Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

विद्यार्थीहरुको दवावपछि मुनलाइट होस्टलकी संचालिका मधु रेग्मी पक्राउ

उद्‌घोष संवाददाता
३० फागुन २०८०, बुधवार

होस्टल संचालिका मधु रेग्मीलाई पक्राउ गरी कारवाही गर्न माग गर्दै स्ववियुका पदाधिकारीहरु । तस्वीर: उद्घोष

विराटनगर । होस्टलमा बसेका छात्राहरुमाथि दुर्व्यवहार गर्ने विराटनगर–८ मधुमारास्थित मुनलाइट गर्ल्स होस्टलकी संचालिका मधु कटुवाल रेग्मी पक्राउ परेकी छन् । पीडित विद्यार्थीहरुले होस्टल संचालिका रेग्मीलाई पक्राउ नगरे आन्दोलनमा उत्रिने चेतावनी दिंदै जाहेरी समेत दिएका छन् । प्रहरीले पीडित विद्यार्थीहरुको जाहेरी बुझ्ने प्रक्रियामा रहेको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जन दाहालले होस्टल संचालक रेग्मीलाई पक्राउ गरिएको बताए ।

रेग्मीले मंगलबार साँझ विद्यार्थीहरु बसेको कोठामै प्रवेश गरेर उनीहरुलाई अपशब्द र दुर्व्यवहार गर्दै बलपूर्वक निकाल्ने प्रयास गरेकी थिइन् । उक्त घटनाको भिडियो बाहिरिएपछि छात्राहरु अध्ययनरत विराटनगर नर्सिङ क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनले प्रेस विज्ञप्तिमार्फत रेग्मीलाई कारवाहीको माग गरेको हो ।

विराटनगर नर्सिङ क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनकी अध्यक्ष प्रशंसा पौडेल र सचिव एलिसा राउतद्वारा हस्ताक्षरित विज्ञप्तिमा होस्टल संचालिका रेग्मीले विद्यार्थीहरुलाई अमानविय व्यवहार गरेको भन्दै भर्त्सना गरिएको छ ।

स्ववियूसहित क्याम्पस प्रशासन र विभिन्न दल निकट विद्यार्थी संगठनहरुले समेत विद्यार्थीहरुमाथि भएको दुर्व्यवहारको भर्त्सना गरेका छन् । 

रेग्मी पक्राउ परेपछि उनीहरुले मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईलाई भेटेर कडा कारवाहीका लागि माग गर्दै ज्ञापन पत्र बुझाएका छन् ।

प्रमुख जिल्ला अधिकारी भट्टराईले पनि दोषी पक्राउ परिसकेको जानकारी दिंदै कानुन बमोजिम कारवाही हुने कुरामा विश्वस्त रहन आग्रह गरेका हुन् ।

View : 2714

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved