कोशी प्रदेशसभा बैठक :
विराटनगर । राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टी जतिबेला गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता खारेजीका लागि आन्दोलन घोषणा गर्दै थियो, कोशी प्रदेशमा दलहरू मिलेर राप्रपा नेता अम्बरबहादुर विष्टलाई प्रदेशसभाको सभामुख बनाउँदै थिए ।
गणतन्त्रवादी दलहरूकै सहयोगमा प्रदेशसभाको प्रमुख पदमा आसिन हुन पुगेका सभामुख विष्ट यतिबेला तिनै दलहरूको आग्रह अस्वीकार गर्ने तहमा उक्लिएका छन् ।
सोमबारको प्रदेशसभा बैठकमा सभामुख विष्टसामु सत्तारूढ नेकपा एमालेका प्रमुख सचेतक विदुर लिंथेपले नियमापत्ति गरे ।
बैठकको शून्य समयमा राप्रपाका झापाली सांसद गोपाल विश्वकर्माले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाह’ भन्दै उनलाई सदनबाटै जन्मदिनको शुभकामना दिएका थिए । उनले यसो भनेपछि एमालेका प्रमुख सचेतक लिङ्थेपले नियमापत्ति गरे ।
लिन्थेपले नेपालको संविधानले श्री ५ भनेर कसैलाई नचिन्ने भन्दै सांसद विश्वकर्माको भनाइ रेकर्ड (अभिलेख) बाट हटाउन माग गरे । यसअघि एकपटक राप्रपा सांसदको बोली रेकर्डबाट हटाइसकेका सभामुखले यसपटक भने उनको मागलाई सहज स्वीकार गरेनन् ।
यसअघि राप्रपाकै सांसदले ‘राजा’ भन्दा दलहरूले विरोध गरेका थिए । उनीहरूकै माग अनुसार सभामुखले रेकर्डबाट हटाउन आदेश दिएका थिए ।
त्यसपछि उनको दल राप्रपाले उनीसँग गुनासो गरेको थियो । त्यसबेला संसदीय दलका नेता भक्तिप्रसाद सिटौला, प्रमुख सचेतक सबिना बजागाईंलगायतले सभामुखलाई भेटेरै अन्य दलले जे भन्यो त्यही नमान्न सभामुखलाई भनेका थिए ।
यसपटक भने उनले रेकर्डबाट राप्रपा सांसदको बोली हटाउन अस्वीकार त गरे नै, राप्रपा सांसदको बोल्न पाउने हकका पक्षमा पनि उभिए ।
‘बोल्नै नपाउने भन्ने छैन । संविधानमा छ त्यहीअनुसार हुन्छ । ठिकै छ, माननीयज्यू तपाईंको कुराको ध्यानाकर्षण भएको छ, अब यसलाई बोल्नै नपाउने भन्ने त छैन क्यारे, उहाँले जे भनेको भए पनि संविधानले जे भन्छ त्यो मात्रै कायम भएर जाने कुरा हो’ सभामुखले यसो भने पनि लिङ्थेपले चित्त बुझाएनन् ।
‘हामी संविधानभित्रै छौं’, उनले भने, ‘संविधानभित्रै रहौँ भन्ने आग्रह हो ।’ त्यसपछि सभामुखले भने ‘संविधानभित्रै रहन्छ’ भन्दै बैठक अघि बढाए ।
सभामुखले संविधानभित्रै रहन्छ भनेको सांसद विश्वकर्माको अभिव्यक्ति सोमबार साँझसम्म प्रदेशसभाको रेकर्डबाट हटेको छैन ।
प्रदेश सभाका कार्यवाहक सचिव गौतमराज अमात्यका अनुसार उनको अभिव्यक्ति रेकर्डबाट हटेको छैन ।
यस विषयमा उद्घोषले एमाले प्रमुख सचेतक लिङथेपलाई सोधेको थियो ‘तपाइँहरूको माग सभामुखले अस्वीकार गर्नुभयो हैन ?’ जवाफमा उनले संविधानले चिन्दै नचिन्ने व्यक्तिलाई श्री ५ भन्ने सांसदको अभिव्यक्ति हटाउन माग गरिएको बताए ।
‘मैले माग गरेँ, सभामुखज्यूले मान्नुभएन’ उनले भने ‘यो सभामुखज्यूको अधिकारको कुरा हो । यद्यपि पूर्व राजालाई सदनमै श्री ५ भनेर सम्बोधन गर्ने विषय हामीलाई स्वीकार्य हुनसक्दैन ।’
कोशी प्रदेश सभामा राष्ट्रिय प्रजातन्त्र पार्र्टीका ६ जना सांसद छन् । उनीहरूमध्येका एक हुन् विष्ट, जो सभामुखको भूमिकामा छन् ।
सभामुख बन्नुअघिसम्म प्रदेशसभामै संघीयता र गणतन्त्रविरूद्ध निरन्तर बोल्ने झापाका विष्टले प्रदेश सभाको नेतृत्व गर्न पाएपछि भने गणतन्त्रविरोधी अभिव्यक्ति दिएका छैनन् ।
कांग्रेस, एमाले लगायतका दलहरूको प्रत्यक्ष समर्थन र माओवादी, एकीकृत समाजवादी लगायतले परोक्ष समर्थन गरेर उनी सभामुख बनेका थिए ।
राजसंस्था पुनस्र्थापना गर्ने, हिन्दु राष्ट्र स्थापना गर्ने, संघीयता खारेज गर्ने घोषणासहित राप्रपाले केन्द्रमा आन्दोलन घोषणा गर्दै गर्दा दलहरूले कोशी, बागमतीमा राप्रपालाई सभामुख बनाएका थिए ।
त्यसबेला दुवै प्रदेशका सभामुखहरूले आफूहरू संविधान अनुसार अघि बढ्ने बताएका थिए ।
View : 565
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved