Biratnagar, Morang, Nepal
८ जेठ २०८२, बिहिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

नयाँ गभर्नरमा डा विश्वनाथ पौडेल, अर्थमन्त्रीसँग भेटवार्ता

उद्‌घोष सम्वाददाता
७ जेठ २०८२, बुधवार

काठमाडौँ । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा विश्वनाथ पौडेलले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेटवार्ता गरेका छन् ।

गभर्नर पौडेलले अर्थ मन्त्रालय पुगेर अर्थमन्त्री पौडेलसँग भेटवार्ता गरेका हुन् । भेटका क्रममा अर्थमन्त्री पौडेलले नवनियुक्त गभर्नरलाई बधाई दिँदै वित्त नीति र मौद्रिक नीतिबीच समन्वय गरी अघि बढ्दै अर्थतन्त्र र मौद्रिक क्षेत्रमा देखा परेका समस्या समाधानमा गर्भनरले महत्त्वपूर्ण र उपलब्धिमूलक पहल गर्नुहुने विश्वास व्यक्त  गरे । 

नवनियुक्त गभर्नर पौडेलले अर्थ मन्त्रालयले देशको अर्थतन्त्रको नेतृत्व गर्ने र नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत वित्त नीति कार्यान्वयनमा सहयोग पुर्याउने बताए ।

उनले वित्तीय क्षेत्रको प्रभावकारिताका लागि राष्ट्र बैंकको सुपरीवेक्षकीय क्षमतामा जोड दिने बताए ।

उक्त अवसरमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, अर्थ सचिव घनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरेलगायतले नवनियुक्त गभर्नर पौडेललाई बधाई तथा शुभकामना दिएका थिए ।

मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्थविद् डा पौडेललाई राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने निर्णय गरेको थियो । सरकारले गभर्नर चयनका लागि उपप्रधानमन्त्री एवं अर्थमन्त्री

विष्णुप्रसाद पौडेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो ।

View : 49

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved