Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

एमाले मोरङ बैठक :

विद्या भण्डारी पाञ्चाली छिरेको भन्दै ओली पक्षद्वारा विरोध

उद्‌घोष संवाददाता
१० भदौ २०८२, मङ्गलवार

विराटनगर । नेकपा एमाले मोरङको सोमबार रंगेलीमा बसेको जिल्ला कमिटीको विस्तारित बैठकमा ओली पक्षका जिल्ला कमिटी सदस्यहरूले विद्यादेवी भण्डारीलाई पाञ्चालीस्थित पार्टी कार्यालयमा प्रवेश गर्न दिएको भन्दै विरोध गरेका छन् । 

पूर्वराष्ट्रपति भण्डारी भने पार्टीको राजनीतिक जीवनका क्रममा आफूले संगठन गरेको र भुईँमै सुतेको स्मरण गर्दै गत मंगलबार एमाले मोरङको पार्टी कार्यालय पुगेकी थिइन् । 

ओली पक्षले उनलाई पार्टी कार्यालयमा प्रवेश गर्न अवरोध पुगोस् भनेर सोही दिन विरोध जनाएका थिए । तर उक्त विरोध औचित्यहिन भएको भन्दै उनका समर्थक एवं जिल्ला र महानगर कमिटीको नेतृत्व तहको समर्थनमा भण्डारीले १४ वर्षपछि पाञ्चाली टेकेकी थिइन् । 

एमालेको विधान अधिवेशन अगाडि जिल्लास्तरबाट सुझाव संकलन गर्न भन्दै सोमबार रंगेलीमा विस्तारित बैठक बसेको हो । 

सुझाव संकलन गर्न बसेको बैठकमा ओली पक्षका जिल्ला कमिटी सदस्यहरूले भने भण्डारीको पाञ्चाली प्रवेशप्रति विरोध जनाएका छन् ।

‘पार्टीका केही साथीहरूले कुरा नबुझेर कुरा राख्नु भएको हो’ जिल्ला सचिव सोमराज थापाले भने, ‘हामीले उहाँहरूलाई कुनै निश्चित कार्यक्रम नभई पार्टीकै पूर्व नेता एवं पूर्वराष्ट्रपति भइसक्नु भएको व्यक्ति पार्टी कार्यालय अवलोकन गर्न आउनु भएको विषयलाई अवसरका रुपमा लिनुपर्ने भनेर सम्झायौं, साथीहरूले अहिले कुरा बुझिसक्नु भएको छ ।’

थापाले विधान अधिवेशनका जिल्लाका १७ वटा पालिका कमिटी मध्ये १४ जना अध्यक्षसहित जिल्ला कमिटीका सदस्यहरूले उपस्थित भएर आफ्ना सुझाव प्रस्तुत गरेको जानकारी दिए । बैठकका क्रममा प्राप्त सुझावलाई जिल्ला कमिटीले केन्द्रीय कमिटीमा पठाउने जनाइएको छ ।

View : 759

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved