विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले खर्च बढाउने गरिका स्थापना गरिएका प्रदेशका अनावश्यक संरचनाहरूको बाढीलाई रोक्नुपर्ने बताएका छन् । उनले अनावश्यक संरचनाका कारण प्रदेशको खर्च बृद्धि भइरहेको भन्दै त्यस्तो रकमलाई कटौती गरेर पुँजीगत खर्च बढाउनुपर्नेमा जोड दिएका हुन् ।
आइतबार उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले अनावश्यक खर्च कटौती गर्दै संरचनाको यस्तो बाढीलाई रोक्नुपर्ने बताए ।
उनले एकै प्रकृतिका संस्थाहरू केन्द्रदेखि स्थानीय पालिकासम्म बन्न थालेको प्रति प्रदेश सरकारको ध्यानाकर्षण भएको भन्दै त्यसलाई रोक्नुपर्ने बताएका हुन् ।
स्वदेशी उत्पादनलाई बढाउने र निर्यातजन्य उद्योगलाई प्रोत्साहन गर्ने नीति ल्याइने बताए । प्रदेश र स्थानीय तहले गर्नसक्ने कामलाई उनीहरूको क्षमताको आधारमा केन्द्रले अधिकारहरु दिंदै जानुपर्ने पनि मुख्यमन्त्री कार्कीले जोड दिए ।
एकै दिनमा गर्न सकिने काम पनि लामो समय लाग्ने प्रवृत्तिको अन्त्य गर्न प्रदेश सरकारले सुशासन र जवाफदेहिता बृद्धि गरिने बताए ।
कार्यक्रममा कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले प्रदेशमा भइरहेका असल अभ्यासहरूलाई अन्यत्र लैजाँदै साना पूँजीलाई पनि प्रोत्साहन गरेर अगाडि बढ्नुपर्ने बताए ।
निर्यातमूलक उद्योगलाई प्रोत्साहन गर्दै तत्काल लोकप्रिय हुने कार्यक्रम भन्दा दीर्घकालीन कार्यक्रमहरू अगाडि सार्नुपर्ने उनले बताए ।
उक्त कार्यक्रमका सहभागीहरूले भने ऐन नियमहरूलाई सहज र सरल बनाउँदै नियमनकारी निकायहरूको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए ।
उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगका सदस्य डा. प्रकाशकुमार श्रेष्ठले प्रदेश सरकारका संरचनाहरूको प्रभावकारिताबारे आफ्ना धारणा प्रस्तुत गरेका थिए ।
View : 28
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved