विराटनगर । दाहाल सेवा प्रतिष्ठानले समाजसेवी करिम अन्सारीलाइ सम्मान गरेको छ । मृत्यु संस्कारमा मलामी बोक्ने बस निशुल्क सेवा गर्दै आएका अन्सारीलाई बुधबार विराटनगरमा आयोजित एक कार्यक्रममा दाहाल सेवा प्रतिष्ठानका केन्द्रीय महासचिव सूर्यकुमार दाहाल लगायतले नगदसहित प्रशंसापत्र प्रदान गरेका हुन् ।
दाहाल सेवा प्रतिष्ठान अन्तर्गत स्थापित स्वर्गीय चन्द्रकान्त दिव्यशरा दाहाल स्मृति कोषका अध्यक्ष नारदप्रसाद दाहालको अगुवाइमा अन्सारीलाइ नगद २४ हजार १ सय ९५ रुपैयाँ प्रदान गरिएको हो ।
विराटनगर–१ निवासी अन्सारीले विगत दुई वर्षदेखि विराटनगर र आसपासका क्षेत्रमा मलामी बोक्ने बस निशुल्क उपलब्ध गराउँदै आएका छन् । विराटनगर बाहिर जानुपरे इन्धन चाहिं सम्बन्धित व्यक्तिले नै बेहोर्नुपर्ने अन्सारीले बताए ।
पैसा मात्र कमाएर हुँदैन, समाज पनि कमाउनु पर्छ भन्ने आफ्नो सोचले यस्तो काम गर्न थालेको अन्सारी बताउँछन् ।
उनीसँग चार वटा बस छन्, ती मध्ये ३ वटा व्यावसायिक काममा लगाएको छु, एउटा बस चाहिं समाजसेवामा लगाएको छु उनले भने । उनको समाजसेवा देखेर विराटनगर महानगरपालिकाले मासिक ३ सय लिटर इन्धन दिन थालेको अन्सारीले बताए ।
View : 98
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved