विराटनगर । नेपाली कांग्रेसका नेता तथा राष्ट्रियसभा सदस्यका उम्मेदवार कृष्णप्रसाद सिटौलाले आवश्यक कानुनको अभावमा प्रदेश सरकार अलमलमा परेको बताएका छन् ।
नेपाली कांग्रेस मोरङले विराटनगरमा आयोजना गरेको गठबन्धनका उम्मेदवारसितको भेटघाट तथा परिचयात्मक कार्यक्रममा नेता सिटौलाले प्रदेश सरकार नाम मात्रको सरकार भएको टिप्पणी गरे ।
संविधानले शान्ति सुरक्षाको जिम्मा प्रदेश सरकारलाई दिए पनि अहिलेसम्म प्रदेश सरकारलाई आवश्यक पर्ने संरचनाका लागि कानुन बनाएर नदिएकै कारण समस्या निम्तिएको उनको भनाइ थियो । ‘अहिले प्रदेश सरकार महा–अलमलमा छ । संविधानले त संघीय, प्रदेश र स्थानीय सरकारको आ–आˆनो जिम्मेवारी र कर्तव्य तोकेको छ ।
संघीय सरकारले प्रदेश सरकारलाई आवश्यक पर्ने कानुन बनाएर दिन सकेको छैन । त्यही भएर हालसम्म प्रहरी समायोजन हुन सकेको छैन,’ उनले भने, ‘संविधानमा लेखेअनुसारका व्यवहारमा लागू गर्न नसक्दा शिक्षा, स्वास्थ्य जुनसुकै क्षेत्रमा अराजकतै अराजकता देखिएको छ ।’
आफूले शान्ति प्रक्रियादेखि संविधान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेकाले राष्ट्रियसभामा गएर कार्यान्वयनमा पनि भूमिका खेल्ने उनको प्रतिबद्धता थियो । कार्यक्रममा गठबन्धनकी साझा उम्मेदवारसमेत रहेकी नेकपा माओवादी केन्द्रकी नेतृ चम्पादेवी कार्कीले लोकतन्त्र र गणतन्त्रका लागि ज्यानको प्रवाह नगरी आन्दोलनमा होमिएको बताइन् ।
कार्यक्रममा नेपाली कांग्रेसका पूर्वउपसभापति विजयकुमार गच्छदार, केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की, भीम पराजुली, प्रदेश सभापति उद्धव थापा, मुख्यमन्त्री केदार कार्की, नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य महेश रेग्मी, नेकपा माओवादीका प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ, नेपाली कांग्रेस मोरङका कार्यवाहक सभापति भक्तिनाथ माझी, उपसभापति तथा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, सचिव मोदराज घिमिरेलगायतले गठबन्धनको उम्मेदवार जिताउन सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका थिए ।
View : 130
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved