Biratnagar, Morang, Nepal
१४ साउन २०८३, बिहिवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

बीपी प्रतिष्ठानका डा. अजय यादव अन्तर्राष्ट्रिय मधुमेह महासंघको शीर्ष १० विज्ञमा चयन

उद्‌घोष संवाददाता
१२ साउन २०८३, मङ्गलवार

Advertisement

धरान । वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका जनरल प्राक्टिस एन्ड इमर्जेन्सी मेडिसिन विभागका एडिसनल प्रोफेसर तथा डाइबिटोलोजिस्ट डा. अजय यादव अन्तर्राष्ट्रिय मधुमेह महासंघ (आईडीएफ) को प्रतिष्ठित फिजिकल एक्टिभिटी इम्प्लिमेन्टेसन कमिटीमा चयन भएका छन् ।

प्रतिष्ठानका प्रवक्ता प्रा.डा. शमशेर श्रेष्ठका अनुसार विश्वका सयौँ विज्ञहरूमध्येबाट छनोट गरिएका शीर्ष १० विशेषज्ञको सूचीमा नेपालबाट डा. यादव पर्न सफल भएका हुन् । यो उपलब्धिलाई प्रतिष्ठानका साथै नेपालको स्वास्थ्य क्षेत्रका लागि समेत गौरवको विषय बनेको जनाइएको छ ।

विश्वका १६३ देशका २६४ राष्ट्रिय मधुमेह संघहरूको छाता संस्था अन्तर्राष्ट्रिय मधुमेह महासंघ (आईडीएफ) ले मधुमेह तथा यसबाट हुने जटिलता रोकथामका लागि शारीरिक गतिविधिलाई विश्वव्यापी रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले उक्त समिति गठन गरेको हो ।

समितिले ‘एक्टिभेट, एक्टिभेट, एक्टिभेट’ र ‘प्रिभेन्सन, प्रिभेन्सन, प्रिभेन्सन’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

डा. यादव लामो समयदेखि मधुमेहको उपचार, परामर्श तथा रोकथामका क्षेत्रमा सक्रिय रहँदै आएका छन् ।

उनले रेडियो, टेलिभिजन, सामाजिक सञ्जाललगायत विभिन्न श्रव्य–दृश्य माध्यम तथा प्रत्यक्ष जनचेतनामूलक अभियानमार्फत मधुमेह नियन्त्रण र स्वस्थ जीवनशैली प्रवर्द्धनका विषयमा निरन्तर जनचेतना फैलाउँदै आएका छन् ।

प्रतिष्ठानका अनुसार डा. यादवको दीर्घकालीन समर्पण, व्यावसायिक दक्षता र मधुमेह रोकथामका क्षेत्रमा पुर्‍याएको योगदानकै आधारमा उनले यो अन्तर्राष्ट्रिय जिम्मेवारी प्राप्त गरेका हुन् ।

प्रतिष्ठानले डा. यादवको सहभागिताले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पहिचान अझ सुदृढ हुने, मधुमेह रोकथाम तथा स्वास्थ्य प्रवर्द्धनका क्षेत्रमा नयाँ अवसर सिर्जना हुने विश्वास व्यक्त गरेको छ ।

यस उपलब्धिका लागि प्रतिष्ठान परिवारले डा. यादवलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै मधुमेह रोकथाम र स्वस्थ जीवनशैली अपनाउन सबैलाई सजग र एकजुट हुन पनि आग्रह गरेको छ ।

View : 52

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved