कोशीको बजेटमाथि कांग्रेसको प्रतिक्रिया
विराटनगर । कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राम बहादुर मगरले शनिबार प्रदेश सभामा प्रस्तुत गरेको बजेटमाथि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अध्ययन गरेरमात्रै धारणा सार्वजनिक गर्ने भएको छ । तर कांग्रेसले बजेट विनियोजनका क्रममा घरेलु मदिरा ब्राण्डिङ गर्ने विषयलाई समेटिएको प्रति निकै प्रशंसा गरेको छ ।
कांग्रेस संसदीय दलका नेता उद्धव थापाले बजेट विगतकै निरन्तरताको रुपमा आएको बताए । उनले बृहत अध्ययन गरेरमात्रै धारणा सार्वजनिक गर्ने जानकारी दिए । प्रतिपक्षले जति राम्रो बजेट आएपनि नराम्रो भन्नुपर्ने धर्म भएपनि घरेलु मदिरा ब्राण्डिङको विषयप्रति भने आफ्नो पूर्ण रुपमा समर्थन रहेको बताएका हुन् ।
आर्थिक मामिला तथा योजनामन्त्री मगरले आगामी आर्थिक बर्ष २०८१–८२ को बार्षिक विनियोजन प्रस्तुत गरेपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै थापाले सुनेकै भरमा कांग्रेसले तत्कालै प्रतिक्रिया नदिने बताए ।
‘नयाँ कार्यक्रमहरू खासै केही आएको छैन, पुरानै कार्यक्रमको निरन्तरता छ’ उनले भने, ‘प्रतिपक्षको धर्म त राम्रै भएपनि नराम्रो भन्नुपर्छ तरपनि साँच्चै राम्रो कार्यक्रम भनेको घरेलु मदिरा ब्रान्डिङ हो, यसलाई म समर्थन गर्दछु । यसलाई कसरी कार्यन्वयन गर्ने भन्ने हेर्न बाँकी छ, हाम्रो दल पनि यसलाई कार्यन्वयनका लागि लागिपरेको छ ।’
उनले घरेलु मदिरा ब्रान्डिङ हुन सके स्वदेशमै रोजगारी सिर्जना हुने, पहाडमा बाँझो बन्दै गरेका डाँडापाखामा कोदो खेती विस्तार हुने बताए । जसका कारण स्वास्थ्यका हिसाबले अति नै उपयोगी मानिएको कोदोको उत्पादन बढ्ने र अर्थतन्त्रमा समेत सहयोग पुग्ने दाबी गरे ।
‘घरेलु उद्योगमा आधारित घरेलु मदिरा ब्रान्डिङलाई सफल गर्न सकियो भने यसले प्रदेशको अर्थतन्त्रमा सहयोग प्राप्त हुन्छ, रोजगारीलाई पनि सहयोग पुग्छ’ थापाले भने ‘डाँडापाखाको जमिनमा पनि खाद्यान्न लगाउने काम सुरु हुन्छ, कोदोको उत्पादन वृद्धि हुन्छ, सरकारले यसलाई यथार्थ रुपमा प्रयोगमा ल्याउने मलाई विश्वास छ ।’
मन्त्री मगरले आव २०८१/८२ का लागि ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको वार्षिक बजेट विनियोजन प्रस्तुत गरेका छन् ।
View : 340
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved