विराटनगर । गैरकानुनी उत्खनन् रोक्न सहयोग माग्दै प्रहरीलाई पत्र लेखेका मोरङको ग्रामथान गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई पालिका अध्यक्षले उल्टै स्पष्टीकरण सोधेका छन् ।
उपनिर्वाचनबाट गाउँपालिका अध्यक्षमा निर्वाचित नमोनारायण माझीले प्रहरीलाई किन पत्र लेखेको भन्दै प्रमुख प्रशासकीय अधिकृत राम राज पौडेलसँग स्पष्टीकरण सोधेका हुन् । माओवादीबाट उपनिर्वाचन जितेका अध्यक्ष माझीले प्रहरीलाई पत्र लेख्नुपर्ने कारणबारे स्पष्टीकरण मागेका हुन् ।
प्रमुख प्रशासकीय अधिकृत पौडेलले पुस ८ मा ग्रामथानकै झोराहाटमा रहेको प्रहरी कार्यालयलाई पत्र लेखेका थिए । उनले प्रहरीलाई लेखेको पत्रमा भनिएको छ ‘ग्रामथान गाउँपालिका वडा नम्बर २ अन्तर्गतका विभिन्न नहर, सडक लगायतका सार्वजनिक स्थलबाट गैरकानूनी रुपले माटो उत्खनन् भइरहेको भन्ने जनगुनासो आएको तथा गाउँपालिकाबाट अनुगमन गर्दा समेत उत्खनन् भएको पाइएकोले त्यस प्रकारको गैरकानूनी उत्खनन् कार्य रोकी उत्खनन् कार्यमा संलग्न सवारी साधनहरु नियन्त्रणमा लिई दिनुहुन अनुरोध छ ।’
गाउँपालिका कार्यालय स्रोतका अनुसार पालिका उपाध्यक्ष, वडाध्यक्ष र अरु जनप्रतिनिधिहरुसमेत सहभागी टोलीले अनुगमन गरेको थियो । त्यसक्रममा नहरको छेउमा रहेको शाखा पैनी प्रभावित हुने गरी जथाभावी माटो उत्खनन् गरिएको भेटिएको एक जनप्रतिनिधिले बताए । अनुगमन टोलीले तत्कालै प्रहरीलाई पत्र लेख्न भनेपछि अधिकृतले प्रहरीलाई पत्राचार गरेका थिए ।
तर, पुस ११ मा अध्यक्ष माझीले प्रहरीलाई पत्र किन लेखेको कारण पेश गर्न भन्दै प्रशासकीय अधिकृतलाई स्पष्टिकरण पत्र लेखेका हुन् । अध्यक्षले मागेको स्पष्टीकरण पत्रमा भनिएको छ ‘यस ग्रामथान गाउँपालिकाबाट मिति २०८१/०९/०८ गतेको दिन च. नं. १०१५, मिति २०८१/०९/०८ को गैरकानूनी उत्खनन् कार्य रोक्का गर्ने सम्बन्धमा प्रहरी चौकी, झोराहाटलाई काटिएको पत्र के-कति कारणले काटिएको हो रु स्पस्ट खुलाई दिन हुन जानकारीको लागि अनुरोध छ।’
यही विषयमा चर्किएको पत्राचार श्रृंखलाले गाउँपालिकामा असामान्य अवस्था सिर्जना भएको कर्मचारीहरु बताउँछन् । प्रमुख प्रशासकीय अधिकृत पौडेलले यसबारे थप कुरा गर्न अस्वीकार गरेका छन् । उनले आफूमाथि मानसिक दवाव सिर्जना गरिएको बताएका हुन् । 'सवै कुरा दुईवटै पत्रमा हेरेपछि थाहा हुन्छ, भएको कुरा पत्रमै उल्लेख छ' उनले भने, 'मलाई अहिले बोल्न अप्ठेरो भएको छ, केहि बोल्ने अवस्था छैन ।'
उत्खनन् भएको स्थान ग्रामथान १ र २ को सीमाना क्षेत्र हो । वडा नम्बर १ का वडाध्यक्ष सुरेशकुमार माझीले आफू पनि अनुगमनमा सहभागी भएको बताए । अनुगमनका क्रममा नहर र रोड नै जोखिममा पर्ने गरी माटो निकालिएको बताए । ‘नहरको माटो निकालिएको रहेछ, रोडको पनि निकालेको छ, यसले त नहर पनि, रोड पनि जान्छ’ वडाध्यक्ष माझीले भने, ‘उपाध्यक्ष, हामी जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतसहितको टोलीले अनुगमन गरेको हो, अनुगमन गर्दा स्पष्टिकरण सोधेको हो भने त्यसलाई राम्रो मान्न सकिंदैन ।’
गाउँपालिकाको अनुगमन समितिको संयोजक समेत रहेकी उपाध्यक्ष गुणावतीदेवी थारुले आफूसहित गएर अनुगमन गरेको बताइन् । उनले अनुगमनमा जाँदा नहरको दुवैतिर सडक भासिने गरी खनेको पाइएको बताइन् ।
‘गहिरो गरी खनेको छ, तपाईहरूले हेर्दा पनि हुन्छ, दुवैतिरबाट खन्दा त सडक नै भासिन्छ, नहर खनिरहेको छ भनेर अनुगमनमा जाँदा तीनवटा टिफर र डोजर भागिहालेछ, रोक्नुपर्छ भनेर नै अनुगमन गरेको हो’ उपाध्यक्ष थारुले भनिन् । ‘अनुगमनको संयोजक त म हो नि, सवै वडाध्यक्षसहित मैले गएर अनुगमन गरेको हो भनेर अध्यक्षलाई पनि भनेको छु, सोध्ने भए मलाई स्पष्टिकरण सोध्नु भनें, तर अध्यक्ष त सन्किन थाल्यो, मेरोमात्रै पालिका भन्ने अध्यक्षको कुरा आयो ।’
यता, गाउँपालिका अध्यक्ष माझीले भने आफू जनताबाट अनुमोदित भएको भन्दै दम्भ प्रदर्शन गरेका छन् । उनले नहर र पैनी छेउमा अवैध उत्खनन् भएको विषयमा आफ्नो विमति नभए पनि आफू काठमाडौं भएका बेला प्रहरीलाई पत्र काटिएको र त्यसबारे जानकारी नदिएकाले स्पष्टीकरण मागेको बताए ।
‘म ग्रामथानको अभिभावक हो, यहाँ हुने सबै गतिविधिको दायित्व मेरो हो’, अध्यक्ष माझीले भने ‘मलाई जानकारी किन दिएन त ? जनताले यसबारे सोध्यो भने मलाई थाहा छैन भन्नुपर्दा लाज हुँदैन ? यो ठूलो कुरा हो । यस्तै काम विदेशतिर भएको भए ठूलो कारवाही हुन्थ्यो ।’
अध्यक्ष माझीले नहरमा अवैध उत्खनन् भएको चाहिँ स्वीकारेका छन् । अवैध उत्खनन् रोक्न प्रमुख प्रशासकीय अधिकृतले प्रहरीलाई पत्र लेख्दा के बिग्रियो ? भन्ने प्रश्नमा माझीले थपे ‘यसमा धेरै सुनियोजित कुरा छ । म काठमाडौं भएका बेला नै किन पत्र लेखियो ? मलाई फोनबाट जानकारी गराउँदा के हुन्थ्यो ?’
अध्यक्ष माझीको भनाईले नहरबाट माटो उत्खननमा उनकै संलग्नता रहेको स्थानीयले आरोप लगाएका छन् । जनप्रतिनिधिसहितको टोलीले अनुगमन गर्दा पालिकाकै अध्यक्षले त्यसलाई कारवाही गर्नुको साटो उल्टै प्रमुख प्रशासकीय अधिकृतलाई स्पष्टीकरण सोधेपछि उनको संलग्नता पुष्टि भएको स्थानीयले बताए ।
View : 265
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved