Biratnagar, Morang, Nepal
२३ पुष २०८१, मङ्गलवार
+977 21 450305, 515728, 578305
राजनीति

बेलायतको संसदलाई सम्बोधन गर्न कांग्रेस नेता कोइराला बेलायत जाँदै

उद्‌घोष सम्वाददाता
२० पुष २०८१, शनिवार

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नेता डा. शेखर कोइराला बेलायतको संसदलाई सम्बोधन गर्न बेलायत जाने भएका छन् । कोइराला बेलायतको संसदभित्र सम्बोधन गर्ने पहिलो नेपाली नेता हुनेछन् । 

यसअघि नेपालका कुनै पनि राजनैतिक दलका नेताले बेलायतको संसदभित्र सम्बोधन गर्ने अवसर प्राप्त गरेका थिएनन् । प्रनितिधिसभा सदस्यसमेत रहेका नेता कोइरालाले बेलायतको संसद भवनभित्र यही जनवरी १३ मा संसदलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको जनाइएको छ । त्यसका लागि नेता डा. कोइराला जनवरी ९ मा बेलायत जाने उनका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए ।

बेलायतका विदेशमन्त्री क्याथराइन वेष्ट र उद्योग व्यापार वाणिज्यमन्त्री ग्यारेथ थोमसको निमन्त्रणामा कोइराला बेलायत जाँदैछन् । बेलायतको संसद भवनभित्र बेलायती विदेशमन्त्री र उद्योग, व्यापार, वाणिज्यमन्त्रीलगायत सांसदको उपस्थितिमा सम्बोधन गर्न पाउने नेपालबाट पहिलो र दक्षिण एशियाबाट दोस्रो नेता कोइराला बन्नेछन् । 

नेता कोइरालाले प्रजातन्त्रको जननी बेलायतको संसदभित्र हुने कार्यक्रमलाई सम्बोधन गर्न पाउनु कांग्रेसका लागि मात्रै नभएर नेपाली राजनैतिक दलका नेता र नेपालका लागि समेत गर्वको कुरा भएको विराटनगर महानगरपालिकाका मेयर एवं कांग्रेस मोरङका उपसभापति नागेश कोइरालाले बताए । उनले सम्बोधनपछि नेता डा. कोइरालाको राजनैतिक व्यक्तित्व निकै बढ्ने बताए ।

नेपाल–बेलायत सम्बन्ध स्थापित भएको २०९ वर्षदेखि नेपाली नेताले बेलायतको संसदमा गएर सम्बोधन गर्ने अवसर पाएका थिएनन् । बेलायत नेपाल सम्बन्धको इतिहासमा नेपालबाट बेलायत संसद भवनभित्र बेलायती विदेशमन्त्री र उद्योग, वाणिज्य, व्यापारमन्त्रीको उपस्थितिमा सम्बोधन गर्न पाउने पहिलो नेपाली नेता डा. शेखर कोइराला बन्ने भएका छन् ।

सादगी र बौद्धिक राजनैतिक व्यक्तित्व, लोकतन्त्र र मानवअधिकार रक्षा, शान्ति स्थापना, भ्रष्टाचार नियन्त्रण र सुशासनका पक्षको निरन्तर वकालत गरिरहेकाले संसद भवनभित्र सम्बोधनका लागि डा. कोइरालालाई निमन्त्रणा गरिएको बताइएको छ । 

नेता कोइरालाको बेलायत भ्रमणलाई लिएर नेपाली कांग्रेसका विभिन्न नेता र कार्यकर्ताहरुले सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया जनाएका छन् । 

कांग्रेसका विराटनगर नगर सभापति दीपक चापागाईंले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘गर्व लाग्छ नेपाली कांग्रेसभित्र डा. शेखर कोइरालाको कार्यकर्ता भएकोमा ।’ राष्ट्रिय राजनीतिसँगै अन्तर्राष्ट्रियस्तरमा समेत शेखर कोइरालाको महत्व बढेको चापागाईंको बुझाई छ ।

View : 238

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved