Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
आर्थिक

एफएनसीसीआई कोशी र बिहार इन्डष्ट्रिज एशोसिएशन पटनाबीच भगिनी सम्बन्ध स्थापना

उद्घोष सम्वाददाता
५ भदौ २०८१, बुधवार

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश र भारतको बिहार इण्डष्ट्रिज एशोसिएशन पटनाबीच भगिनी सम्बन्ध स्थापना भएको छ । महासंघका अध्यक्ष राजेन्द्र राउत र एशोसिएशनका अध्यक्ष केपिएस केसरीबीच मंगलबार पटनामा भएको कार्यक्रममा उक्त सम्बन्ध स्थापित गर्ने निर्णय भएको जनाइएको छ ।

निजी क्षेत्रको सबैभन्दा ठूलो संजाल भएको नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आर्थिक विकासमा क्रियाशील रहँदै आएको छ । महासंघ कोशीले प्रदेशमा उद्योग व्यवसायमैत्री वातावरण निर्माणका लागि नीतिगत तहमा पैरवी गर्दै आएको छ । 

त्यसैगरी पछिल्लो समय कृषि क्षेत्रको रूपान्तरणको लागि विभिन्न कार्यक्रमहरू संचालन गर्दै आइरहेको छ । बिहारको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने बिहार इण्डष्ट्रिज एशोसिएशन पटना र महासंघ कोशीबीच स्थापना हुने भगिनी सम्बन्धले दुई पक्षीय व्यापारलाई अभिवृद्धि गर्ने जनाइएको छ ।

दुई संस्थाबीचको सम्बन्ध स्थापित भएपछि लगानीको प्रवर्द्धनको माध्यमबाट व्यावसायिक सम्बन्ध र सहकार्य अझै बढेर जाने महासंघका कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउतले बताए । 

साथै व्यवसायिक वातावरण निर्माणको लागि नीतिगत तहमा संयुक्त रूपमा पैरवी गर्ने आधार समेत तयार हुने उनले बताए । राउतले नेपालको कोशी प्रदेश र बिहार राज्य भारतको व्यापार क्षेत्रमा पनि लाभ पुग्ने विश्वास व्यक्त गरे ।

उक्त अवसरमा यही भाद्र २७ देखि ३० गतेसम्म विराटनगरमा हुने कृषि एस्क्पोका लागि उक्त एशोसिएशनबाट सहभागिता रहने जनाइएको छ । एक्स्पोमा भारतको बिहार इण्डष्ट्रिज एशोसिएशन पटनाबाट कृषिका प्रविधि, कृषि उपज वस्तु तथा कृषि विज्ञको समेत सहभागिता रहने जनाइएको छ ।

कार्यक्रममा महासंघ अध्यक्ष राउतसहित कोषाध्यक्ष सुवाश आचार्य, केन्द्रीय सदस्य एवं महासंघ कोशी प्रदेशका सल्लाहकार अविनाश बोहरा लगायतको सहभागिता रहेको महासंघका कार्यकारी निर्देशक राधारमण भण्डारीले जानकारी दिए ।

View : 158

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved