विराटनगर । विराटनगरमा फागुन १६ देखि मारवाडी प्रिमियर लिग क्रिकेट प्रतियोगिता हुने भएको छ । १० औं संस्करणको क्रिकेट प्रतियोगिता नेपाल अग्रवाल युवा मञ्चले १५ वर्षदेखि आयोजना गर्दै आएको छ ।
प्रतियोगिता विराटनर–२ शंकरपुरस्थित मैदानमा हुने जनाइएको छ । प्रतियोगितामा मारवाडी समुदायका घटकहरुबाट पाँचवटा टोलीले सहभागीता जनाउने प्रतियोगिताका मुख्य संयोजक चेतन अग्रवालले जानकारी दिए ।
नेपाल अग्रवाल युवा मञ्चको केएसबी रोयल्स, महेश्वरी युवा मञ्चको प्रिमियर–११, ओस्वाल युवा मञ्चको अरिहन्त–११, नेपाल मारवाडी ब्राम्हण युवा मञ्चको पर्शुराम वारियर्स र मेंढ स्वर्णकार युवा मञ्चको सिएसबी टाइटनले प्रतियोगितामा प्रतिष्पर्धा गर्ने जनाइएको छ । १० ओभरको प्रतियोगिता हुनेछ ।
विजयी टोलीले नगद ६१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने एमपीएल कमिटीका अध्यक्ष मनिष अग्रवालले बताए । दोस्रो हुने टोलीले नगद २१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने जनाइएको छ ।
‘युवाको लागि, देशको लागि’ भन्ने नाराका साथ प्रतियोगिता आयोजना गरिएको जनाइएको छ ।
खेलमा उत्कृष्ट ब्याटर, बलर, म्यान अफ दी म्याचलाई पनि पुरस्कार दिइने छ । त्यसैगरी प्रतियोगिताभरी उत्कृष्ट हुने खेलाडीहरुलाई विशेष पुरस्कार समेत रहेको जनाइएको छ ।
View : 241
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved