Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
मनोरञ्जन

नयाँ वर्षको स्वागतमा मारवाडी युवा मञ्चको नवोत्सव

आज जैन भवन विराटनगरमा मनोरञ्जनात्मक सांगीतिक उत्सव संन्ध्या

उद्‌घोष संवाददाता
१६ पुष २०८२, बुधवार

पत्रकार सम्मेलनमा आयोजकहरू

विराटनगर । अङ्ग्रेजी नयाँ वर्ष २०२६ को स्वागत र आफ्नो स्थापना दिवसको अवसर पारेर मारवाडी युवा मञ्च विराटनगरले भव्य मनोरञ्जनात्मक उत्सव ‘नवोत्सव: न्यू इयर फिस्टा नाइट’ आयोजना गर्ने भएको छ।

मञ्चले विराटनगर मेनरोडस्थित जैन तेरापन्थ भवनमा बुधबार साँझ विशेष साङ्गीतिक कार्यक्रम आयोजना गरी सप्ताहव्यापी उत्सवको शुभारम्भ गर्न लागेको हो।

मङ्गलबार पत्रकार सम्मेलन गर्दै मञ्चले जनवरी ३ तारिखमा पर्ने ‘मारवाडी युवा दिवस’ का अवसरमा साताभर विभिन्न सामाजिक र मनोरञ्जनात्मक कार्यक्रम गरिने जानकारी दिएको छ ।

नयाँ वर्षको पूर्वसन्ध्यामा विशेष उत्सव बुधबार हुने ‘नवोत्सव’ मा भारतको सिलीगुडीका चर्चित डीजे संगीतकार मञ्जीत सिंहले विशेष प्रस्तुति दिने मञ्चका अध्यक्ष मोहित लालवानीले बताए ।

उत्सवमा विराटनगरको चर्चित ‘भाइरल डान्स ग्रुप’ र टोडलर्स स्कुलका बालबालिकाहरूको सांस्कृतिक नृत्य समेत रहनेछ ।

पारिवारिक वातावरणमा हुने सो कार्यक्रममा मदिरा पूर्ण रूपमा निषेध गरिएको छ ।

सहभागीमध्ये भाग्यशाली कुपन विजेताले फ्रिज र उपविजेताले ग्यास गिजर उपहार प्राप्त गर्ने संयोजक मनोज सोनीले जानकारी दिए। कार्यक्रममा हाउजी र विभिन्न मनोरञ्जनात्मक खेलहरू समेत समावेश गरिएको छ ।

साताव्यापी सेवामूलक कार्यक्रमको तालिका

मञ्चका अध्यक्ष लालवानीका अनुसार सप्ताहव्यापी कार्यक्रम अन्तर्गत बिहीबार राष्ट्रिय टोपी दिवस मनाइनेछ भने शुक्रबार शान्ति पदयात्रा गरिनेछ ।

शनिबार सुनसरीको प्रकाशपुरमा बनभोज कार्यक्रम तय गरिएको छ । यस्तै आइतबार सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीलाई ‘रिफ्लेक्टिभ लाइट रिबन’ हस्तान्तरण गरिनेछ ।

सोमबार रामजानकी सेवा सदनमा बृहत् रक्तदान कार्यक्रम आयोजना गरिएको छ भने अन्तिम दिन मङ्गलबार नेत्रदानबारे जनचेतना अभियान र मानवसेवा आश्रमका आश्रितहरूलाई भोजन सेवा गरी साताव्यापी कार्यक्रम समापन गरिनेछ ।

पत्रकार सम्मेलनमा प्रमुख संयोजक पवन पारख, सहसंयोजक धीरज शर्मा, नेपाल राष्ट्रिय मारवाडी युवा संगठनका गोपाल अग्रवाल र मनोज सोनी लगायतले सप्ताहव्यापी कार्यक्रमको तयारी पूरा भएको जानकारी दिए। बुधबारको कार्यक्रम संयोजन मनोज सोनी, जितेन्द्रकुमार बोथरा र योगेश अग्रवालले गरिरहेका छन् ।

मञ्चले हरेक वर्ष जनवरी ३ लाई मारवाडी युवा दिवसको रूपमा मनाउँदै आएको छ ।

View : 608

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved