Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

प्रहरीको मनोबल बढाउँदै जनअपेक्षा पूरा गर्ने नवनियुक्त प्रहरी महानिरीक्षक कार्कीको प्रतिबद्धता

उद्‌घोष संवाददाता
२७ कार्तिक २०८२, बिहिवार

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी कर्मचारीको मनोबल बढाउँदै सरकार र आमजनसमुदायको अपेक्षा पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

गृह मन्त्रालयमा बिहीबार आयोजित विशेष समारोहमा प्रहरी महानिरीक्षको दर्ज्यानी चिह्न लगाएपछि संक्षिप्त मन्तव्य राख्दै उनले संगठनमा सुदृढ नेतृत्व र सामूहिकता प्रदर्शन गरिने बताए ।

“अपराध र सुरक्षा चुनौतीहरुका पारस्पिरिक प्रवृत्तिमा भएको परिवर्तन, सूचना प्रविधिको द्रूततर विकास र सुशासनको जनअपेक्षाअनुरुपको उच्च मनोबलयुक्त प्रहरी चरित्र र क्षमता निर्माण गरी प्रभावकारी सेवा प्रवाह गर्नु सरकार र प्रहरी संगठनको साझा दायित्व हो”, प्रहरी महानिरीक्षक कार्कीले भने ।

जेनजी आन्दोलनलगत्तैको सुरक्षा प्रतिकुलतामा पनि कुनै सुरक्षा रिक्तता हुन नदिई तत्काल नागरिकको सेवामा परिचालित भएको जानकारी गराराउँदै उहाँले छोटो समयमा प्रहरीका संरचना र सेवा पुनःस्थापनामा देखिएको सक्रियताले प्रहरीको भूमिका स्पष्ट भएको बताए ।

२८ वर्ष आफूले प्रहरी सङ्गठनमा निर्वाह गरेको भूमिकाको कदर गर्दै प्रहरी सङ्गठनको नेतृत्व गर्ने अवसर प्रदान गरेकामा उहाँले सरकारप्रति आभार प्रकट गरे ।

समारोहमा गृह मन्त्रालयका सचिव रामेश्वर दंगालले नवनियुक्त प्रहरी महानिरीक्षक कार्कीलाई दर्ज्यानी चिह्न प्रदान गरेका थिए ।

३० वर्षे सेवा अवधि पूरा गरी प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ अनिवार्य अवकाशमा गएपछि सरकारले प्रहरी अतिरिक्त महानिरीक्षकमध्येबाट वरिष्ठतम् कार्कीलाई प्रहरी संगठनको प्रमुख बनाउने निर्णय गरेको थियो ।

समारोहमा राष्ट्रिय अनुन्धान विभागका मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की, प्रहरी अतिरिक्त महानिरीक्षक, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक, गृह मन्त्रालयका उच्चपदस्थ कर्मचारी सहभागी थिए ।

View : 275

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved