Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

तेस्रो ओलम्पियन पुनर्मिलनको तयारी पूरा

उद्घोष सम्वाददाता
१९ वैशाख २०८१, बुधवार

सुनसरी । सुनसरीको इटहरीमा बिहीबारदेखि हुने तेस्रो संस्करणको ओलम्पियन पुनर्मिलन तथा स्पोर्ट्स सेलिब्रेटी मिट–२०२४ को तयारी पूरा भएको छ ।

आयोजक कोशी प्रदेश खेलकुद विकास बोर्ड र कार्यक्रम संयोजन गरेको संस्था नेपाल ओलम्पियन संघले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । पहिलो संस्करण काठमाडौं र दोस्रो संस्करण गत वर्ष पोखरामा भएको ओलम्पियन पुनर्मिलन कार्यक्रम चार दिनसम्म चल्ने बताइएको छ ।

देशभर छरिएर रहेका ओलम्पियनलाई एकै ठाउँमा भेला गराउने उद्देश्यले कार्यक्रमको सुरुआत गरिएको नेपाल ओलम्पियन संघका अध्यक्ष दीपक बिष्टले बताए । बिष्टका अनुसार यो पटकको कार्यक्रममा सिंगापुर, मलेसिया, बेलायत र अष्ट्रेलियाका ओलम्पियन संघका अध्यक्ष र कमिटीका पदाधिकारीहरू र नेपालका ६० ओलम्पियनहरूको कार्यक्रममा सहभागिता रहने छ । कार्यक्रमको पहिलो दिन दिन बिहान वाकाथुन हुनेछ ।

कोशी प्रदेशका मुख्यमन्त्री, खेलाडी र ओलम्पियनलगायतको सहभागिता रहने वाकाथुन इटहरी रंगशालाबाट सुरु भई इटहरी उपमहानगरपालिकाको प्रांगणसम्म पुग्नेछ । सोही दिन दिउँसो स्वास्थ्य शिविर हुनेछ भने साँझ सम्मान कार्यक्रम आयोजना गरिने जनाइएको छ ।

बैशाख २१ गते विहान टोली झापा हुँदै इलामका लागि प्रस्थान गर्नेछ ।

विर्तामोड नगरपालिका र जिल्ला खेलकुद विकास समिति झापाले टोलीलाई सम्मान गर्ने कार्यक्रम रहेको बिष्टले बताए । सोही दिन दिउँसो इलामको सूर्योदय नगरपालिकाले स्वागत गर्ने, साँझ इलामको श्रीअन्तुमा नगर प्रमुख सहितको परिचयात्मक कार्यक्रम हुनेछ । २२ गते बिहान श्रीअन्तुबाट सूर्योदय अवलोकन तथा फिक्कलमा नगर परिक्रमा सहित अभिनन्दन र सम्मान कार्यक्रम हुनेछ ।

त्यसपछि ओलम्पियन टोली त्यतैबाट काठमाडौं फर्कने कार्यक्रम रहेको बिष्टले बताए । कोशी प्रदेशको खेलकुदसँगै आन्तरिक पर्यटन प्रवर्द्धनका लागि ओलम्पिकमा सहभागिता जनाएका खेलाडी तथा खेलकुदका चर्चित अनुहारलाई खेलकुद विकास बोर्ड कोशी प्रदेशले पुनर्मिलन गराउन पाउँदा कोशी प्रदेश खेलकुद विकास बोर्ड निक्कै उत्साहित भएको बोर्ड उपाध्यक्ष बिन्दिया कार्कीले बताइन् ।

विश्वकै सबैभन्दा ठुलो र महाकुम्भ ओलम्पिक खेलमा सहभागी धेरै खेलाडीलाई पहिलो पटक प्रदेशमा भित्राउँदा यहाँका खेलप्रेमीलाई समेत पुराना नयाँ खेलाडीलाई नजिकबाट चिन्ने र बुझ्ने अवसर हुने कार्कीको भनाइ थियो ।

नेपालले सन् १९६४ सालमा पहिलो पटक ओलम्पिकमा सहभागिता जनाएका खेलाडीदेखि हालसम्म ओलम्पियन, ओलम्पिक स्वदेश तथा विदेशका अध्यक्ष तथा पदाधिकारी, खेलाडीलगायतलाई खेलप्रेमीमाझ प्रस्तुत गरिने यो कार्यक्रम सम्पन्न गर्न करिब ३५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको बोर्डले जनाएको छ ।

View : 259

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved