विराटनगर । विराटनगरको उच्च शिक्षामा अग्रणी शिक्षादीप कलेजले कक्षा ११ को व्यवस्थापन र होटल म्यानेजमेन्टमा भर्ना भएका तीन सय बढि विद्यार्थीहरूलाई एक कार्यक्रमका बीच स्वागत गरेको छ । कलेजले बुधबार आयोजना गरेको कार्यक्रममा नयाँ विद्यार्थीहरूलाई कलेजको नीति नियमबारे अभिभुखिकरण समेत गराइएको हो ।
कलेजका प्रिन्सिपल ज्ञान बहादुर खड्काले विद्यार्थीहरूलाई पढाईप्रति जिम्मेवार बन्न आग्रह गरे । उनले नीति नियमभित्र बसेर प्लसटु अध्ययन पुरा गरेको खण्डमा विद्यार्थीहरूको भविष्य उज्जल हुने बताए । कलेजले विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि कुनैपनि कसर बाँकी नछोड्ने बताए ।
‘विद्यार्थीको कडा मेहनतका कारणले सफलता प्राप्त हुने हो, विद्यार्थीलाई असल बाटो देखाउन हामीले जिम्मेवारी लिएका छौँ’ प्रिन्सिपल खड्काले भने, ‘त्यसको लागि विद्यार्थीले मेहनत गर्नुपर्छ, हामीले किताबको विषयसँगै विद्यार्थीको विकासका लागि अन्य कुराहरू पनि सिकाउँछौँ ।’
कलेजका चिफ डाइरेक्टर शैलेन्द्र सिवाकोटीले आफूहरूले कक्षा ११ र १२ मात्रै नपढाउने बताए । उनले विद्यार्थीहरूको करिअरकै जिम्मा लिन तयार भएको बताए ।
‘तपाँईहरु सपना लिएर आउनु भएको होला, हामी पनि बाटो देखाउन चाहन्छौँ’ उनले भने, ‘त्यसका लागि विद्यार्थीको अनुशासन पनि महत्वपूर्ण हुन्छ, हामी यहाँ विषय मात्रै पढाउँदैनौ, कलेजबाट बिदा हुँदा केही गर्छु भन्ने हिम्मत लिएर जाने बनाउँछौं ।’
विद्यार्थी स्वागत कार्यक्रममा शिक्षादीपबाटै प्लसटु अध्ययन पुरा गरेका चार्टर्ड एकाउन्टेन्ट एवं नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाका कोशी प्रदेश अध्यक्ष तीर्थ यादवले विद्यार्थीहरूको भविष्य निर्माणमा शिक्षादीपको ठुलो योगदान गरेको बताए । उनले शिक्षादीप कलेज छान्ने विद्यार्थीहरूले नै लक्की भएको बताए । त्यसका लागि विद्यार्थीहरूले पनि निरन्तर मेहेनत गर्नुपर्ने बताए ।
सोल्टी होटल क्राउन प्लाजा काठमाडौंका लर्निङ डाइरेक्टर रूपेश श्रेष्ठले होटल म्यानेजमेन्ट अध्ययन गर्ने विद्यार्थीहरूलाई अभिप्रेरित गर्दै लगनशील भएर पढ्न र सिक्नका लागि सुझाव दिए ।
उक्त अवसरमा कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरू अविन शिवाकोटी, उज्ज्वल ओझा, मिरु साह र प्रिन्स कुमार रोयले शिक्षादीप कलेजमा अध्ययन गर्न पाउँदा आफूहरू उत्साहित बनेको बताएका थिए ।
कलेजका निर्देशकहरू डा.बिमल किशोर श्रीवास्तव, डा.गुणनाथ गौतम, रितुराज रेग्मी, व्यवस्थापन सङ्कायका प्रमुख शंकर भट्टराई लगायतको उपस्थिति रहेको थियो ।
View : 362
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved