Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
साहित्य

‘सिमसारा’ लाई विमल गुरुङ कृति पुरस्कार

उद्‌घोष संवाददाता
२८ असोज २०८२, मङ्गलवार

सुनसरी । धरानस्थित कवि विमल गुरुङ स्मृति पुस्तकालयले २०८१ को ‘विमल गुरुङ कृति पुरस्कार इलाम निवासी बसन्त बस्नेतको उपन्यास ‘सिमसारा’ लाई प्रदान गर्ने निर्णय गरेको छ । 

निर्णायक समितिले सिफारिस गरेपछि पुस्तकालय सञ्चालक समितिको सोमबार प्रेस विज्ञप्ति जारी गर्दै बस्नेतद्वारा लिखित ‘सिमसारा’ उपन्यासलाई ‘विमल गुरुङ कृति पुरस्कार–२०८१’ प्रदान गर्ने निर्णय सार्वजनिक गरेको हो ।

पुस्तकालयका अध्यक्ष पूर्णबहादुर गुरुङका अनुसार विमल गुरुङ कृति पुरस्कारका लागि आह्वान गरे अनुसार स्वदेश तथा विदेशमा रहेका नेपाली भाषी लेखक, साहित्यकार, सर्जकहरूबाट १०४ कृति प्राप्त भएका थिए । 
प्राप्त भएका ती कृतिहरुमध्येबाट यसअघि उत्कृष्ट १० कृति छनौट गरिएको थियो । 

तीमध्येबाट सिमसारा उपन्यास विमल गुरुङ कृति पुरस्कारका निम्ति चयन गरिएको अध्यक्ष गुरुङले बताए । 

उक्त पुरस्कार आगामी कात्तिक १९ गते आयोजना हुने ३४ औं राष्ट्रिय कविता महोत्सव तथा कवि विमल गुरुङको ५४ औं जन्मजयन्तीको अवसरमा नगद राशि दुई लाख रुपैयाँ, ताम्रपत्र र दोसल्लासहित प्रदान गरिने छ ।

पुस्तकालयद्वारा जारी विज्ञप्ति अनुसार ‘सिमसारा’ उपन्यास पूर्वी नेपाल इलाम चारखोलको कथा हो । जसमा एक परिवारको विघटनको कथा बुनिएको छ । 

घरको मुल खाबो अर्थात घरमुलीले आफ्नी पत्निप्रति आकर्षण नदेखाएपछि पत्नीमा रुमल्लिएको जीवनको अत्यासलाग्दो यात्रा, बाबु–आमाबीचको बेमेलले उनीहरूको सन्तानलाई बारम्बार लागिरहने बाछिटा उपन्यासका मूल विषय हुन् ।

यसअघि पुस्तकालयले बेलायतका नरेश काङमाङको कविता संग्रह ‘तेप्लायु’ भारत दार्जिलिङका विजय कैलाशी राईको आख्यान ‘मित्याङ्सा’ गोरखाका चन्द्र गुरुङको कविता संग्रह ‘जव एउटा मान्छे हराउँछ’ र इलामका प्रकाश थाम्सुहाङको निबन्ध संग्रह ‘शव्दथुम’ लाई सो पुरस्कार प्रदान गरिएको थियो ।

View : 192

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved