विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–२ स्थित विराट मेडिकल कलेज टिचिङ हस्पिटलले पूर्वी नेपालको स्वास्थ्य सेवामा महत्वपूर्ण फड्को मारेको छ । स्त्री तथा प्रसूति सेवाका लागि हस्पिटलले पाँचवटा अप्रेशन थिएटरसहित दुई सय बेडको अत्याधुनिक अस्पताल भवन संचालनमा ल्याएको हो ।
महिलासँग सम्बन्धि स्वास्थ्य सेवालाई अझै विशिष्टीकृत र सुविधायुक्त बनाउने उद्देश्यका साथ अत्याधुनिक अप्रेशन थिएटरसहितको अस्पताल भवन निर्माण सम्पन्न गरेर मंगलबार भव्य समारोहका साथ उद्घाटन गरिएको हो । काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. अच्युत प्रसाद वाग्लेले उक्त अप्रेशन थिएटरसहितको अस्पताल भवन उद्घाटन गरेका हुन् ।
प्रा.डा. वाग्लेले विराट मेडिकल कलेजले पूर्वी क्षेत्रका बिरामीहरूलाई उत्कृष्ट सेवा प्रदान गरेर स्वास्थ्य क्षेत्रमा उदाहरणीय काम गरेको बताए ।
‘विराट टिचिङ हस्पिटलले स्वास्थ्य सेवा र चिकित्सा शिक्षा दुवैमा गुणस्तर कायम राखेको छ, उनले भने, ‘आउने दिनहरूमा पनि यसरी नै उत्कृष्ट कार्यलाई निरन्तरता दिनुहुनेछ भन्ने विश्वास लिएको छु ।’
नयाँ भवन निर्माण भएर सेवा विस्तार भएसँगै अस्पतालले स्त्री तथा प्रसूति सेवाका लागि मात्रै पाँच वटा अत्याधुनिक शल्यक्रिया कक्ष, दुई सय बेड क्षमताको वार्ड, ३० बेडको डिलक्स क्याबिन र छुट्टै गाइनो आइसीयू जस्ता विशिष्ट सुविधाहरू दिन सुरु गरेको हो । यस्तो सेवाले कोशी प्रदेश र मधेस प्रदेश तथा भारतको विहारका महिलाहरूका लागि गुणस्तरीय र सहज स्वास्थ्य सेवाको पहुँच कायम भएको जनाइएको छ ।
नेपालकै अत्याधुनिक ल्याप्रोस्कोपिक स्त्री तथा प्रसूति केन्द्रको रुपमा रहेको अस्पतालमा अप्रेशन थिएटरको संख्या अब २४ पुगेको जनाइएको छ । यसअघि विभिन्न शल्यक्रियाका लागि १९ वटा अप्रेशन थिएटर सञ्चालनमा रहेका थिए ।
स्त्री तथा प्रसूति जस्तो संवेदनशील सेवालाई थप प्रभावकारी र व्यवस्थित बनाउन समर्पित भएर आधुनिक सेवासहितको भवन र अत्याधुनिक उपकरणसहितको सेवा विस्तार गरेको अस्पतालका अध्यक्ष तथा प्रोफेसर डा. ज्ञानेन्द्रमानसिंह कार्की बताए । यस कदमले महिलाहरूलाई अझै उत्कृष्ट र सुरक्षित उपचार सेवा प्रदान हुने उनले बताए । अस्पताल नेपालकै अत्याधुनिक ल्याप्रोस्कोपिक स्त्री तथा प्रसूति केन्द्रको रुपमा पनि परिचित हुने कार्कीले बताए ।
सन् २०१४ मा स्थापना भएको विराट मेडिकल कलेज शिक्षण अस्पताल छोटो समयमै कोशी प्रदेशकै अग्रणी स्वास्थ्य संस्थाको रूपमा स्थापित भएको छ । अस्पतालमा हाल एक सय बेड क्षमताको इमरजेन्सी विभाग सञ्चालनमा रहेको छ । जसमा स्त्री तथा प्रसूति आपतकालिन सेवा पनि समावेश रहेको जनाइएको छ ।
हाल अस्पतालमा २० जनाभन्दा बढीस्त्री रोग तथा प्रसूति सेवा सम्बन्धि विशेषज्ञ चिकित्सकहरूको टोली कार्यरत रहेको छ । जसको माध्यमबाट बिरामीहरूलाई २४ सै घण्टा विशेषज्ञ सेवा सुनिश्चित गरेको मेडिकल कलेज प्रशासनको दाबी छ ।
मेडिकल कलेजका अध्यक्ष डा. कार्कीले सरकारले लामो समयपछि मेडिकल कलेजहरूको एमबीबीएस कोटा बढाउने निर्णय गरेर स्वास्थ्य क्षेत्रमा सकारात्मक सन्देश दिएको बताए । उनले यसलाई ‘१० वर्षपछिको आइस ब्रेक’ को संज्ञा दिए ।
‘निजी क्षेत्रले स्वास्थ्य क्षेत्रमा ठूलो लगानी र पूर्वाधार निर्माण गरेर ठूलो फड्को मारेको छ, राज्यले १० वर्षअघि नै गर्नुपर्ने कोटा बृद्धिको निर्णय अहिले गरेको छ, यो अत्यन्तै राम्रो र स्वागतयोग्य पक्ष हो’ उनले भने, ‘यो निर्णयले देशमा आवश्यक दक्ष जनशक्ति उत्पादनमा मद्दत पुग्ने विश्वास छ ।’
अस्पतालले बिरामीका आफन्त, चिकित्सक र कर्मचारीहरूको सुविधालाई ध्यानमा राख्दै आधुनिक र सुविधा सम्पन्न ‘विराट क्याफे’ पनि सञ्चालनमा ल्याएको उक्त अवसरमा जानकारी दिइएको थियो । अस्पताल भवनको तल्लो तलामा सञ्चालित क्याफेटेरियाले सबैलाई सहज र स्वच्छ खाजा तथा खानाको सुविधा प्रदान गर्ने जनाइएको छ ।
सोही अवसरमा अस्पतालका चिकित्सक, नर्स तथा अध्ययनरत विद्यार्थीहरूका लागि काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. वाग्लेसँग अभिमुखीकरण कार्यक्रम समेत आयोजना गरिएको थियो । उक्त कार्यक्रममा विद्यार्थीहरूले स्वास्थ्य क्षेत्रमा देखिएका अवसर र चुनौतीहरूका बारेमा आफ्ना जिज्ञासा र छलफल गरेका थिए ।
View : 2330
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved