Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

प्रतिनिधिसभा निर्वाचन :

इलाम १ : एमालेको किल्लामा अरूको अवस्था कस्तो ?

उद्‌घोष संवाददाता
१८ माघ २०८२, आइतवार

विराटनगर । नेकपा एमालेको बलियो किल्ला मानिने इलाम–१ यसपटक त्रिपक्षीय चुनावी प्रतिष्पर्धाका कारण चर्चामा छ । 

एमालेका काजीमान कागते, कांग्रेसका निस्कल राई र नेकपाका रणबहादुर राईबीचका त्रिपक्षीय भीडन्त रहेको मानिने यो क्षेत्रमा रास्वपा उम्मेदवार विमल गदाल अनि श्रम संस्कृति पार्टीका विनोद नेम्बाङ लिम्बू पनि चुनावी प्रतिष्पर्धामा छन् । 

एमालेका संस्थापकमध्येका एक झलनाथ खनाल सो पार्टीमा हुञ्जेल चार पटक जितेको इलाम १ मा २०७९ को चुनावमा उनी आफै पराजित बनेका थिए ।

एमाले विभाजनपछि बनेको एकीकृत समाजवादीबाट निर्वाचन लडेका उनी आफ्नै कार्यकर्ता एमालेका महेश बस्नेतसँग पराजित बनेका थिए ।

यसैगरी इलाम १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ज्वाला नेपाल, नेपाल मजदुर किसान पार्र्टीबाट तुलसीकेसरी प्रजापति छुजू, उज्यालो नेपाल पार्टीका हरिबहादुर गुरूङ, मंगोल नेसनल अर्गनाइजेसनका बुद्धलाल मेचे, नेपाल जनमुक्ति पार्टी डम्बरसिंह लिम्बू, नेकपा (माओवादी) बाट नारदमणि साम्पाङ, जनता समाजवादी पार्टीबाट लीलाबहादुर सुनुवार तथा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट रामप्रसाद लिम्बू उम्मेदवारसहित १३ जना उम्मेद्वार छन् ।

क्षेत्र १ मा २०७९ मंसिरको प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई पराजित गर्दै एमालेका तत्कालीन जिल्ला अध्यक्ष महेश बस्तेत विजयी भएका थिए । त्यसबेला बस्नेतले २ हजार ६ सय ६४ मतान्तरले खनाललाई हराएका थिए । 

बस्नेतले २५ हजार ७ सय ५३ र खनालले २३ हजार ८९ मत ल्याएका थिए । त्यसबेला खनाल कांग्रेस, माओवादीसहितको गठबन्धनबाट उम्मेदवार थिए भने एमाले एक्लै चुनावी मैदानमा थियो ।

२०४८ र ०५१ को चुनाव जितेका खनाल २०५६ मा यही क्षेत्रमा कांग्रेसका बेनुपराज प्रसाइसँग पराजित भएका थिए । 

त्यसपछि संविधानसभाका दुवै निर्वाचन २०६४ र २०७० मा झलनाथ नै विजेता बनेको यो क्षेत्रमा २०७४ मा पनि उनैले चुनावी सफलता पाएका थिए । गएको चुनावमा भने खनालले पुरानो सफलता दोहोर्याउन सकेनन् । 

गएको चुनावमा यो क्षेत्रमा समानुपातिकतर्फ एमाले पहिलो भएको थियो । २० हजार ५६४ मतसहित एमाले पहिलो पार्टी बन्दा  कांग्रेस १६ हजार ४५० मतसहित दोस्रो र एकीकृत समाजवादी ८ हजार २१ मतसहित तेस्रो भएको थियो । 

राष्ट्रिय स्वतन्त्र पार्टीले ४ हजार ४५१, मंगोल नेशनल अर्गनाइजेशनले २ हजार ११५, माओवादीले १ हजार ६४९, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ हजार ३०० र  जनता समाजवादी पार्टी नेपालले १ हजार १८२ मत प्राप्त गरेका थिए ।

इलाम १ मा सन्दकपुर गाउँपालिका, माइजोगमाई गाउँपालिका, रोङ गाउँपालिका, सूर्योदय नगरपालिका, इलाम नगरपालिकाको १०, १३ र १४ र माई नगरपालिकाको १, २, ३, ४ र ५, ९ र १० नम्बर वडा समेटिएको छ । यसपटक यहाँ कूल मतदाता १ लाख १२ हजार ३२० जना मतदाता छन् ।

 २०७९ को स्थानीय निर्वाचनमा सूर्योदय नगरको मेयरका दुई प्रतिष्पर्धी एमालेका कागते र नेकपाका रणबहादुर राई प्रतिनिधिसभामा पनि भीडन्तमा छन् । 

उनीहरूको चुनावी रिम्याच दोहोरिदा कांग्रेसले यहाँ ३५ वर्षे युवा निस्कल राईलाई उम्मेदवार बनाएको छ । 

कागते र राई त्यसबेला मेयरमा भिड्दा नेकपा एसका राईले दोस्रोपटक चुनावी सफलता पाएका थिए । कागते प्रदेशसभाका पूर्व सांसद हुन् । यसरी दुई जना पुराना र स्थापित नेताहरूसँग कांग्रेसका युवा राईको चुनावी भीडन्त चाखलाग्दो बनेको छ ।  

एमालेका कागते र नेकपाका राईसँग यसअघि नै जनप्रतिनिधि बनेर काम गरिसकेको अनुभव छ भने कांग्रेसका राई पार्टीको प्रदेश क्षेत्रीय सभापतिका रूपवमा काम गरेको अनुभव छ । 

नयाँ पार्टीहरूले तराईका सहरी क्षेत्रमा ठूला दलहरूलाई चुनौती दिइरहेका बेला पहाडी इलाकामा भने त्यस्तो प्रभाव अहिलेसम्म देखिएको छैन । जनजाति बहुल मतदाता भएको यो क्षेत्रमा दलहरूले सोही समुदायका उम्मेदवार अघि सारेर जातीय मत तान्ने प्रयास गरेका छन् ।

एमालेले धेरैपटक सफलता पाइसकेको यो क्षेत्रमा यसपटक उसको विरासत भत्किन्छ कि कायम रहन्छ भन्ने प्रश्नको उत्तर फागुन २१ मा हुने मतदानले दिनेछ ।

View : 539

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved