मुकुलको पक्षमा रास्वपा कोशीमा दुईतिहाई समर्थन
विराटनगर । पार्टीको साधारण सदस्यसमेत नरहने गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निकालिएका पुर्वमहामन्त्री मुकुल ढकाललाई पार्टीको पूर्ववत् जिम्मेवारीमा फर्काउन माग गर्दै कार्यवाहक सभापति डिपी अर्याललाई पत्र लेखेका कोशी प्रदेश सभापति राजेश तिम्सिनालाई कारवाही गर्ने रास्वपाको केन्द्रीय टोली बैठक नै गर्न नसकी फर्किएको छ ।
यो घटनाले कोशी प्रदेशको पार्टी संगठनमा मुकुल र तिम्सिना बलियो देखिएनुका साथै मुकुलमाथि भएको कारवाही अनुचित रहेको भनेर बुझ्नुपर्ने सोही पार्टीका नेताहरूले बताएका छन् ।
रास्वपाको केन्द्रीय सदस्यसमेत रहेका कोशीका सभापति तिमिल्सिनालाई कारवाही गर्न भन्दै खटिएर आएको अनुशासन आयोगका अध्यक्ष भरतमणि देवकोटासहितको टोली बैठक नै गर्न नसकेर काठमाडौं फर्किएको हो । अनुशासन आयोगले इटहरीमा बोलाएको उक्त बैठकमा १३ जना मात्रै सदस्य उपस्थित भएको जनाइएको छ ।
‘६२ सदस्यीय प्रदेश समितिका हामीमध्ये जम्मा १३ जना मात्रै उपस्थित थिए, बाँकी ४९ जना हामी सल्लाह गरेरै अनुपस्थित रहेका हौं’ रास्वपा कोशी प्रदेश समितिका एक सदस्यले भने ‘हामी मुकुलजीसँग सल्लाह गरेरै बैठकमा नगएका हौं, बिचार व्यक्त गर्दैमा कार्वाही हुने अवस्था ल्याउन यो दलमा हामी लागेका होइनौं ।’
अनुशासन आयोगको उपस्थितिमा तिमिल्सिनालाई कार्वाही गर्ने योजनासहित सुनसरीको इटहरीमा बैठक आयोजना गरिएको थियो । तर, बैठकमा गणपुरक संख्या नपुगेपछि इटहरी नगर समितिका सदस्यहरु बोलाएर कार्यक्रम भएको रास्वपा स्रोतले बताएको छ ।
केन्द्रीय अनुशासन आयोगदले मुकुललाई पार्टीमा पुर्ववत पुनः स्थापित गर्नुपर्छ भन्ने कोशी प्रदेशका सभापति तिमल्सिनाविरुद्ध कारवाही प्रक्रिया अघि बढाउन आइतबार बैठक बोलाइएको थियो ।
मुकुल ढकाललाई पुनःस्थापना गर्नुपर्ने तिमल्सिनाको अभिव्यक्तिपछि आयोगले स्पष्टीकरण माग्दै कोशी प्रदेश कमिटीको बैठक बोलाएको जनाइएको छ । बैठकमा प्रदेश अध्यक्षमाथि कार्वाही गर्ने भए आफुहरु न आउने खबर पठाएको प्रदेश समितिका सदस्यहरुले बताए ।
‘बहुमत सदस्यहरु बैठकमा नजानेमा ढुक्क थियौं तर यतिधेरै जना नै नजालान भन्ने लागेको थिएन’ ती सदस्यले भने ‘बोल्न नसके पनि बैठकमा अनुपस्थित रहेर हामीले मुकुलजीको पुनः स्थापना र प्रदेश अध्यक्षको अभिव्यक्तिको पक्षमा आफू लाई उभ्याएका हौं ।’
प्रदेश समितिका दुई तिहाइ भन्दा बढी सदस्य बैठकमा न आए पछि अनुशासन आयोगका अध्यक्ष भरतमणि देवकोटासहितको टिम अर्को बैठक नबोलाइ काठमाडौ फर्केको छ ।
आइतबारको बैठकमा प्रदेश समितिका मात्रै नभै पाँच सदस्यीय कार्यसम्पादन समितिका पनि दुई सदस्यहरू उपाध्यक्ष शरिन तामाङ र महामन्त्री लालविक्रम थापामात्र बैठकमा सहभागी हुन उपस्थित थिए ।
कोशीका बहुसंख्यक रास्वपा नेताहरू सभापति रवि लामिछाने र पुर्वमहामन्त्री ढकाल मिलेर अघि बढनु पर्ने पक्षमा रहँदै आएका छन् । विराटनगर घर भएका पूर्वमहामन्त्री ढकालले आफ्नै अग्रसरतामा कोशी प्रदेश कमिटी बनाएका थिए ।
View : 95
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved