको मनमोहन विश्वविद्यालयमा मात्र व्यवस्थापन कानुनको पढाइ हुने गरेको जानकारी दिदै अधिकारीले सरकारी र निजी क्षेत्रमा व्यवस्थापन कानुन व्यवसायीहरूका लागि प्रशस्त अवसर रहेको बताए ।
उनका अनुसार व्यवस्थापन कानुनमा आधारभूत कानुनहरू मात्र नभएर अर्थशास्त्रसँग सम्बन्धित व्यवसाय र व्यवस्थापनको सैदान्तिक ज्ञानसँगै व्यवहारिक शीपको पनि अध्ययन गर्नुपर्ने भएकोले उत्पादन भएका कानुन व्यवसायीहरू आफैंमा सीप र ज्ञानले दक्ष हुन्छन् ।
उनले आफूले संविधानसँगै व्यवस्थापन कानुन समेत पढेकोले एनसेलको ६१ कर छली मुद्दालाई अन्तर्राष्ट्रिय अदालतमा पैरबी गरेर नेपाल सरकारलाई जिताउन सफल भएको सुनाए ।
‘व्यवस्थापन कानुन पढ्ने कानुन व्यवसायीहरू मुद्दाहरू अदालतसम्म लगेर इजलासमा बहस गरेर ‘फिस’ लिने मात्र हुँदैनन् व्यवहारिक रूपमा मुद्दाको वास्तविकता बुझाएर सचेत गराउन पनि दक्ष हुन्छन्’ उनले भने ।
कार्यक्रममा मनमोहन प्राविधिक विश्वविद्यालयका उपकुलपति डा सुवासश्री पोखरेलले व्यावहारिक सीप सहितको पाठ्यक्रम निर्माण गरेकैले मनमोहनले बीए एलएलबीको पढाई सुरू गरेको बताए ।
उनले बीए एलएबी पढ्ने विद्यार्थीहरूले निर्माण, वातावरण, सुरक्षा, साइबर अपराधसँगै ठेक्कापट्टा, खरिद, नापी लगायतका व्यावहारिक कानुनबारे ज्ञान र सीप हासिल गर्ने बताए ।
उपकुलपति पोखरेलका अनुसार व्यवस्थापन कानुनको पढाइलाई व्यवहारिक बनाउने कलेजले विद्यार्थीहरूका लागि अभ्यास इजलास बनाउन टेण्डर प्रक्रिया सुरू गरिसकेको छ ।
उपकुलपति पोखरेलले भने, विश्वविद्यालयले ‘नो नलेज विदआउट मनमोहन कानुन कलेज’ को उद्देश्य लिएर आधा सैद्धान्तिक र आधा अभ्यास गरिने गरी पाठ्यक्रम तयार गरेको बताए ।
मनमोहन प्राविधिक विश्वविद्यालयको स्कुल अफ एप्लाइड साइन्स टेक्नोलोजी अफ ल अन्तर्गत सञ्चालन भैरहेको ‘मनमोहन इन्स्टिच्युट अफ ल’ कलेजले गत वर्षदेखि व्यवस्थापन कानुनमा स्नातक र अपराध कानुनमा स्नातकोत्तरको पढाइ सुरू गरेको उनले बताए ।
View : 153
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved